सिमेन्ट उत्पादनमा अग्रणी

December 12, 2017

नवीन अर्याल, अन्नपुर्ण पोस्ट, २६ मंसिर २०७४

भैरहवा : चिनियाँ कम्पनी होङ्सी र नेपाली शिवम सिमेन्टको लगानीमा नवलपरासीमा निर्माण भइरहेको सिमेन्ट उद्योगले सन् २०१८ भित्र व्यवसायिक उत्पादन सुरु गर्दैछ । पूर्वपश्चिम (महेन्द्र) राजमार्गमा पर्ने दुम्किबासबाट १२ किलोमिटर उत्तरतर्फ रहेको उद्योगको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । उद्योगबाट पहिलो चरणमै दैनिक ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादन हुँदै छ ।

होङ्सी शिवम् सिमेन्टको उत्पादन लक्ष्य दैनिक १२ हजार टन छ । पहिलो चरणमा ३६ अर्ब खर्चिन लागेको कम्पनीको लगानी दोस्रो चरणमा ५२ अर्ब नाघ्ने छ । होङ्सी नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योगमात्र हुने छैन, मुलुककै नमुना उद्योगका रूपमा रहनेछ । उद्योगबाट क्लिंकरको कच्चा पदार्थ चुनढुंगा खानीसम्म रोपवे र सुरुङ निर्माण गरिने कम्पनीका निर्देशक सतिस मोर बताउँछन् ।

भैरहवाको लुम्बिनी रोडमा सञ्चालित अर्घाखाँची सिमेन्टले धमाधम उद्योगको क्षमता विस्तार गरिरहको छ । दैनिक १२ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले उत्पादन क्षमता दोब्बर बनाउँदैछ । यसका लागि चार अर्ब रुपैयाँ लगानी थप्न लागेको उद्योग सञ्चालक पशुपति मुरारका बताउँछन् । लुम्बिनीबाट १५ किलोमिटरभन्दा बाहिर पर्ने अर्घाखाँचीले क्षमता विस्तारका लागि स्वीकृति पाएको छ ।


भैरहवाको बेथरीमा सञ्चालित अर्घाखाँची सिमेन्टले धमाधम उद्योगको क्षमता विस्तार गरिरहको छ ।

विश्वव्यापी व्यवसाय विस्तारमा लागिरहेको चौधरी ग्रुपले पाल्पामा ठूलो क्लिंकर उद्योग सञ्चालनको तयारीमा छ । क्लिंकर उद्योगमा साढे आठ अर्ब लगानी गर्न लागेको ग्रुपका अध्यक्ष विनोद चौधरी बताउँछन् । चौधरी ग्रुपले नवलपरासीको दुम्किबासबाट सीजी ब्रान्डमा सिमेन्ट बजारमा ल्याइसकेको छ । यो उद्योगमा ९५ करोड लगानी भइसकेको छ । व्यावसायिक घराना शंकर ग्रुपले भैरहवामा रहेको जगदम्बा सिमेन्ट उद्योगलाई आधुनिकीकरण गरिरहेको छ ।

औद्योगिक नगरी भैरहवामा एक दर्जन सिमेन्ट उद्योग सञ्चालनमा छन् । नवलपरासीमा चारवटा उद्योगमा सञ्चालन भइरहेका छन् । नेपालका ठूला सिमेन्ट उद्योग लुम्बिनी औद्योगिक करिडोरमा सञ्चालित छन् । लुम्बिनी करिडोरमा सिद्धार्थ सिमेन्ट, जगदम्बा सिमेन्ट, रिलायन्स सिमेन्ट, गोयन्का सिमेन्ट, ब्रिज सिमेन्ट, सुप्रिम सिमेन्ट, पाठक सिमेन्ट, अम्बुजा सिमेन्ट, अग्नि सिमेन्ट, विशाल सिमेन्ट र अर्घाखाँची सिमेन्ट सञ्चालनमा छन् । नवलपरासीमा सिजी, सर्वोत्तम, बुटवल निर्माण सिमेन्ट उद्योग सञ्चालनमा छन् ।

भैरहवा र आसपास क्षेत्रमा सञ्चालित सिमेन्ट उद्योगले नेपाली सिमेन्ट बजारको करिब ४० प्रतिशत माग धानिरहेको बताउँछन्, पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघका अध्यक्ष ऋषिकेश अग्रवाल । यी उद्योगबाट दैनिक एक लाखभन्दा बढी बोरा सिमेन्ट उत्पादन हुन्छ । औद्योगिक नगरीका रूपमा विकसित भैरहवा क्षेत्रमा सिमेन्ट उत्पादकको आकर्षण देखिएको पाइन्छ । नेपालको मध्यभागमा पर्ने भैरहवाबाट बजारमा सिमेन्ट पु¥याउन सहज भएकोले आकर्षण देखिएको हो । सरकारले लुम्बिनीबाट १५ किलोमिटर दुरीभित्र उद्योग खोल्न रोकेपछि सिमेन्टका लगानीकर्ता नवलपरासीतर्फ केन्द्रित देखिन्छन्।

सिमेन्ट उत्पादनमा भैरहवा अग्रणी स्थानमा छ । वीरगन्ज, दाङ, हेटौंडा, उदयपुरलगायत क्षेत्र पनि सिमेन्ट उद्योगका लागि प्रसिद्ध छन् । त्यसो त पछिल्लो समय सिमेन्ट उद्योग चुनढुंगा खानी नजिकै खुल्न थालेका छन् । यसले उद्योगको सञ्चालन खर्च समेत घटाउन मद्दत गर्छ । सिमेन्ट उद्योगले कच्चा पदार्थ क्लिंकर आफै उत्पादन गर्नुपर्ने व्यवस्था छ । रोल्पा, धादिङलगायत क्षेत्रमा पनि सिमेन्ट उद्योग खुलिरहेको देखिन्छ ।

भैरहवा क्षेत्रमा सञ्चालित अधिकांश (एक दर्जन) उद्योगले क्षमता विस्तार गर्न चाहिरको छन् । तर, सरकारी मापदण्डले १० वटा उद्योगको क्षमता विस्तार गर्न रोकेको छ । भैरहवामा क्षमता विस्तार गर्न नपाएका लगानीकर्ता बाहिरी जिल्लामा केन्द्रित हुन थालेका छन् । शंकर ग्रुपले वीरगन्जको उद्योगमा क्षमतामा विस्तार गरिरहेको छ । भैरहवाको जगदम्बा सिमेन्टको क्षमता विस्तार गर्न नपाएपछि आधुनिकीकरण गर्दै छ ।

भैरहवामा रहेको सिद्धार्थ सिमेन्ट उद्योगको दैनिक क्षमता सात सय टन रहेको छ । सिद्धार्थ सिमेन्टको अर्घाखाँची सिमेन्टमा पनि लगानी छ । रिलायन्स सिमेन्ट उद्योगले आफै क्लिंकर उत्पादन गर्दै आइरहेको छ । रिलायन्सले दैनिक पाँच सय टन सिमेन्ट उत्पादन गर्छ । जगदम्बा सिमेन्ट भैरहवाको सबैभन्दा पुरानो उद्योग हो । यसको उत्पादन क्षमता १२ सय मेट्रिक टन छ ।

नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको छ । निजी क्षेत्रको उपस्थिति भएको छोटो अवधिमै मुलुक सिमेन्टमा आत्मनिर्भर बनेको हो । तर, सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ क्लिंकर अर्बौं रकमा भारतबाट आयात गरिँदै आएको छ । प्रशस्त चुनढुंगा खानी रहेको मुलुकलाई क्लिंकरमा पनि आत्मनिर्भर बनाउन लगानीकर्ता लागेका छन् । अबको केही वर्षभित्र मुलुक क्लिंकरमा पनि आत्मनिर्भर बन्ने व्यवसायी बताउँछन् ।

स्रोत: http://annapurnapost.com/news-details/85726

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More