सुख्खा बन्दरगाह निर्माणले गति लिँदै

March 07, 2018

ठाकुरसिंह थारु, कान्तिपुर, फाल्गुन २३, २०७४

दुवैतर्फ गरी ९० बिघा जग्गा अधिग्रहण भइसक्यो

नेपालगन्ज — भारतीय सीमा जयसपुरमा निर्माण हुँदै गरेको सुख्खा बन्दरगाहको कामले पुन: गति लिएको छ । भारतीय केन्द्रीय सरकारको सहयोगमा बन्ने उक्त आयोजना करिब एक दशकदेखि अलपत्र थियो । पछिल्लोपटक भारत सरकारले दुई वर्षमै बन्दरगाह निर्माण सक्ने गरी ठेक्का आह्वान गरेको छ ।

नेपाल–भारत सीमा जयसपुरमा निर्माण गरिने भनिएको सुख्खा बन्दरगाह क्षेत्र ।तस्बिर : ठाकुरसिंह/कान्तिपुर

बन्दरगाहका लागि अधिग्रहण गरिएका जग्गामा भारतीय निर्माण कम्पनीले पर्खाल र तारबार गर्न सुरु गरेको छ । सुख्खा बन्दरगाहका लागि नेपाल सरकारले जयसपुर क्षेत्रमा ९० बिघा अधिग्रहणगरिसकेको छ । त्यस्तै भारत सरकारले पनि त्यस क्षेत्रमा त्यति नै जग्गा अधिग्रहण गरी निर्माणको कामलाई तीव्रता दिएको हो । नेपाल सरकारले अधिग्रहण गरेको जग्गाको मुअब्जासमेततिरिसकेको छ । ९० मध्ये २७ बिघामा बन्दरगाहका लागि आवश्यक सडक बनाइनेछ । अन्य खाली जग्गामा तारबार लगाइएको छ । नेपालगन्ज भन्सार प्रमुख जनार्दन आचार्यले भारतीय सरकारले दुई वर्षमै काम सक्ने प्रतिबद्धता जनाएको बताए । उनका अनुसार निर्माणको काम जारी छ । ‘हामीलाई जानकारी भए अनुसार निर्माणको ठेक्का पनि दिइसकेको छ । त्यसैले छिटै काम सम्पन्न हुने विश्वास गरिएको छ,’ उनले भने, ‘सबै निर्माण जिम्मा भारतीय सरकारले लिएको छ ।’ भारतको दिल्लीबाट सबैभन्दा नजिक मानिने नेपालगन्जमा बन्दरगाह आवश्यक पनि छ । जयसपुरमा ९० बिघा जग्गा छुट्याउने प्रस्ताव नेपाल सरकारले कार्यान्वयन गरिसकेको छ । बन्दरगाह स्थापना हुन सक्ने हो भने भारतबाट सामान निकै सस्तोमा आयात गर्न सकिन्छ । त्यस्तै नेपालका जडीबुटी र उत्पादनहरू भारतमा निकासी गर्न पनि सरल हुनेछ ।

त्यसका लागि फोर लेन राजमार्ग र फोर गेज रेल्वे लाइन विस्तार योजना अघि सारिएको छ । बन्दरगाह अभावमा दुई देशका उद्योगी महँगो ढुवानी तिर्दा वस्तुको मूल्य बढ्ने गरेको छ । उद्योगी र व्यवसायीलाई सामान ढुवानीमा हैरानी हुने गरेकाले बन्दरगाह स्थापनामा लागेको हो । यससँगै यस क्षेत्रको विकास माथि उठ्ने अनुमान गरिएको छ । रोजगारीका सम्भावनापनि बढ्नेछन् ।

यसपछि आधुनिक भन्सारको काम सुरु हुनेछ । बन्दरगाहसम्म रेल्वे सेवा विस्तार हुनेछन् । एकीकृत सुरक्षा योजना लागू हुनेछ । नेपाल–भारतका सुरक्षाकर्मीले संयुक्त जाँच गर्नेछन् । ‘सुख्खा बन्दरगाहपछि कार्गो निकासी सहजै हुनेछ । भन्सारको काम आधुनिक हुनेछ,’ नेपालगन्ज भन्सार प्रमुख आचार्यले भने, ‘सवारीको सहजै जाँच हुनेछ ।’ भारतीय अधिकारीहरूले सुख्खा बन्दरगाह निर्माणका लागि सहरी तथा भवन डिभिजन कार्यालयका अधिकारीसँग समन्वय गरिरहेका छन् ।

डिभिजन इन्जिनियर होमनाथ भुसालले बन्दरगाह निमार्ण जिम्मा पाएको कम्पनीले काम सुरु गरेको जानकारी आएको बताए । तर भारतीय लगानीमा निर्माण हुँदा लागत र पूर्ण डिजाइनबारे अनभिज्ञ रहेको उनले जनाए ।

स्रोत: www.kantipurdaily.com/pradesh-5/2018/03/07/20180307093002.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More