News

सुन्दर बस्तीका एक्ला अभियन्ता

May 02, 2017

Nagarik News, Shankar Shresths, 2nd May 2017, Dhading

धादिङबेसीबाट ५ किलोमिटर दूरीमा अवस्थित ढोला गाउँ पुग्दा चिटिक्क परेको बस्ती देखिन्छ। बस्तीमा सुन्दर तथा भूकम्पप्रतिरोधी ५५ घर छन्। उत्तरी धादिङका विकट लापा तथा कपुरगाउँका भूकम्पपीडितले त्यहाँ बसोबास सुरु गरिसकेका छन् ।

 उस्तै वनावटका आकर्षक ती घर हेर्दा सुरुमा लाग्छ– पक्कै, सरकारी निकायले पीडितलाई घर बनाइ दिएको हुनुपर्छ। तर, वास्तविकता त्यस्तो छैन। धादिङको दुर्गम रुबीभ्याली गाउँपालिका–५, कपुरगाउँका एक युवकको अदम्य साहस र समर्पणभावले यो बस्ती निर्माण सम्भव भएको हो।

बस्ती निर्माण कार्यका एक्ला अभियन्ता ३६ वर्षीय दिनेश तामाङको कारणले पीडितले बास पाएर राहत महसुस गरेका छन्। उनीहरू भन्छन्, 'दिनेश त हाम्रा लागि 'भगवान'सरह हुन्।'  दिनेशको एकल प्रयासमा तयार पारिएका  घर  विकट गाउँका भूकम्पपीडितलाई हस्तान्तरण गरिएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले तीन साताअघि भूकम्पपीडित परिवारलाई ती घर हस्तान्तरण गरे।  विपन्न आर्थिक अवस्था भएका पीडितले घर पाउँदा अत्यधिक खुसी लागेको उनको भनाइ छ। 

२०७२ साल वैशाख १२ को विनाशकारी भूकम्प गएको दिन दिनेश  सिन्धुपाल्चोक, नवलपुरमा थिए।  उनी त्यसबेला शिखरापुर एकेडेमीमा हेल्थ असिस्टेन्ट (एचए) पढिरहेका थिए। एचए अध्ययनरत विद्यार्थीलाई त्यहाँ स्थलगत भ्रमणका लागि लगिएको थियो। स्थानीय हेल्थ पोष्टमा भोलिपल्ट (वैशाख १३) तालिम चलाउनका लागि उनीलगायत साथीहरू होटलभित्र बसेर तयारी गरिरहेका थिए।

अचानक होटल बेस्सरी हल्लिन थाल्यो। कसोकसो गरेर दिनेश बाहिर आएर ज्यान बचाउन सफल भए। १९ जनाको टोलीमध्ये २ जनाले त्यही घरमा पुरिएर प्राण गुमाए। बाँकी १६ घाइते भए। उनले घाइते अस्पताल पुर्‍याए। 'मेरो दिन आएको रहेनछ, त्यही भएर म बाँचेँ,' उनी सम्भि्कन्छन्, 'नाफाको जीवन समाजसेवामा बिताउने सोच छ।'

काठमाडौंमा रहेका श्रीमती र दुई छोराछोरी सकुशल रहेको थाहा पाएर उनी केही ढुक्क भए पनि उत्तरी धादिङको विकट कपुरगाउँमा रहेकी बुढीआमा तथा आफन्त सम्भि्कएर चिन्तित भए।

भोलिपल्ट उनी उद्धार टोलीसहित कपुरगाउँ हिँडे। सदरमुकाम धादिङबेसीबाट ६ घन्टा मोटर अनि दुई दिन हिँडेपछि मात्र गाउँ पुगिन्छ। गाउँ पुग्ोपछि उनलाई थाहा भयो–उनका दाइ, भिनाजु, ज्वाइँ र भतिजी भूकम्पले भत्काएको घरमा पुरिएछन्।  धन्य भगवान, उनकी आमालाई केही भएनछ। 'घरमा पुरिएर कतिपयको ज्यान गएको थियो। गाउँमा रुवाबासी थियो, घाइतेको उद्धार, उपचार तथा राहत सामग्री वितरणमा कैयौं दिन खटिएँ,' उनी भन्छन्।

आमालगायत अन्य घाइतेलाई उनले हेलिकप्टरमा धादिङबेसी ल्याएर उपचार गराए। कोहीसँग राहत सामग्री मागे, कोहीसँग हेलिकप्टरको भाडाका लागि हात फैलाए। एमएमएफ नामक संस्थासँग मिलेर उनले उत्तरी धादिङका सेर्तुङ, लापा र तिप्लिङ गाउँमा १८ पटक राहत सामग्री पुर्‍याए।

भूकम्पपीडितले प्राण धान्नका लागि खाना तथा टाउको लुकाउने ओत नपाउँदा उनको मन खिन्न हुन्थ्यो। खुला आकाशमुनि बालबालिका तथा वृद्धवृद्धाको बिचल्लीले उनलाई पीडा महसुस हुन्थ्यो। 'ओहो, पीडितका लागि मैले बासको तत्काल अस्थायी र पछि स्थायी व्यवस्था गर्नुपर्छ,' उनी मनमनै सोच्थे। संकटको बेलामा उनको मनमा पलाएको सोचले बल्ल केही दिनअघि मूर्त रूप पाएको होे।

भूकम्पपीडितका लागि बस्ती बनाउन उनले चिनजानका साथीभाइसँग सहयोग माग्न थाले। आफूले चिनेकामध्ये अमेरिकन नागरिक डाक्टर जर्ज बर्गिजकहाँ पुगे। गाउँमा स्वास्थ्य सेवा केन्द्र  बनाउँदा पनि वर्गिजले सहयोग गरेका थिए। त्यति बेलादेखि दिनेश र बर्गिजको सम्बन्ध राम्रो थियो। बर्गिजलाई भेटेर आफ्नो गाउँ र गाउँलेको हालत सुनाए।

 'त्यसबेला गाउँको अवस्था देख्दा अब  बस्न सकिन्छ भन्ने लागेन। वर्षाको समयमा धाँजा फाटेका जमिन र गाउँको चारैतिरबाट झरेको पहिरोबारे सरकारलाई सुनाए पनि वास्ता गरेन,' उनले भने। गाउँका भूकम्पपीडितको दुर्दशाको भिडियो उनले चाइल्ड हेभन इन्टरनेसनलकी बोनी क्यापिचिनालाई देखाए। क्यापिचिना अनाथ बालबालिका र महिलाका क्षेत्रमा काम गर्ने क्यानडेली संस्थामा काम गर्थिन्। दिनेशसँग भएको भिडियो र फोटो हेरेपछि क्यापाचिना सहयोग गर्न तयार भइन्। तत्काल उनले १५ लाख रुपैयाँ सहयोग उपलब्ध गराइन्।

त्यसपछि दिनेशले कपुरगाउँका २६ परिवारलाई गाउँबाट ल्याएर ढोलाको तल्लो आलेमा त्रिपालको अस्थायी टहरा बनाइदिए। उनले खानाको व्यवस्था पनि मिलाइदिए। फेरि, क्यापिचिनाले क्यानाडाबाट १४ लाख रुपैयाँ पठाइदिइन्। त्यस रकमले ढोलाको भुवालेपानी र आलेगाउँमा पीडितका लागि ३८ रोपनी जग्गा किने। त्यसपछि उनले लापाका २९ भूकम्पपीडित परिवारलाई त्यहीँ डाके।

स्पनेकी कीर्तिमानी आरोही इडुर्ने पासावनको संस्था माउन्टेनर फर हिमालयज अर्गनाइजेसनले १ लाख १० हजार युरो दिएपछि घर निर्माणकार्य अगाडि बढ्यो। दिनेश सहयोगका लागि काठमाडौंस्थित सेतो गुम्बा पुगे। घर बनाउने योजना सुनेपछि गुम्बाका रिम्पोछेले पुनर्निर्माणमा लाग्ने सबै सामाग्री किनिदिने वाचा गरे। बस्तीका भूकम्पपीडितले घर बनाउन श्रमदान गरे।

गत चैत अन्तिम साता ५५ परिवारका लागि घर तयार भयो। बस्ती बनाउन सेतो गुम्बाअन्तर्गत 'राङज्युङ येशे सेनफेन' स्पेनको माउन्टेनियर्स फर हिमालयज फाउन्डेसन, द स्याल्वेसन आर्मी, चाइल्ड हेवेन इन्टरनेसनल क्यानडा/नेपाललगायत संस्थाले सहयोग गरे।

 बस्तीमा अधिकांश बौद्ध धर्मावलम्बी भएकाले प्रवेशद्वारमै एउटा गुम्बा निर्माण गरिएको छ। त्यहाँ उपचारका लागि सामुदायिक स्वास्थ्य विन्दु सञ्चालन गरिएको छ भने बालबालिकाका लागि छुट्टै सामुदायिक अध्ययन केन्द्र स्थापना गरिएको छ। कपुर गाउँ र लापाका ५५ परिवार पीडित परिवार त्यही सुन्दर बस्तीमा बसेका छन्। 

 

को हुन् दिनेश?

दिनेश धादिङ जिल्लाको सबैभन्दा विकट रुबीभ्याली गाउँपालिका–५, कपुरगाउँमा जन्मिएका हुन्। उनी बाबु कर्णबहादुर तामाङ र आमा सिरिमायाका जेठो छोरा हुन्।

लापाको कपुरगाउँ र आसपासमा माध्यमिक तह पढाइ हुने विद्यालय थिएनन्। माध्यमिक तह पढ्न उनी दुई दिन हिँडेर सत्यवेदी आउनुपर्थ्याे। गरिब र विपन्न परिवारका दिनेशलाई बुबाले जसोतसो गरी डेरा खोजेर पढ्न राखिदिए। २०५४ सालमा सत्यदेवीको बच्छला माविबाट उनले एसएलसी पास गरे।

गरिबीका कारण तत्काल उच्चमावि पढ्न सकेनन्। एसएलसीको सर्टिफिकेटले तत्काल जागिर पाउने अवस्था थिएन। त्यतिबेला उनले गाउँको शिक्षा र स्वास्थ्यको स्थिति राम्रोसँग बु‰ने मौका पाए। गाउँका साथी भेला गरेर उनले नमस्ते युवा क्लब गठन गरी चेतनामूलक सन्देश फैलाउन थाले। त्यहीँबाट सुरु भयो उनको समाज सेवाको यात्रा।

 गाउँ नजिक स्वास्थ्यचौकी थिएन। बिरामी पर्दा स्वास्थ्यचौकी जानुपर्छ भन्ने चेतना पनि थिएन गाउँलेमा। झारफुक र जडिबुटिको भर पर्दा अकालमा ज्यान गुमाएको घटना उनले पटक–पटक देखे। 'पाठेघर समस्याले गर्दा आमाले अकालमै ज्यान गुमाएको दृश्यले मलाई पिरोल्थ्यो,' उनी सम्भि्कन्छन्। 

केही समयपछि उनले नमस्ते क्लबलाई नमस्ते ग्रामीण विकास समाजमा रुपान्तरण गराए। युएमएन नामक संस्थासँग समन्वय गरेर गाउँमा 'सिकाइ चौतारी कार्यक्रम' सुरु गरे ।

 चाइल्ड हेवेन इन्टरनेसनल क्यानडा/नेपालको सहयोगमा गाउँमा पाठेघर अपरेसन शिविर आयोजना गरियो। त्यसबाट महिला लाभान्वित भए।

दाताको सहयोगमा २०६९ सालमा लापाको तिम्ला निमाविमा ६ कोठे पक्की भवन ठड्याए। यसको लागि कादुरी र वाग्मती वेलफेयरले सहयोग गर्‍यो। उनले कपुरगाउँमा तिम्ला बालविकास केन्द्र स्थापना गरे।

एसएलसी पास गरेको २० वर्षपछि उनी दाताको सहयोगमा हेल्थ असिस्टेन्ट भर्ना भएर उनले पढाइ पूरा गरेका छन्। श्रीमती तथा एक छोरा र एक छोरीसहित काठमाडौं बस्दै आएका उनी १५ वर्षदेखि समाजसेवामा समर्पित छन् ।

उनले दुर्गम गाउँका कैयौं महिला तथा पुरुषलाई स्वास्थ्य सेवा दिइसकेका छन्।  पाठेघर समस्याले पीडित गाउँका महिलाको समेत उनले उपचार गराएका छन्। उनकै पहलमा लापामा स्वास्थ्य सेवा विन्दु, तिम्ला माविको भवन, तिम्ला सामुदायिक अध्ययन केन्द्र निर्माण भइसकेका छन्। 

Source: http://www.nagariknews.com/news/19188/