News

सार्वजनिक निष्कासनमा संस्थाले लगानी गर्न नपाउने

May 29, 2017

Karobar Daily, 29th May 2017, Kathmandu

संस्थागत लगानीकर्ताले साधारण सेयरको प्रारम्भिक निष्कासनमा आवेदन दिन नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डको धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार प्राकृतिक व्यक्तिले खरिद नगरेको अवस्थामा मात्र संस्थागत लगानीकर्ताले खरिद गर्न सक्ने व्यवस्था गरेको हो । 

बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले आइतबारदेखि नै सर्वसाधारण लगानीकर्ताको सहभागिता बढाउन संस्थागत लगानीकर्तालाई साधारण सेयर निष्कासनमा प्राथमिकता नदिएको बताए । बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ मा तोकिएको अवधिभित्र सेयर बिक्री नभएमा मात्र संगठित संस्थाले खरिद गर्न सक्ने व्यवस्था छ ।

निर्देशिकामा निष्कासित सेयरको ४० प्रतिशत साना र ६० प्रतिशत अन्य लगानीकर्ताका लागि वितरण गर्ने व्यवस्थालाई व्यावहारिक नभएको हुँदा आस्बा प्रणाली लागू भएपछि सबै आवेदकलाई कम्तीमा १० कित्ता वा दशको गुणनमा धितोपत्र बाँडफाँट गर्ने व्यवस्था गरेको छ ।

धितोपत्र बजारका लागि आवश्यक पूर्वाधार जुटेकाले पुरानो प्रणाली परिवर्तन गरेर समयसापेक्ष बनाइएको अध्यक्ष कार्कीले बताए । बोर्डले ल्याएको निर्देशिकाअनुसार विवरण पुस्तिका, बिक्री प्रस्ताव वा अन्य विवरण स्वीकृत भएको बढीमा सात कार्य दिनभित्र धितोपत्र सूचीकरणका लागि धितोपत्र बजारमा र धितोपत्रको अभौतिकीकरणका लागि केन्द्रीय निक्षेप कम्पनीमा निवेदन दिनुपर्नेे व्यवस्था छ ।

सोअनुसार सेयर लगानीकर्ताले सेयर बिक्रीका लागि धेरै समय पर्खनुपर्ने अवस्था रहने छैन । हाल साधारण सेयर निष्कासनदेखि कारोबारसम्म ६ महिनाको समय लाग्ने गरेकोमा अब २ महिनामै हुने उनको दाबी छ ।

निर्देशिकाअनुसार धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्नेे संगठित संस्थाले सार्वजनिक निष्कासन गर्ने सेयरमध्ये कम्तीमा ५० प्रतिशतको प्रत्याभूत गर्नुपर्छ । साथै संगठित संस्थाले धितोपत्र निष्कासन गर्दा अंकित मूल्यभन्दा बढी मूल्यमा वा प्रिमियम थप गरी निष्कासन गर्ने भएमा पनि प्रत्याभूत गराउनु पर्नेछ ।

यसले नयाँ निष्कासन गर्दा प्रिमियममा सेयर निष्कासन गर्ने भए प्रत्याभूति गर्नु अनिवार्य भएको छ । तर, संगठित संस्थाको पछिल्लो लेखा परीक्षण भएको वित्तीय विवरणबमोजिम प्रतिसेयर खुद सम्पत्ति प्रतिसेयर अंकित मूल्यभन्दा कम भएमा, सबैभन्दा न्यून रेटिङ प्राप्त गरेमा वा अंकित मूल्यभन्दा बढी मूल्यमा वा प्रिमियम थप गरी निष्कासन गर्ने भएमा सम्पूर्ण धितोपत्रको प्रत्याभूत गराउनुपर्छ । 

  • प्रिमियममा सेयर निष्कासन गर्दा प्रत्याभूति गर्नुपर्ने
  • संस्थागत लगानीकर्ताले साधारण सेयरमा आवेदन दिन नपाउने
  • साधारण सेयर बाँडफाँट गर्दा आवेदकलाई न्यूनतम १० कित्ता सेयर अनिवार्य दिनुपर्ने 
  • हकप्रद सेयरका लागि उपत्यकाभन्दा बाहिर पनि संकलन केन्द्र राख्नुपर्ने 
  • मर्जरपछि संयुक्त कारोबारसँगै सेयर कारोबार पनि हुनुपर्ने 
  • मर्जर पछिको संस्थाको सेयर बोर्डमा दर्ता गर्नुपर्ने 
  • कर्मचारीको संख्या अनुसार बढीमा ५ प्रतिशत सेयर छुट्याउनुपर्ने

साधारणसभाबाट हकप्रद सेयरको निष्कासन गर्ने निर्णय गरे अनिवार्य रूपमा निष्कासन गर्नुपर्ने व्यवस्था गरिएको छ । हकप्रद सेयर बिक्री नभएमा सोको लिलाम बढाबढबाट बिक्री गर्ने प्रक्रियाको व्यवस्थासमेत गरिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।

संगठित संस्थाले प्रदान गर्ने हकप्रद वा बोनस सेयर वापतको सेयर खण्डित हुने भएमा खण्डित सेयरलाई पूर्ण कित्ताको रूपमा नपुग रकमसमेत लिई दरखास्त लिनुपर्ने व्यवस्था निर्देशिकामा छ ।

संगठित संस्थाले हकप्रद सेयरको निष्कासन गर्दा सेयरधनीको संख्या र ठेगानालाई आधार मानी सेयरधनीको पहँुच हुने गरी काठमाडौं बाहिर संकलन केन्द्र तोक्नुपर्ने व्यवस्था गरिएको छ ।

यो व्यवस्थाले उपत्यकाभन्दा बाहिर रहेका सेयरधनीले पनि हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । निर्देशिकाले प्रत्यक्ष नियमन निकाय नभएका संगठित संस्थाको हकप्रद तथा थप धितोपत्र निष्काशनसम्बन्धी व्यवस्था पनि गरेको छ ।

एक आपसमा गाभ्ने वा गाभिने कार्य सम्पन्न भएपछि एकीकृत कारोबार सुरु भएसँगै सेयरको कारोबारसमेत सुरु गर्नुपर्छ । एकीकृत कारोबार सुरु भएसँगै विशेष कारण सेयरको कारोबार हुन नसकेमा बढीमा १५ दिनभित्र गर्नुपर्ने व्यवस्था गरिएको छ ।

Source: http://www.karobardaily.com/news/79130