News

सिटामोलको व्यावसायिक उत्पादन सुरु

February 27, 2018

सरस्वती ढकाल, कारोबार, मंगलबार, फाल्गुन १५, २०७४

सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले जीवनजल उत्पादन थालेको ९ महिनापछि ट्याब्लेट औषधि सिटामोलको व्यावसायिक उत्पादन सुरु गरेको छ । लिमिटेडले सोमबारदेखि सिटामोलको व्यवसायिक उत्पादन सुरु गरेको हो । कम्पनीले पहिलो चरणमा सानो परिमाणमा उत्पादन सुरु गरेको छ । फागुन महिनाभित्र १० लाख ट्याब्लेट सिटामोल उत्पादन गर्ने लक्ष्य रहेको उद्योगले जनाएको छ । बजारबाट आउने प्रतिक्रियाका आधारमा उत्पादन बढाउने लिमिटेडका महाप्रबन्धक रोभसकुसम सुवेदीले बताएका छन । 


नेपाली बजारमा हाल १० करोडभन्दा बढी ट्याब्लेट सिटामोल खपत हुने गरेको छ । तर औषधि लिमिटेडसँग भने दैनिक १ लाख ट्याब्लेटभन्दा बढी उत्पादन गर्ने क्षमता छैन । कम्पनीका महाप्रबन्धक सुवेदीले अहिलेको क्षमताअनुसार जीवनजल र सिटामोल उत्पादन गर्दा कम्पनीलाई भ्याइनभ्याइ हुने बताएका छन् । कम्पनीले गत वैशाख २४ गते जीवनजलको उत्पादन सुरु गरेको थियो । कम्पनीले दैनिक ८ हजार प्याकेट जीवनजल सुन्तलाको स्वादमा उत्पादन गर्दै आएको छ । २०६० सालसम्म १ सय २० प्रकारका औषधि उत्पादन गर्ने कम्पनी सात वर्षदेखि बन्द रहेकामा सरकारले ६ करोड ४८ लाख रूपैयाँ उपलब्ध गराएपछि करिब डेढ वर्ष अगाडिदेखि सञ्चालनमा आएको हो ।
२०६७ सालदेखि पूर्ण रूपमा बन्द भएको यो उद्योगलाई तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले सञ्चालनका लागि पहल गरेका थिए । गत वर्षदेखि सञ्चालनमा आएको उद्योगले जीवनजल उत्पादनसँगै लय समातेको हो । लामो समयदेखि उद्योगले सिटामोल उत्पादन गर्ला या नगर्ला भन्ने विभिन्न अड्कलबाजी सरोकारवालले काटिरहेला वेला सिटामोलको व्यवसायिक उत्पादनले थप औषधि विस्तार हुने आशा जगाएको छ । सिटामोलपछि एमजिट, आइरन चक्की, जीवनजल, नेमोक्सिल, डिस्टिल वाटर, कफहिष्टलगायतका औषधि उत्पादन गर्दै जाने तयारी छ । तर बजेट अभावका कारण सिटामोल पनि निर्धारित समयमा उत्पादन हुन निकै मुस्किल परेको अनुभव महाप्रवन्धक सुवेदीको छ । यसअघि माघ महिनामा सिटामोल उत्पादन गरी बजारमा ल्याउने लक्ष्य उद्योगको थियो । तर ढिलै भएपनि उद्योगले व्यावसायिक उत्पादन थालेपछि निजी क्षेत्रसँगको प्रतिस्पर्धामा उद्योग खरो उत्रने देखिएको छ । 
सरकारले आफ्नो उत्पादन नहुँदा निजी कम्पनीसँग सिटामोल खरिद गर्दै आएको छ । अब भने अनुदान वितरणमा गर्ने निशुल्क औषधि यसै उद्योगबाट खरिद गर्नेछ । निजी क्षेत्रबाट उत्पादित औषधि खरिद गर्नुभन्दा सस्तो पर्ने जनाइएको छ । निर्धारित समयमा सिटामोल उत्पादनका लागि बजेट अभाव र वस्तु तथा सेवा कर (जीएसटी) समस्या रहेको महाप्रबन्धक डा. सुवेदीले बताए । औषधिमा आत्मनिर्भर बन्ने उद्देश्यले २०२९ सालमा स्थापना भएको थियो । विगतमा ६ सयभन्दा बढी कर्मचारी रहेको नेपाल औषधिमा हाल कर्मचारी संख्या ९६ छ ।

स्रोत: https://karobardaily.com/news/country/2713