सुदूरपश्चिममा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या बर्सेनि बढ्दै

August 09, 2022

रामहरि ओझा, अनलाइनखबर, साउन २४, २०७९

डोटी । सुदूरपश्चिम प्रदेशमा सवारी साधन दुर्घटनामा परि मृत्यु हुनेहरूको संख्या बर्सेनि बढ्दै गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार विगत तीन वर्षमा सवारी दुर्घटनामा परि मृत्यु हुनेहरूको संख्या ४६८ रहेको छ । दुर्घटनामा मृत्यु हुनेहरूमध्ये सवारी ज्यानमा ३८० र सवारीबाट भवितव्यमा परि ज्यान गुमाउने ८८ रहेका छन् ।

गत आर्थिक वर्षमा मात्रै सवारी दुर्घटनामा परि १८२ जनाको मृत्यु भएको छ ।  कैलालीमा मात्रै एक वर्षमा ६९ जनाको मृत्यु भएको छ । यस्तै, कञ्चनपुरमा २४, डोटीमा १०, बझाङ र अछाममा आठ/आठ जनाको मृत्यु भएको छ ।

बैतडीमा ६, बाजुरामा पाँच, डडेल्धुरामा चार र दार्चुलामा तीन जनाको सवारी साधन दुर्घटनामा परि मृत्यु भएको प्रदेश प्रहरी कार्यालयको तठ्ठ्याङ्कमा उल्लेख छ ।

गत आर्थिक वर्षमा कैलालीमा १६, कञ्चनपुरमा १३, बैतडीमा ६ र बझाङमा चार जनाको सवारीबाट भवितव्यमा परि मृत्यु भएको थियो ।

सवारीबाट भवितव्यमा परि मृत्यु हुनेहरूमा डोटीमा तीन, अछाम, डडेल्धुरा र दार्चुलामा एक/एक जना पनि रहेका छन् । गत आर्थिक वर्षमा बाजुरामा भने सवारीबाट भवितव्यमा परि कसैले ज्यान गुमाउनु परेको छैन ।

आर्थिक वर्ष ०७७/०७८ मा सवारी ज्यानमा १२५ र सवारीबाट भवितव्यमा परि २३ गरि १४८ को मृत्यु भएको छ।

०७७/०७८ भन्दा ०७८/०७९ मा सवारी दुर्घटनामा परि मृत्यु हुनेको संख्यामा करिब १९ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

आर्थिक वर्ष ०७६/०७७ मा सवारी दुर्घटनामा परि मृत्यु हुनेहरूको संख्या १३८ रहेको थियो । सो अवधिमा सवारी ज्यानमा परि ११८ र सवारीमा भवितव्यमा परि २० जनाको मृत्यु भएको तथ्याङ्क छ । ०७६/०७७ भन्दा ०७७/०७८ मा करिब ७ प्रतिशत बढीको मृत्यु भएको थियो ।

सवारी दुर्घटना बढ्नुमा मुख्य कारण चालकको लापरबाही देखिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोला भट्ट बताउँछन् । ‘आफ्नै परिवारका सदस्यहरू गाडीमा भएका बेलासमेत चालकले मदिरा सेवन गरेर चलाउँछन्’ भट्ट भन्छन् ‘अधिकांश घटनाहरूमा चालकको लापरबाहीकै कारण भएको अनुसन्धानबाट देखिन्छ ।’

उनले सुदूरपश्चिममा बाटोको अवस्थाका कारण पनि सवारी दुर्घटना हुने गरेको बताए । साँघुरो बाटो, साना मोडहरू पनि दुर्घटना बढ्नुको कारण भएको प्रहरी नायब उपरीक्षक भट्ट बताउँछन् ।

क्षमताभन्दा बढी यात्रु बोक्नु, सवारीको अवस्था राम्रो नहुनु र यात्रुहरूले पनि सवारी नियमको पालना नगर्नुले पनि सवारी दुर्घटना हुने गरेको भट्टको बुझाय छ ।

स्रोत: https://www.onlinekhabar.com/2022/08/1170531

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More