सिन्धुपाल्चोकमा ५० हजार घर पुनर्निर्माण हुँदै

January 30, 2018

नागरिक दैनिक, १६ माघ २०७४ 

सीपयुक्त कामदार, प्राविधिक, निर्माण सामाग्री अभाव, लगातारको मुल्यवृद्धि र कालोबजारीका बाबजुद भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका पीडितले पुनर्निर्माणलाई तीव्र बनाउँदै लगेका छन्। पीडित व्यक्तिगत आवास निर्माणमा जुरुक्क जाग्दा पुनर्निर्माणले अभियानकै रुप लिएको छ। सरकारी तथ्यांकअनुसार भूकम्पले भत्काएका ५० हजारभन्दा बढी घरको एकसाथ पुनर्निर्माण भइरहेको छ। झण्डै ६४ प्रतिशत पीडित पुनर्निर्माणमा जुटेका हुन्।

‘पछिल्लो समय पीडित पुनर्निर्माणमा जुरुक्कै जागेका छन्,’ सहरी विकास तथा भवन निर्माण डिभिजन, जिल्ला आयोजना कार्यान्वयन इकाइ प्रमुख टंकप्रसाद गौतमले नागरिकसँग भने। उनका अनुसार पछिल्लो आठ महिनामा मात्र पीडितले ४३ हजार घरको पुनर्निर्माण गरिरहेका छन्।

पुनर्निर्माण अभियान सुरु गरिएको पहिलो १४ महिनामा १० हजार पीडितले मात्र पुनर्निर्माण थालेका थिए। इकाइका अनुसार जिल्लामा यतिबेला ५० हजार १ सय १४ घरको पुनर्निर्माण भइरहेको छ। गुनासोबाट सम्वोधन भएकाबाहेक जिल्लामा ७८ हजार ५ सय ३७ भूकम्प पीडित लाभग्राही छन्।

पूर्व तातोपानीदेखि पश्चिमको हेलम्बुसम्मै पुनर्निर्माणको लहर छ। एउटै टोल, बस्ती र गाउँ बाँकी छैन, जहाँ पुनर्निर्माण सुरु नभएको होस्। घँडेरी खार्ने, निर्माण सामग्रीको जोहो गर्ने र घर बनाउने चटारो छ जिल्लैभरि। चाडबाड र खेतिपातीको काम सकिएकाले पीडित ढुक्कले घर बनाउन जुटेका छन्।

बिहान सूर्य नउदाउँदै सुरु हुने पुनर्निर्माणको काम साँझ आँखाले देखिउञ्जेलसम्म जारी रहन्छ। गाउँ–गाउँमा पुनर्निर्माणको लहर देख्दा लाग्छ, भूकम्पमा निमेषमै ढलेको सिन्धुपाल्चोकलाई जुरुक्कै उठाउन लालायित छन् पीडित। वैशाखमा सम्पन्न स्थानीय तह र मंसिरमा भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनले दुई महिनाभन्दा बढी समय पुनर्निर्माणलाई प्रभावित पारेको थियो।

भूकम्पको वर्षपछि २०७३ वैशाख १२ गते सिन्धुपाल्चोकबाटै पुनर्निर्माण अभियानको थालनी गरिएको थियो। यो बीचमा धेरै बस्ती ठडिइसकेको देख्न सकिन्छ। इन्जिनियर रहेका इकाइ प्रमुख गौतम आउँदो बर्खाअघिसम्म अधिकांश घर बनिसक्ने अनुमान लगाउँछन्।

‘स्थानीय तहले जनप्रतिनिधि पाउनु र अनुदान किस्ता लिने समय सीमा तोकिनु जस्ता कारण पुनर्निर्माणले तीव्रता पाउँदा अभियानकै रुप लिइरहेको छ,’ उनले भने। स्थानीय तहले जनप्रतिनिधि पाइरहँदा गत जेठ अन्तिमसम्म जिल्लामा १ सय ६३ घर निर्माण सम्पन्न हुँदा करिव १० हजार पीडितले मात्र पुनर्निर्माण थालेका थिए। त्यसै समयमा प्राधिकरणले तेस्रो किस्ता पाउन पुस मसान्तभित्र दोस्रो किस्ता लिइसक्नु पर्ने समय सीमा तोकेको थियो।

‘त्यस (असार) यता मात्र एकैसाथ ४० हजारभन्दा बढी घरको पुनर्निर्माण सुरु भयो,’ गौतमले सुनाए, ‘पीडित समेत पुननिर्माणमा जागरुक भइरहेका छन्।’ उनको अनुभवमा स्थानीय तहमा जनप्रतिनिधि आएपछि पुनर्निर्माणमा निकै सघाउ पुगेको छ। पीडितको अनुदान किस्ता वितरण सम्वन्धि र अन्य गुनासाका चाङ बोकेर जनप्रतिनिधि आफैँ सदरमुकाम आइपुग्छन्।

स्रोत: http://www.nagariknews.com/news/36246/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More