News

सिटामोलसम्म पाउँदैनन् दुर्गमका बासिन्दा

July 13, 2017

आनन्द गौतम , कान्तिपुर दैनिक, २९ असार २०७४

सदरमुकाम फुङलिङबाट २६ कोस उत्तरमा रहेको ओलाङचुङगोला र याङमाका बासिन्दाले बिरामी भएपछि उपचार त के, सिटामोलसम्म पाउँदैनन् । 

हेल्थ असिस्टेन्ट, अहेब, अनमीलगायत स्वास्थ्यकर्मी पर्याप्त रहे पनि स्थानीयले बिरामी पर्दा सदरमुकामै धाउनुपर्छ । फक्तालुङ गाउँपालिकाअन्तर्गत ओलाङचुङगोलाका लागि अहेवलगायत तीन जनाको दरबन्दी छ । अहेब टेकबहादुर समालले दुर्गम भत्तासहित मासिक ३० हजार रुपैयाँ बुझ्छन् । कार्यालय सञ्चालनका लागि भवन पनि छ । तर २/३ महिनाको अन्तरमा खोप लगाउनुपर्ने बेला मात्रै उनी गाउँ आउने स्थानीय बताउँछन् ।

उनी एक–दुई दिन बस्छन् । अनि कार्यालयको काम छ भन्दै फर्किहाल्छन् । ‘कार्यालयले खटाएकामध्ये उनी इमानदार कर्मचारी हुन्,’ वडाध्यक्ष छेतेन वालुङ शेर्पाले भने, ‘तर देखासम्म पर्दैनन् ।’

स्वास्थ्यचौकीको कार्यालयभित्र औषधि पर्याप्त छ तर धेरैजसोको म्याद गुज्रिसकेको छ । सन् २०१५ मै म्याद सकिएका औषधि पनि रहेको वडा सदस्य टाँसी वालुङले बताए । जेठमा ओलाङचुङगोलामा घुम्न गएका स्वास्थ्यकर्मी दुश्यन्त दाहाललाई देखाउँदा मिति सकिएका औषधि पर्याप्त पाइएको उनले जानकारी दिए । 

अहेब समाल गाउँ पुगेका बेला महिलालाई संगिनी सुई र बालबालिकालाई खोप लगाइदिने गर्छन् । लेलेपमा भेटिएका उनले आफू ग्रामीण स्वास्थ्य कार्यकर्ता भएकाले अधिकार पनि त्यति मात्रै रहेको  बताए । उनले आफू प्राय: गाउँमै हुने तालिम, गोष्ठी हुँदा र कार्यालयको काममा मात्रै इलाका कार्यालय लेलेप र सदरमुकाम फुङलिङ जाने दाबी गरे ।  २८ वर्ष जागिर खाँदा आफू एक्लैले धानेको, कहिल्यै आफूभन्दा सिनियर कर्मचारी नआएको उनी बताउँछन् ।

‘सिनियर अहेबहरू कोही १५ दिनसम्म बसे, कोही पाँचै दिनमा पनि हिँडे, कोहीको नाम मात्रै सुनियो,’ उनले भने, ‘त्यहाँको महँगीले एक्लै बसेर खानसमेत पुग्दैन ।’ 

नियमित स्वास्थ्यकर्मी नबस्दा गर्भवतीले गर्भ जाँच गराउन लेलेप, तापेथोक पुग्नुपर्ने, बिरामी हुँदा औषधि नपाउने समस्या छन् । 

लेलेप यहाँबाट एक दिनको पैदल दूरीमा छ । त्यहाँ पनि स्वास्थ्यकर्मी नभेटिए सदरमुकाम फुङलिङ जानुपर्छ । लामो र अप्ठयारो बाटोका कारण बिरामी बोकेर लान नसकिने भएकाल हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष छेतेन बताउँछन् । यो वर्ष मात्रै २ गर्भवतीलाई हेलिकप्टरबाट लगिएको थियो ।
वैशाखमा चोरी तस्करी नियन्त्रणका लागि टोली लिएर गएका श्रीबक्स गुल्मका गुल्मपति रवि केसीलाई यहाँका बासिन्दाले स्वास्थ्य शिविर सञ्चालन गरिदिन माग गरेका थिए । प्रत्येक घरका बासिन्दाले शिविर माग गरेपछि केसी प्रयास गर्ने वचन दिएर फर्किए । वडाका निर्वाचित प्रतिनिधिले असार तेस्रो साता सदरमुकामस्थित गुल्ममै आएर पनि अनुरोध गरेको बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार अहिले जिल्लामा पर्याप्त स्वास्थ्यकर्मी छन् । ७ वटा वडा रहेको फक्तालुङ गाउँपालिकामा हेल्थ असिस्टेन्ट, अहेब, अनमी, कार्यालय सहयोगी गरी ३२ कर्मचारी छन् । ओलाङचुङगोला फक्तालुङ गाउँपालिका–७ मा पर्छ । यही वडामा पर्ने याङमाको बस्तीका लागि पनि स्वास्थ्यचौकी त तोकिएको छ तर अहिलेसम्म कार्यालय नै स्थापना भएको छैन । 

कर्मचारी खोज्दै सदरमुकाम
 ओलाङचुङगोलाका जनप्रतिनिधि शपथ ग्रहणसँगै सदरमुकाम पसेका छन् । उनीहरूको ध्येय त्यहाँ दरबन्दी भएका कर्मचारीलाई गाउँ फर्काउनु हो । वडाध्यक्ष छेतेनले भने, ‘वडा सचिवलाई भेट्यौं, अब तपाईं गाउँमै आएर बस्नुपर्‍यो भनेका छौं ।’ त्यहाँ दरबन्दी भएका स्वास्थकर्मी, शिक्षक, भन्सार, सीमा प्रशासन, हुलाकका कर्मचारीको विवरण लिइएको र हरेक कर्मचारीलाई फलोअप गरी गाउँ फर्काउने वडा सदस्य टासी शेर्पा बताउँछन् । 

प्रत्येक कार्यालयका प्रमुख र सम्बन्धित कर्मचारीलाई भेटी गाउँ लिएर जाने योजनामा आएका उनीहरूलाई कर्मचारी मिलान भइरहेको भन्दै अल्झाइएको छ । मिलान हुँदासम्म पर्खिने र त्यसपछि ताकेता गर्ने अडानमा छन् जनप्रतिनिधि । शिक्षक नियमित नहुँदा बालबालिका पढाउन बाहिर लानुपरेको, कर्मचारी नबस्दा सामान्य कामका लागि पनि सदरमुकाम धाउनु परेको, सामान्य बिरामीलाई पनि हेलिकप्टरबाट लाखौं रुपैयाँ खर्चनु परेको उनीहरूले गुनासो गरे । 

भेन्टिलेटर नहुँदा समस्या
पर्सा– वीरगन्ज ओमआश्रमकी रेणुका म्याथुले नेसनल मेडिकल कलेजमा मंगलबार साँझ बच्चा जन्माइन् । बच्चालाई तत्कालै भेन्टिलेटरमा राख्नुपर्ने भयो । अस्पतालको एनआईसीयू कक्षमा एउटा पनि भेन्टिलेटर खाली थिएन । 

५ मध्ये ३ भेन्टिलेटर बिग्रेकाले शिशु बोकेर गण्डक अस्पताल पुग्नुपर्‍यो । रेणुका पति बेनी म्याथुले भने, ‘महानगरमा अस्पताल भएर पनि न्यूनतम सुविधा छैन, ठूलामा भेन्टिलेटर छैन, भएका बिग्रेर काम नलाग्ने रहेछन् ।’ बच्चालाई चिकित्सकको सल्लाहमा आकस्मिक उपचारका लागि भेन्टिलेटरमा राख्नुपर्छ । यहाँ आधा दर्जन ठूला अस्पताल भए पनि भेन्टिलेटर नारायणी उपक्षेत्रीयमा १, नेसनल मेडिकलमा ५, गण्डकमा १ र वीरगन्ज हेल्थ केयरमा २ वटा मात्र छन् । ‘अस्पताल बनाउँदा एनआईसीयू कक्षमा भेन्टिलेटरजस्तो आवश्यक र अति संवेदनशील उपकरण नराख्नु ठूलो कमजोरी हो,’ उनले भने, ‘सम्बन्धित निकाय सजग भई अनुगमन गर्नुपर्‍यो ।’ 
भेन्टिलेटर अभावले यहाँबाट शिशुलाई भरतपुर, काठमाडौं तथा भारत लैजानुपर्ने बाध्यता छ । नवजातलाई लामो यात्रा गराउनुपर्दा जोखिम पनि बढ्छ । नेसनल मेडिकल कलेजका बालरोग विभाग प्रमुख डा. अतीन्द्र मिश्रले एनआईसीयूमा चाप रहने गरेको बताए । भेन्टिलेटर आवश्यक पर्ने शिशुलाई सकेसम्म अस्पतालमै सेवा पुर्‍याउन प्रयास गरिने उनको भनाइ छ ।  ‘कहिलेकाहीँ एकैसाथ धेरै शिशुलाई भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यस्तो बेला तत्काल पालो नपाउने देखिए अन्यत्र लैजान रेफर गर्छौं ।’ 

नारायणी उपक्षेत्रीय अस्पतालको एनआईसीयू कक्षकी इन्चार्ज हेमा थापाले अहिले एउटा मात्र भेन्टिलेटर रहेको बताइन् । अक्सिजन पाइप वायरिङमा समस्या रहे पनि सिलिन्डर राखेर तत्काललाई भेन्टिलेटर सञ्चालन गरिएको उनले बताइन् ।

औषधि पसल खारेज
अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालित औषधि पसलहरू औषधि व्यवस्था विभागले खारेज र निलम्बन गरेको छ । गत साता अनुगमनका क्रममा सदरमुकामलगायत पृथ्वी राजमार्गमा सञ्चालित औषधि पसलहरूलाई विभागले बन्द गर्न पत्राचार गरेको छ । विभागले स्थानीय प्रशासनलाई लेखेको पत्रमा औषधि पसल ऐन २०३५ को दफा १० को भावनाविपरीत सञ्चालन गरेकोमा १५ दिनसम्म पनि मागिएका कागजात पेस नगरेको भन्दै आदमघाटस्थित अस्पतालको फार्मेसी बन्द गर्न निर्देशन दिएको छ । त्यसैगरी सोही ठाउँको प्राची फार्मेसी, नीलकण्ठ नगरपालिका–३ का सिर्जन मेडिको फर्म, किसान भेट एग्रो, राणा फार्मेसी, रूपा मेडिकल हल, पाविल मेडिकल हल, आशा मेडिकल हल र सर्वश्रेष्ठ मेडिकल हललाई ७ दिन पसल बन्द गर्न निर्देशन सदएको छ । सात दिनका लागि निलम्बन गरिएको हो । बन्द गरे/नगरेको हामी पुन: अनुगमन गर्छौं सहायक प्रजिअ लीलाधर अधिकारीले बताए ।


स्रोत : http://kantipur.ekantipur.com/news/2017-07-13/20170713083317.html