News

सिन्डिकेट अन्त्यको अनुभूति भएन

August 16, 2018

कान्तिपुर दैनिक, ३१ श्रावण २०७५

काठमाडौँ — केही दिनअघि सुन्धाराबाट दिउँसो सवा एक बजे टोखा जान छुटेको १२ सिटे सानो माइक्रोमा १९ यात्रु थिए । चालकको सिट पछाडि उल्टोपट्टि ४ जना र ढोकासँगै थपिएको सिटमा ३ गरी १९ यात्रु माइक्रोमा थिए ।

राजधानीको भृकुटीमण्डपमा माइक्रोबस चढ्न ठेलमठेल गर्दै यात्रु । सरकारले सिन्डिकेट अन्त्यको घोषणा गरे पनि विभिन्न

रुटमा गाडी थप्न दिइएको छैन । पर्याप्त गाडी नभएपछि सार्वजनिक सवारीको सकसपूर्ण यात्रा जस्ताको तस्तै छ ।

तस्बिर : कविन अधिकारी ।

लगभग १४–१५ वर्षका गाडीका सहचालक (खलासी) ले पछाडिबाट दोस्रो सिटमा बसेका दुई जनालाई ‘३ जना अट्ने भएकाले मिलेर बस्न’ निर्देशन दिए । त्यसअघिको सिटमा बसेका दुई महिलालाई भने, ‘तपाईंहरू चाहिँ राम्ररी बस्नुस्, कसैले सिट छाडदिनु भन्यो भने नछोड्नुस् । ट्राफिकले चिट हान्छ ।’

जमलसम्म पुग्दा यात्रु संख्या २४ पुगिसकेको थियो । टोखासम्म पुग्दा गाडीका सहयोगीबाहेक २७ जना भए । उभिनेले ढोकामाथि र चालक सिट पछाडि को डन्डीको सहारा लिइरहेका थिए । कोही पनि राम्ररी उभिन पाएका थिएनन् । घाँटी, ढाड झुकाएर हातले जता भेट्यो त्यहीँ समातेर यात्रा गर्नेहरू थिए ।

तीन जना बसेको सिट छेउमा थिइन्, टोखा सानोलाछीकी कञ्चन श्रेष्ठ । बिहान १० बजे कलेज जाने र ४ बजे फर्किने उनले ती समयमा अत्यधिक चाप हुने बताइन् । ‘बिहान झोरबाट आउने ठूला गाडी पनि हुन्छन्, तर तिनमा पनि उत्तिकै भीड हुन्छन् । ती गाडीले रत्नपार्क नभई सामाखुसीसम्म मात्र पुर्‍याउँछन्,’ उनले भनिन्, ‘कोचिएर जानुको विकल्प छैन । सिट खोज्ने हो भने निकै ढिला हुन्छ ।’ कहिलेकाहीँ रत्नपार्क जाने यात्रु कम भए आधाबाटोमै ओरालिदिने गरेको उनले बताइन् ।

माइक्रो होस् या ठूला बस, यात्रु कोच्चिनैपर्ने बाध्यता अन्य रुटमा पनि छन् । मनमैजु, तिलिंगाटार, मण्डिखाटार, कपन जाने साना माइक्रोमा पनि उत्तिकै कोचाकोच हुन्छ । काठमाडौंको उत्तरी भेगमा चल्ने गाडीले सिन्डिकेट कायमै राखेको स्थानीयको अनुभव छ । ‘पिक आवर’ मा यात्रु संख्याका हिसाबले माइक्रो निकै कम जस्तो देखिन्छ ।

रामकोटबाट लैनचौर पसल आवतजावत गर्ने कृष्णहरि थपलियाको अनुभवमा सिन्डिकेट हटेको ‘हल्ला’ मात्र हो । दिनहुँ रामकोटबाट आउने उनी अब निजी वाहन किन्ने तरखरमा छन् । कारण हो– समयमा नपुर्‍याउनु, समयमा गाडी नपाइनु । ‘हामी त माथिदेखि नै चढ्ने भएकाले सिट पाउँछौं, तर धेरै जना माइक्रोमा उभिन बाध्य हुन्छन्,’ उनले भने, ‘सिन्डिकेट हटेको जस्तो अनुभव नै भएको छैन । सार्वजनिक सवारीमा केही राहत महसुस हुन्न ।’

यता नागार्जुन नगरपालिका रामकोट, इचंगु र सीतापाइलाभन्दा माथिका क्षेत्रमा जाने गाडीको संख्या बढ्न नसक्नुमा सडकको जीर्ण अवस्था पनि कारक रहेको बताउने गरिएको छ । तीन महिनाअघि सरकारले सिन्डिकेट अन्त्य भएको घोषणा गर्‍यो । पहिले जिल्ला प्रशासन कार्यालयअन्तर्गत दर्ता हुने यातायात संघ/समितिलाई कम्पनी मानी यातायात व्यवस्था कार्यालयमा दर्ता हुने प्रावधान ल्याइयो । तर यतिले मात्र सिन्डिकेट नहटेको र आफूहरूलाई यसले केही सुविधा महसुस नभएको सर्वसाधारणको गुनासो छ ।

साँखुबाट आवतजावत गर्न कठिनाइ हुने भएकाले राजधानीबाट अलग्गिएको गुनासो गर्छन् स्थानीयवासी । केही दिनअघि मात्र साँझ साढे ६ मा रत्नपार्कबाट छुटेको बस जाम र सडकको नाजुक अवस्थाका कारण ११ बजेतिर साँखु पुग्यो । वर्षातमा हिलाम्मे सडकका कारण हुने दुर्घटनाबाट जोगिन सावधानीपूर्वक गाडी चलाउँदा एक घण्टाको उक्त रुटमा ३–४ घण्टा लाग्ने चालकको भनाइ छ ।

जनप्रतिनिधि सर्वसाधारणको हालतबारे जानकार भए पनि केही गर्न सक्ने अवस्थामा छैनन् । हिलाम्मे सडकले गर्दा उक्त रुटमा कुनै यातायात समितिको रुचि नरहेको साँखुका मेयर सुवर्ण शाक्यको भनाइ छ । ‘सडकको हालत यस्तो नराम्रो छ कि, कोही यो रुटमा गाडी चलाउनै चाहँदैनन्,’ यसले यात्रुलाई निकै कठिनाइ भइरहेको स्विकार्दै उनले भने, ‘कति त थलीसम्म पैदलै जान्छन् ।’ उक्त रुटमा बस चलाउने सम्बन्धमा केही निजी कम्पनीसँग छलफल भइरहेको उनले जानकारी दिए ।

राजधानीमै विभिन्न रुटमा गुड्ने बस र माइक्रोले अन्य संघ वा समितिलाई गाडी थप्न दिएका छैनन् । यसले गर्दा काँठ क्षेत्रमा पर्याप्त गाडी नपाइने, राति ८ बजेसम्म पनि नचल्ने, कोच्चिएर यात्रा गर्नुपर्नेजस्ता समस्या जस्ताको तस्तै छ । काठमाडौं महानगरभन्दा बाहिर अन्य नगरपालिकासँग जोडिएका क्षेत्रमा यातायात व्यवसायीको सिन्डिकेट कायमै छ ।

टोखा नगरपालिका २ गणेशमन्दिरको कार्यालयसँगै छ माइक्रो पार्क । वडाध्यक्ष दीपक जोशी उक्त नगरपालिकामा यातायात व्यवसायीको सिन्डिकेट र मनोमानी कायम रहेको स्विकार्छन् । ‘यहाँ माइक्रो मात्र होइन, बस चलाएका यातायात समितिले पनि अन्यलाई छिर्न दिइरहेका छैनन् । उनीहरूसँग एकपल्ट बैठक गर्नैपर्ने भएको छ,’ जोशीले भने । टोखा र नुवाकोट सिमाना तथा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नजिकको झोरसम्म जाने गाडीमा सधैं भीड हुने स्थानीय बताउँछन् । ती गाडी सामाखुसीसम्म मात्र जान्छन् । माइक्रोले रत्नपार्कसम्म जान दिएका छैनन् । टोखाभन्दा माथिको इलाकामा टोखा–छहरे यातायात समितिले माइक्रो जान नदिएको जनप्रतिनिधिको भनाइ छ ।

कीर्तिपुरसम्म चल्ने माइक्रो र बस सयौं छन् । तर नगरपालिकाको पाँगा, मच्छेगाउँ, चम्पादेवी, मातातीर्थ रुटमा भने गाडी कम भएकाले सास्ती बेहोर्नुपरेको स्थानीयको गुनासो छ । तर कीर्तिपुरकी उपमेयर सरस्वती खड्का यसलाई सिन्डिकेट भन्न नहुने दाबी गर्छिन् । उनले भनिन्, ‘धेरैजसो गाडी स्कुलका विद्यार्थी पुर्‍याउन जाने भएकाले कम देखिएका हुन् । हामीले पटक–पटक बैठक बसी त्यसो नगर्न भने पनि त्यो क्रम रोकिएको छैन ।’ अहिलेका सञ्चालकले अन्य व्यवसायीलाई छिर्न नदिएकाले गाडी कम भएको स्थानीयले बताए ।

सिन्डिकेट हटेको महसुस महसुस गर्न नपाउनुमा यातायात विभागको दोष देख्छन्, यातायात विज्ञ कमल पाण्डे । विभाग र सरकार सिन्डिकेट हटाई यातायात व्यवस्थित र चुस्त बनाउनतर्फ गम्भीर नभएको उनको आरोप छ । ‘सिन्डिकेट हटाएर के गर्ने, सबैभन्दा पहिले त त्यसको कार्ययोजना, कार्यविधि आउनुपर्‍यो । खाका बनाउनुपर्‍यो,’ पाण्डे भन्छन्, ‘कति समयमा गन्तव्यमा पुर्‍याउँछन्, कति यात्रु हुन्छन् भन्ने अध्ययन गरी त्यसैअनुसार कार्य अघि बढाउन सरकार अक्षम देखिएको छ ।’ रुटबारे जानकारी राखी आफू मातहतका सबै कम्पनीका सवारीसाधनको अनुगमन र व्यवस्थापन गर्नुपर्नेमा विभाग यसमा चुकेको पाण्डेले बताए ।

यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्याल भने सिन्डिकेट हटिसकेको दाबी गर्छन् । उनी भन्छन्, ‘कुनै यातायात कम्पनी रुट लिन आएको र नपाएको गुनासो छ ? त्यसैले सिन्डिकेट छैन ।’ पहिले रुट परमिट लिन त्यहाँका अन्य समितिहरूको सिफारिस लिनुपर्ने र त्यस क्रममा आर्थिक चलखेल हुने गरेको गुनासोमाझ त्यस्तो परिस्थिति नरहेको विभागको भनाइ छ । साउनदेखि सिन्डिकेट पूर्णरूपमा हट्ने भनिए पनि त्यसका लागि केही समय लाग्ने र सरोकारवालासँग छलफल चलिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । यातायात क्षेत्रलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन गठित समिति अध्ययनकै क्रममा छ ।

सम्भव छ सानो सवारी हटाउन ?
यातायात व्यवस्था कार्यालय एकान्तकुनाका अनुसार २ हजार २ सयभन्दा बढी साना सवारी उपत्यकामा चल्ने गर्छन् । सरकारले दुई वर्ष अघिदेखि नै यहाँका साना सवारी विस्थापित गरी ठूला सवारीलाई प्रोत्साहित गर्ने दीर्घकालीन लक्ष्य लिएको छ । सरकारको यही नीतिअनुसार ४० सिट क्षमताभन्दा बढीका बसलाई ६० प्रतिशतसम्म भन्सार छुटका साथै अन्य सुविधा पनि छन् ।

साना सवारी विस्थापनको सुरुआत औपचारिक रूपमा २०७२ भदौमा भयो । यातायात व्यवस्था विभागले तीन दर्जन टेम्पो र दुई दर्जन बढी माइक्रो विस्थापित गरी १७ वटा सुविधासम्पन्न, अपांगमैत्री बस चलाउने गरी साना सवारी चालक समितिसँग सम्झौता गर्‍यो । गोंगबु, लैनचौर हुँदै सिनामंगलसम्मको रुटमा एसियाली विकास बैंकको सहयोगमा बस किनेर चलाइने निर्णय भएअनुसार सञ्चालनमा आइसकेका छन् । सिन्डिकेट हटाउने सरकारको निर्णयपछि बनेपा, दक्षिणकाली, थानकोट रुटमा केही गाडी थपिए पनि पर्याप्त छैन ।

कहिले स्कुल, कहिले जन्ती
आइतबार दिउँसो ३ बजे । जावलाखेल जान यात्रुहरू भोटाहिटीमा गाडी कुरिरहेका थिए । लामो समयसम्म कुर्दा पनि माइक्रो आएन । त्यसपछि सबैजना सडक पार गरेर रत्नपार्कतिर लागे । ‘माइक्रो विद्यार्थी पुर्‍याउन गइदिने भएकाले यो समयमा पाइन्न,’ कुपन्डोलकी सुबिना मानन्धरले भनिन् । ‘पिक आवर’ मै धेरैजसो गाडी विद्यार्थी पुर्‍याउन र लिन जाने भएकाले सर्वसाधारणले गाडी पाउनै गाह्रो हुन्छ । भक्तपुर, जावलाखेल, साँखु तथा कीर्तिपुरलगायत रुटका गाडी स्कुलका बालबालिका बोक्न व्यस्त भइदिन्छन् । ललितपुरका भित्री इलाका, टीकाथली, इमाडोल, भक्तपुरको बिरुवालगायतका स्थानमा विवाहको मौसममा सवारी संख्या घट्छ ।

शंखरापुर नगरपालिकाको साँखुमा पनि यात्रुको सास्ती उस्तै छ । लप्सेफेदी जाने गाडीको समस्याले गर्दा स्थानीय निजी दुईपांग्रेमै ओहोरदोहोर गर्न मन पराउँछन् । चाहिएको समयमा गाडी हुँदैनन् । साँखु मेला लाग्ने समयमा गाडी साँखु बसपार्क पुग्नेबित्तिकै मान्छे ओइरिन्छन् । ‘सबै गाडीमा भीड भइसकेको हुन्छ । गोडा मात्र राख्ने ठाउँ भए आफूलाई भाग्यमानी मान्नुपर्छ,’ स्थानीय कुलबहादुर श्रेष्ठले भने, ‘मंसिरमा त बस पाउनै गाह्रो हुन्छ । धेरै गाडी जन्ती बोकेर रिजर्भमा गएका हुन्छन् ।’

साँखु बस व्यवसायी संघका कार्यालय प्रमुख पदम श्रेष्ठ गाडी रिजर्भमा जानुलाई स्वाभाविक मान्छन् । संघअन्तर्गत १ सय २० बस छन् । उक्त क्षेत्रमा सिन्डिकेट नरहेको बरु सडकको दुर्दशाले गाडी चलाउन कोही पनि तयार नहुने गरेको उनले बताए । ‘गाउँतिरकालाई आवश्यक परे रिजर्भमा जानैपर्छ । स्कुलका बालबालिका लिन जाने बसहरू १०/१५ वटा छन्,’ उनले भने । उनका अनुसार सडककै कारणले तीन ट्रिप भ्याउनुपर्ने गाडी दुई खेप मात्र चल्न पाएका छन् ।

बालाजु तारकेश्वर यातायात समितिका सचिव परशुराम लामिछाने पनि स्थानीयलाई चाहिएको बेला रिजर्भ दिनु पनि उनीहरूकै सेवा भएको बताउँछन् । उनले उपत्यकाबाहिर रिजर्भ जाँदा सवारीधनीले जानकारी गराउने बताए । तर त्यहाँ गाडीमा भीडले गर्दा खुट्टा राख्ने ठाउँसमेत पाइन्न । बाइपासबाट भीड यति बढ्छ कि यात्रुले कोच्चिनुबाहेक विकल्प हुन्न । लामिछाने भने कार्यालय समयमा बाहेक त्यस्तो यात्रु चाप नहुने दाबी गर्छन् ।

उक्त कम्पनीले तारकेश्वरका फुटुङ, साङ्ला, जितपुरफेदी, काभ्रेस्थली, धितालथोक, पैयुँटार लगायतका स्थानका साथै नुवाकोटसँग जोडिएको स्थानमा पनि यातायात सञ्चालन गरेको छ । लामिछानेले उक्त रुटमा अन्य गाडी कम्पनीलाई आउन छुट रहेको दाबी गरे ।

यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्याल केही क्षेत्रमा कम गाडी भएकाले सर्वसाधारणले सास्ती खेप्नु परिरहेको स्विकारे । ‘एउटा निश्चित रुटमा गाडी चलाउने अनुमति लिएर पनि पटके काटेर रिजर्भमा हिँड्न पाउँछन् । यसले केही क्षेत्रमा गाह्रो भइरहे पनि यो उनीहरूको अधिकार हो,’ उनले भने ।

स्रोत: https://www.kantipurdaily.com/national/2018/08/16/153438706044076627.html