सामुदायिक विद्यालयमा सवा अर्बको प्राविधिक शिक्षा पूर्वाधार

March 13, 2018

गोपाल संग्रौला, मंगलबार, फाल्गुन २९, २०७४

मुलुकमा प्राविधिक जनशक्तिको अभाव महशुस भइरहेका बेला सामुदायिक विद्यालयबाटै यस्तो शिक्षा दिन सरकारको अर्बौं रुपैयाँ खर्च  भएको छ । शिक्षा विभागका अनुसार सामुदायिक विद्यालयको प्राविधिक शिक्षाका लागि पछिल्लो ४ वर्षमा १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी पूर्वाधारमा लगानी गरेको छ । 
सरकारले प्राविधिक शिक्षाका लागि गरेको यो लगानी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी)बाहेकको हो । सामुदायिक विद्यालयमा कार्यरत १ हजार ४ सय ३६ शिक्षकको तलबभत्ता र अन्य खर्चबाहेक पूर्वाधारमै यो लगानी भएको हो । यो रकम देशभरका २ सय ८३ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न आवश्यक पर्ने प्रयोगशाला तथा अन्य पूर्वाधार निर्माणका लागि विद्यालयलाई अनुदान वितरण गरिसकेको शिक्षा विभागका प्राविधिक तथा व्यावसायिक शिक्षा शाखाका अधिकृत राजन पाण्डेले जानकारी दिए । 


सीटीईभीटीमार्फत विगत १३ वर्षदेखि विद्यालय तहमा नै प्राविधिक शिक्षा सञ्चालन गरिँदै आएको भए पनि ४ वर्ष अघिदेखि शिक्षा विभागमार्फत छुट्टै कार्यक्रमका लागि १ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी लगानी गरिएको हो । विभागमार्फत विद्यालय तहमा २०७० सालदेखि कक्षा ९ बाट सञ्चालन गरिएको प्राविधिक धारको शिक्षामार्फत ४ वर्ष अवधिमा १० हजार विद्यार्थीले एसईई पूरा गरेका छन् । यो अवधिमा सीटीईभीटीबाहेक विभागमार्फत मात्र १० हजार प्राविधिक उत्पादन भएका छन् ।
शिक्षा विभागका अधिकृत पाण्डेले ग्रामीण क्षेत्रमा विकास निर्माणका लागि आवश्यक पर्ने श्रमशक्तिको अभाव भइ विदेशी कामदारहरूको अधिक प्रयोग भइरहेको अवस्था र स्थानीय तथा अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्नसक्ने सक्षम, सीपयुक्त, जनशक्ति उत्पादन गर्न सामुदायिक विद्यालयमार्फत नै प्राविधिक शिक्षा सुरुवात गरिएको बताए । हाल विभागले देशभरका २८३ सामुदायिक विद्यालयमार्फत बाली विज्ञान, पशुविज्ञान, सिभिल इन्जीनियरिङ, कम्प्यूटर इन्जिनियरिङ र इलेक्ट्रिक्स इन्जिनियरिङ विषयमा प्राविधिक शिक्षा प्रदान गरिरहेको छ । 
सरकारले मापदण्ड पूरा भएका सामुदायिक विद्यालयलाई ५ वटा विषय सञ्चालन गर्न ९ लाखदेखि ५० लाखसम्म प्रयोगशाला व्यवस्थापन अनुदान दिँदै आएको छ । कक्षा ९ र १० मा बालीविज्ञान र पशुविज्ञानका लागि प्रतिविषय २६-२६ लाख, सिभिल इन्जिनियरिङका लागि ५० लाख, कम्प्यूटर इन्जिनियरिङका लागि २५ लाख र इलेक्ट्रिक्स इन्जिनियरिङ विषयका लागि २५ लाख रुपैयाँ दिएको छ । यसरी नै कक्षा ११ र १२ सञ्चालनका लागि बाली र पशु विज्ञानका लागि ९÷९ लाख र सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रिकल्स इन्जिनियरिङ विषयका लागि क्रमशः १८, १० र १८ लाख रुपैयाँ अनुदान दिएको छ । 
सरकारले कक्षा ९ र १० मा प्राविधिक शिक्षा पूर्वाधार विस्तारका लागि ४ वर्षमा मात्र १ अर्बको हाराहारीमा लगानी गरेको छ । यो अनुदान कार्यक्रम सुरु भएको पहिलो वर्षमात्र एकपटक दिने गरिएको विभागले जनाएको छ । विभागले कक्षा ११ र १२ मा ५ विषयका कार्यक्रम सञ्चालन गर्न मात्र ४ वर्षमा ३४ करोड ९१ लाख अनुदान वितरण गरिसकेको छ । यसका साथै यी ५ वटा विषय अध्ययन गर्ने विद्यार्थी संख्याका आधारमा प्रतिविद्यार्थी ११ हजार रुपैयाँका दरले वार्षिक अनुदान पनि दिँदै आएको छ । विगत ३ वर्षमा प्राविधिक धारतर्पm एसईई पास गरेरका १० हजार विद्यार्थीलाई गणना गर्दा यो रकम अझ बढेको देखिन्छ । विगत ३ वर्षको एसईई परीक्षामा पास भएका विद्यार्थीको संख्यालाई आधार मान्दा गत वर्षसम्म १० करोड रुपैयाँ व्यवस्थापनका लागिमात्र खर्च गरेको देखिन्छ ।

स्रोत: https://karobardaily.com/news/education/3075

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More