श्यामशंकर पाण्डे, राजधानी दैनिक, २३ श्रावण २०७४
सुरक्षाको कारण देखाउँदै भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले रूपन्देहीको बेलहिया–सुनौली सीमा नाकामा गरेको अवरोधले दैनिक ५ करोड राजस्व घाटा हुने गरेको छ ।
साउन पहिलो सातादेखि सुरक्षामा कडाइ गरेपछि राजस्व घट्ने क्रम बढेको छ । भारत प्रवेशद्वारको मूलगेटमा बसेर एसएसबीले यात्रुको समेत सबै खानतलासी लिने गरेको छ । पहिला सामान्य हिसाबले चेकजाँच गर्ने भारतीय सीमा सुरक्षा बल एसएसबीले अहिले एउटा
सवारीसाधन चेकजाँच गर्न पनि आधा घण्टाभन्दा बढी समय लगाउने गरेको जिल्ला ट्राफिक प्रहरी इकाइ चेकपोस्ट बेलहियाका प्रहरी नायब निरीक्षक विष्णुबहादुर जिसीले बताए ।
नेपाल तथा भारततर्फ मालवाहक सवारीसाधनको लामो लाइन छ । नेपालमा सामान अनलोड गरेर भारत जान लागेका खाली सवारीसाधनमा समेत एसएसबीले कडा चेकजाँच गरिरहेको छ । ‘भैरहवा भन्सारबाट पछिल्ला पाँच दिन निर्यात प्रायः ठप्प छ । आयातमा समेत असर परेको छ । प्रमुख भन्सार अधीकृत भूपाल शाक्यले भने, ‘राजस्व संकलनमा दैनिक ५ देखि ७ करोडसम्म घाटा भइरहेको छ ।’ सयौं सवारीसाधन बाहिरिने यो नाकामा भारतीय पक्षले दुई÷चार जना सुरक्षाकर्मी राखेर लामो समय चेकजाँच गर्दा आयात–निर्यात प्रभावित भएको छ ।
सिमानादेखि करिब ४ किलोमिटर वरसम्म लोड गरेका र खाली गाडीको लाइन रहेको अवस्था छ । सामान्य अवस्थामा दैनिक १८ देखि २० करोडको राजस्व संकलन हुने गरेको प्रमुख भन्सार अधिकृत शाक्यले बताए ।
उनले भने, ‘अहिले अवरोध भएपछि दैनिक १२–१३ करोड मात्रै राजस्व संकलन हुने गरेको छ ।’ भन्सार कार्यालयको तथ्यांक हेर्दा मात्रै दैनिक ५ देखि ७ करोडसम्म राजस्व संकलनमा घाटा भइरहेको छ । यसले चालू आर्थिक वर्षमा राजस्व संकलनमा भन्सार कार्यालयले लिएको लक्ष्य पूरा गर्नसमेत कठिन हुने अवस्था देखिएको छ ।
सीमा अवरोधले नेपालबाट निर्यात हुँदै आएका सामान पनि नाकामै रोकिएका छन् । जसले निर्यातमा पनि नकारात्मक प्रभाव देखिएको छ । भारतको अघोषित नाकाबन्दीका बेलासमेत सहज रहेको नाका बिनाकारण अवरोध हुँदा यस क्षेत्रका ठूला–ठूला उद्योगधन्दा र यहाँ खुल्ने भनिएका व्यावसायिक प्रतिष्ठान पनि अन्यत्र प्रस्थान हुनसक्ने चिन्ता व्यवसायीको छ ।
साउन पहिलो सातादेखि सुरक्षा अवस्था देखाउँदै सीमा क्षेत्रमा भारतीय पक्षले अवरोध गरेपछि नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी, भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय, भारतीय सुरक्षा बलका डीआईजी, नेपाली सुरक्षा निकायका प्रमुखबिच गत साता भएको छलफलमा भारतीय अधिकारीहरूले सीमा क्षेत्रमा अवरोध नगर्ने जनाएका थिए । चार–पाँच दिन सवारीसाधन आवतजावत गरे पनि पुनः सुरक्षा अवस्थालाई देखाउँदै भारतीय पक्षले नेपालबाट भारतर्फ जाने सवारीसाधनलाई गत बुधबारदेखि कडाइ गरेको हो ।
भारतीय अधिकारीसँग कुराकानी गरी नाका सहज गराउन आग्रह गरेकाले केही दिनमै सहजता आउने रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले बताए ।