News

सुदूरपश्चिमका भैंसीको मासु चीन र भियतनामसम्म

December 19, 2019

नागरिक, अरुण बम, पुष ०३, २०७६ 

डोटी - सुदूरपश्चिमको पहाडबाट भैंसी निकासी हुनथालेको डेढ दशक नाघ्यो। सुरुका वर्षमा अवैध ढंगबाट चोरबाटो प्रयोग गरी लस्करका लस्करभैंसी तस्करी गर्थे।यसरी निकासी हुने भैंसीका लस्कर अझै रोकिएका छैनन्। बरु त्यसलाई अहिले वैधानिक बाटोमा डो-याउने कोसिस गरिएको सरोकारवाला बताउँछन्।

‘अहिले उनीहरुले वैधानिक कारोबार गरिरहेका छन्,’ सुदूरपश्चिम प्रदेश, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलका निर्देशक डा. मदनसिंह धामी भन्छन्,‘हाल यस प्रदेशमा नौ सय ६१ जनाले व्यावसायिक रुपमा दर्ता भएर भैंसी मासुको कारोबार गरिरहेका छन्।’

‘नेपाली बजारमै भैंसीमासुको माग धेरै छ,’ कारोबारमा संलग्न कैलाली, अत्तरियाका व्यवसायी बालकृष्ण भट्टराईले भने,‘यसैले हामीलाई माग अनुसारको आपूर्ति गर्नै कठिन छ।’ नेपालकै माग नधानेका बेला यहाँका भैंसीको मासु चीन र भियतनामसम्म पुग्ने गरेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलका डा. धामीले बताए। उनले भने,‘चिनियाँ नागरिकले नेपालमै प्रशोधन केन्द्र खोलेर नेपाली भैंसीको मासु चीनपठाइरहेका छन्। जो भियतनामसम्म पुग्छ।’

 

गत आर्थिक वर्ष ०७५/७६ मा मात्रै सुदूरपश्चिमबाट ४० करोडभन्दा बढीकोभैंसी मासु निकासी भएका छन्।

पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलका अनुसार गत आर्थिक वर्ष ०७५/७६ मा मात्रै सुदूरपश्चिमबाट ४० करोडभन्दा बढीका भैंसी निकासी भएका छन्। जसमा करिब १२ हजारभन्दा बढी संख्यामा भैंसी निर्यात भएको तथ्यांक छ। ‘मासिक एक हजारको हाराहारीमा यहाँका भैंसीको मासु निकासी भइरहेको तथ्यांक छ,’ निर्देशक डा. धामीले भने।

अन्तर्राष्ट्रिय बजारबाट तीव्र माग भएको भैंसी मासु उत्पादनलाई व्यावसायिक बनाउन सके मनग्य आम्दानी गर्नसकिने यस व्यवसायमा लागेकाकारोबारी बताउँछन्। ‘अन्तर्राष्ट्रिय बजारमा मासुजन्य उत्पादनमा बढी माग भनेकै भैंसीको छ,’ कारोबारी भट्टराई भन्छन्,‘तरहामीकहाँ भैंसीदूधकै लागि मात्र पाल्ने चलन छ। यसलाई मासुका लागि पनि भनेर उत्पादन गरे राम्रो आम्दानी गर्नसकिन्छ।’

सोही कुरा स्वीकार्दै निर्देशक धामीले प्रदेश सरकारमा भैंसी उत्पादन प्रवद्र्धनका कार्यक्रम अघि सारिएको बताए। उनले भने,‘सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय माग भएको र मूल्य पनि पाइने उत्पादनमा हामीले बढावा दिने योजना सार्नुपर्छ। तब मात्र आर्थिक विकास सम्भव हुन्छ।’ चीनमा मात्रै अर्बौंको भैंसी मासु माग रहेको उनले बताए। ‘चीनजस्तो जनसंख्या बाक्लो भएको मुलुकले नेपालबाट जतिपनि भैंसी खपत गर्नसक्छ,’ उनले थपे।

भेटिँदैनन् गाउँमा भैंसी
एक समय थियो, गाउँका हर घरमा भैंसी हुन्थे। त्यो पनि एक होइन, दर्जनौं। पाहुना आउँदा दहीले स्वागत गर्ने प्रचलन थियो। घरायसी आहारमा दुग्धजन्य पदार्थको सहभागिता अनिवार्य थियो। बलिया हृष्टपुष्ट मानिस देखे दूध–दही खाएको भन्ने लख काटिन्थ्यो। ‘दूध–दही नभए त घाँटीमा खाना नै जान्नथ्यो। अहिलेजस्तो थरीथरीका तरकारी हुन्थेन,’ बोगटान फुड्सिल गाउँपालिका–७ का रामबहादुर बमको कथन छ,‘बालबच्चा जन्मदा लैनो भैंसी घरमा बाँधिन्थ्यो। टन्न दूध खुवाएको बच्चा ताकतवर निस्कन्थ्यो !’

भैंसीपालन धेरैको जीवन चलाउने मेसो थियो। अन्न उब्जाउन पर्याप्त जमिन नहुनेहरु भैंसी जम्मा पारेर लेकऔल (लेकबेंसी) धाउँथे। ‘जमिन नभए भैंसी विकल्प हुन्थ्यो। भैंसी पालेर टन्न घ्यू पाथ्र्यौं,’ आदर्श गाउँपालिकाका चिन्तामणि जोशीस्मरण गर्छन्,‘त्यही घ्यूसँग अन्न साटिन्थ्यो।’ यसरी उत्पादन भएको घ्यू भारतको टनकपुरसम्म पु¥याएर बेचेको उनको अनुभव छ।

त्यो समय भोगेका वृद्धहरुको मन अहिले गाउँमा एउटै भैंसी नदेख्दा विरक्त लाग्छ। ‘सारा गाउँभरी खोज्दा दूधै पाइन्न। पूरा जमाना नै दूध खान्न कि? झैं लाग्छ,’ बोगटान गाउँपालिकाका ठेउके नेपालीदुखेसो पोख्छन्। हुनपनि सुदूरपश्चिम पहाडमा भएको यस्तै छ। अहिले अधिकांश गाउँमा भैंसी भेटिनै छाडेका छन्। जसले ग्रामीण क्षेत्रमा दूधको उपलब्धता सून्यप्रायः भएको छ। ‘गाउँमा दूध खाउला वा दूध हालेको चिया खाउला नसोचे हुन्छ,’ डोटीका एक सामाजिक कार्यकर्ता एकराज बडूको अनुभव छ,‘मैले गाउँमा काम गर्न थालेको आठ÷नौ वर्ष भयो। दूध खानपाएको मेरो स्मरणमा छैन।’

भैंसी पाल्नै चाहे पनि पाउनै कठिन भएको किसानको गुनासो छ। ‘भैंसी पाउन सजिलो पनि छैन। भेटिए एउटै भैंसीको लाखभन्दा बढी पर्छ,’ बोगटान गाउँपालिका–३ का किसान प्रेमसिंह धामी भन्छन्।

स्रोत: https://nagariknews.nagariknetwork.com/news/108268/