सुर्ती आयात बढ्यो

June 09, 2017

रितेश त्रिपाठी, नागरिक दैनिक, २४ जेठ २०७४ 

वीरगन्ज – सुर्तीजन्य उत्पादनमा कच्चा पदार्थको रुपमा प्रयोग हुने सुर्तिको आयात बढेको छ। नेपालमा मुख्य रुपमा चुरोट, तयारी सुर्ती र गुट्खा लगायत उत्पादनमा सुर्तीको खपत छ । यसपाली वीरगन्ज नाका भएर आयात हुने सुर्तीको पैठारी ४९ प्रतिशतले बढेको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार अर्थात चालु आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा डेढ गुणा सुर्ती आयात बढेको हो । 

कार्यालयको तथ्यांक अनुसार ५९ लाख १९ हजार ४ सय ७५ किलो सुर्ती यो वर्ष साउनदेखि वैखाशभित्र आयात भएको छ । पोहोर यस्तै अवधीमा ३९ लाख ५५ हजार ७ सय ७९ किलो सुर्ती यस नाका भएर आयात भएको थियो । ‘चुरोट उत्पादक सूर्य नेपाल र अरु सुर्ती जन्य पदार्थ उत्पादन गर्ने साना उद्योगहरुको सुर्ती यहाँ भएर आयात हुने गरेको छ,’ वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सेबन्तक पोखरेलले भने ‘कच्चा पदार्थको रुपमा प्रयोग हुने सुर्ती नै मुख्य रुपमा आयात भएर आउने हो ।’

सुर्तीमा अन्त शुल्कको दर उच्च रहेकोले यसमा भन्सारलाई राजश्व पनि राम्रो नै प्राप्त हुने गरेको छ । सबै गरेर मुल्यको करिब आधा अर्थात ५० प्रतिशतको हाराहारीमा सुर्तीबाट भन्सारलाई राजश्व आम्दनी छ । दुई अर्ब १२ करोड ८१ लाख २३ हजाको सुर्ती आयातमा भन्सारलाई भन्सार महसुल, अन्तशुल्क र मुल्य अभिवृद्धी कर गरी १ अर्ब ६ करोड ८० लाख २५ हजार रुपैया राजश्व प्राप्त भएको छ । पोहोर १ अर्ब ४४ करोड ३२ लाख २८ हजार रुपैया बराबरको सुर्ती आयात गर्दा ६८ करोड ८६ लाख ३२ हजार रुपैया राजश्व प्राप्त भएको थियो । 

मुल्यको हिसाबले सिंगै पात सहितको सुर्तीमा १५ प्रतिशत र धुलो सुर्तीमा ३० प्रतिशत भन्सार महसुल लाग्ने गरेको छ । त्यसतै मुल्य अभिवृद्धी कर पनि मुल्यमा १३ प्रतिशत लाग्ने हो । अन्तशुल्क भने परिमाणमा लाग्ने गरेको छ । चुरोट बनाउने सुर्तीमा प्रतिकिलो २ सय ५ रुपैया र चुना हालेर सेवन गर्ने सुर्तीमा २ सय ५३ रुपैया प्रतिकिलो अन्तशुल्क लाग्ने गरेको छ । 

स्रोत: http://www.nagariknews.com/news/21405/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More