शिव उप्रेती, अन्नपुर्ण पोस्ट, १२ पुष २०७४
गोरखा : जिल्ला खाद्य सुरक्षा समितिले गोरखाको एक गाउँपालिकालाई खाद्य सुरक्षाका दृष्टिले अतिअसुरक्षितको सूचीमा राखेको छ । हिमालपारि रहेको चुमनुब्री गाउँपालिकालाई खाद्य असुरक्षाको अति जोखिम घोषणा गरेको हो । साथै धार्चे गाउँपालिका १ र २ को साबिकको केरौंजा गाविसलाई पनि अतिजोखिमको सूचीमा राखेको वरिष्ठ कृषि विकास अधिकृत यामकुमार श्रेष्ठले जानकारी दिए ।
सो गाउँपालिकामा साबिकका सात गाविसहरु रहेका छन् । हालै जिल्ला खाद्य सुरक्षा समितिको बैठकले सामागाउ, ल्हो, प्रोक, बिही, सिर्दिबास, चुम्चेत र छेकम्पारका बिभिन्न गाउँहरुलाई खाद्य सुरक्षाका दृष्टिले जटिल अबस्था रहेको घोषणा गरेको समितिका प्रतिनिधि श्रेष्ठले जानकारी दिए ।
सदरमुकामबाट पाँचदेखि सात दिनको पैदलयात्रा पछि पुगिने ती गाउँहरुमा स्थानीय उत्पादन ज्यादै न्यून रहेको श्रेष्ठले बताए । ‘न्यून स्थानीय उत्पादन, बजार उपलब्धतताको दृष्टिले पनि दुर्गममा रहेको र रोजागारीको दृष्टिले पनि ज्यादै न्यून रहेकाले अति खाद्य असुरक्षित घोषणा गरिएको हो’ श्रेष्ठले भने ‘चुमनुब्री गाउँपालिका सडक सञ्जालले जोडिएको छैन त्यसैले चुमनुब्री गाउँपालिका र केरौंजालाई अति खाद्य असुरक्षाको सूचीमा राखेका हौं ।’ सामागाउँमा १३ महिनामा आलु, जौ, फापर खेती हुने गर्छ भने अन्य गाउँहरुमा बर्षमा एक खेती करु, गहुँ, मकै पनि हुने गर्छ ।
स्थानीय उत्पादन अतिन्यून हुने भएकाले यी क्षेत्रमा बर्षौदेखि नेपाल खाद्य संस्थानले ढुवानी सहुलियतको चामल उपलब्ध गराउँदै आएको छ ।
जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा जिल्ला कृषि विकास कार्यालय, पशुसेवा कार्यालय, नेपाल खाद्य संस्थान, जिल्ला वन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, गैरसरकारी संस्था महासंघ, उद्योग वाणिज्य संघ, राष्ट्रिय वाणिज्य वैंकको संयुक्त बैठकले यस्तो घोषणा गरिएको उनले बताए । अति असुरक्षित क्षेत्रका लागि खाद्य सहजताका लागि बिभिन्न योजना तथा कार्यक्रम तय गर्न सरकारी तथा गैरसरकारी क्षेत्रलाई अनुरोध गरिने श्रेष्ठले बताए । ‘त्यस्ता गाउँहरुमा कामका लागि खाद्यान्न लगायतका कार्यक्रम सञ्चालन गर्न गैरसरकारी संस्थाहरुलाई प्रेरित गर्छौं’ उनले भने ।
त्यस्तै धार्चे गाउँपालिकालाई मध्यम खाद्य असुरक्षाको सूचीमा राखिएको छ । बाँकी दुई नगरपालिका र आठ वटा गाउँपालिकालाई भने न्यून असुरक्षाको कोटीमा राखिएको श्रेष्ठले बताए ।