शंकर आचार्य, कान्तिपुर दैनिक, २४ जेठ २०७४
महाभूकम्पपछि वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाह नाकाबाट घटेको मदिरा तथा इनर्जी ड्रिङको आयात बिस्तारै लयमा फर्किएको छ ।
यस वर्ष उक्त नाका हुँदै तेस्रो मुलुकबाट बियर, ह्वीस्की, वाइन तथा इनर्जी ड्रिंकको आयात ह्वात्तै बढेको छ ।
बन्दरगाहस्थित भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा १० करोड ४३ लाख रुपैयाँ भन्सार महसुल बुझाएर ४ करोड ८६ लाख रुपैयाँ बराबरको ३ लाख २० हजार २ सय ९ लिटर बियर आयात भएको छ । गत आवको यसै अवधिमा ४६ लाख रुपैयाँको बियरबाट भन्सार महसुल असुल भएको थियो । त्यसैगरी चालु आवको वैशाखसम्म १ अर्ब १ करोड रुपैयाँ भन्सार महसुल बुझाएर ६१ करोड ६६ लाख रुपैयाँ बराबरको ३ लाख ७० हजार लिटर हवीस्की आयात भएको छ । गत आवको यसै अवधिमा ५९ करोड ६१ लाख रुपैयाँ ह्वीस्कीको भन्सार शुल्क उठेको थियो ।
चालु आवको वैशाखसम्ममा ३७ करोड २६ लाख रुपैयाँ भन्सार महसुल बुझाएर १८ करोड ८२ लाख रुपैयाँ बराबरको ५ लाख ९३ हजार लिटर वाइन आयात भएको छ । गत आवको यसै अवधिमा २२ करोड ५१ लाख रुपैयाँ भन्सार शुल्क उठेको थियो । वाइन विशेषगरी अस्ट्ेरलियाबाट र थोरै चीनबाट आयात हुन्छ । त्यसैगरी चालु आवमा ४६ करोड ५० लाख रुपैयाँ भन्सार महसुल बुझाएर ८७ करोड ८१ लाख रुपैयाँ बराबरको ६६ लाख ९४ हजार लिटर विभिन्न ब्रान्डका इनर्जी ड्र्रिंकस आयात भएको छ । गत आवको यसै अवधिमा ४० करोड ६४ लाख रुपैयाँ भन्सार महसुल बुझाएको थियो । यस्ता पेय बढी मलेसिया र भियतनामबाट आयात हुन्छ ।
भन्सारका अधिकृत गणेश पौडेल भूकम्पपछि राजधानीको होटल व्यवसाय बिस्तारै लिकमा आएपछि सबैखाले मदिराको आयात बढेको बताउँछन् । मुलुकमा आयात हुने मदिराको सबैभन्दा ठूलो बजार राजधानी नै हो । यसबाहेक नेपालको सीमावर्ती भारतीय राज्य बिहारमा मदिरा प्रतिबन्धित भएपछि भारतीयहरू सीमावर्ती बजारमा आउने कारणले आयात बढेको हुन सक्ने उनको अनुमान छ । राजस्वमा योगदान गर्ने मुख्य ४ वस्तुको सूचीमा मदिरा पनि एक हो । ‘१ कन्टेनर हवीस्कीले १ करोड ५० लाखदेखि २ करोड २५ लाख रुपैयाँसम्म राजस्व दिन्छ,’ उनले भने, ‘त्यसैगरी १ कन्टेनर वाइनले ४० देखि ८० लाख रुपैयाँसम्म राजस्वमा योगदान गर्छ ।’
स्रोत: http://kantipur.ekantipur.com/news/2017-06-07/20170607092527.html