निर्दोष घोरसाइने, अन्नपूर्ण, कार्तिक २२, २०७६
काठमाडौं : बजार माग घटेसँगै सवारीसाधनको आयात घटेको छ। भन्सार विभागकाअनुसार चालु आवको पहिलो त्रैमासमा झन्डै २९ प्रतिशतले सवारीसाधनको आयात घटेको हो। चालु आवको पहिलो त्रैमासमा २४ अर्ब चार करोड रुपैयाँ बराबरको सवारीसाधन आयात भएको छ।
अघिल्लो आवको सोही अवधिमा ३३ अर्ब ८५ करोड रुपैयाँबराबरको सवारी आयात भएको थियो। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सचिव अनुपकुमार बरालले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजीको अभावले कर्जा प्राप्ती असहज हुँदा सवारी बिक्री घटेको बताए। नेपालमा मात्र नभई विश्व बजारमै सवारीको बिक्री घटेको छ। विश्व अर्थतन्त्रमा आर्थिक मन्दी देखिएको छ। यसको असर सवारीसाधन बिक्रीमा पनि देखिएको हो।
‘सवारी साधन बिक्रीका लागि ल्याउने हो। बजार माग कम छ। स्टक राख्न मात्र सवारी भिœयाइँदैन’, बरालले भने, ‘मागका आधारमा सवारी भिœयाउने हो।’
नेपालमा नाडा अटो सोदेखि चाडपवमा अटोबजार चलायमान हुन्छ। अटो क्षेत्रको कुल बजार हिस्सामध्ये ३५ देखि ४० प्रतिशत बिक्री यस अवधिमै हुन्छ। ग्राहक आकर्षित गर्न विभिन्न योजनासहित नयाँ कार भिœयाउने गर्छन्। ग्राहक पनि रकम जोहो गरेर यही समयमै खरिद गर्छन्। नाडा अटो सोसँगै अटो बजारमा रौनक छाउने अपेक्षामा व्यवसायी थिए। अघिल्लो वर्ष अटो सोपछि बजार चलायमान भएको थियो।
गत वर्ष निजी सवारीसाधनलाई अनुत्पादक तथा विलासी वस्तु भन्दै नेपाल राष्ट्र बैंकले कठोर नीति लिएपछि सवारीसाधनको बिक्रीमा कमी आएको थियो। राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा निजी सवारीसाधनमा ऋण प्रवाह गर्दा सवारी मूल्यांकनको अधिकतम ५० प्रतिशतमात्र लगानी गर्न पाउने व्यवस्था गरेपछि निजी सवारीसाधनको बिक्री घट्ने क्रम सुरु भएको थियो।
अटोमोबाइल्स क्षेत्रमा सरकारले प्रष्ट नीति ल्याउन नसकेकाले बजारमा समस्या देखिएको बरालले बताए। यसलाई विलासिताको साधनका रूपमा हेर्ने गरिए पनि उपभोक्ताको आवश्यकता भइसकेको छ।
बैंकले कर्जा प्रक्रियालाई कडाई गर्दा यसको प्रत्यक्ष असर निजी सवारी खरिदमा परेको छ। निजी सवारी खरिदमा ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्छ। कर्जाको प्रभाव व्यावसायिक प्रयोजनका सवारीमा भन्दा सरकारले अटोमोबाइल्सको कर्जा कस्दै लगेको छ। यसको प्रभाव प्यासेन्जर कारमा देखिएको छ। ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्छ। ‘दुई वर्ष अघिसम्म ६ लाख डाउन पेमेन्टमा इन्ट्रिलेभलको कार चढ्न सकिन्थ्यो। अहिले ११ लाख रुपैयाँभन्दा धेरै रकम बुझाउनुपर्छ’, उनले भने, ‘धेरै व्यवसाय उधारोमै चलेको छ। बजारमा रकमको सहज प्रवाह नहुँदा समस्या देखिएको हो।’
सवारी खरिद गर्ने धेरै ग्राहक व्यापार व्यवसायमै संलग्न छन्। एक मुष्ट धेरै रकम बुझाएर सवारी खरिद गर्नुभन्दा ग्राहकलाई उक्त रकम व्यवसायमै लगाउँदा फाइदा हुने देखिन्छ। बिक्रीको चाप नहुँदा सवारी भिœयाउन सकस भइरहेको छ। पछिल्लो समय भारतमा उत्पादन हुने सवारीको मूल्य पनि बढेको छ। सवारीको भारतीय मापदण्ड अपग्रेड हुन लागेको छ। यसले सवारीको मूल्य वृद्धि भएको छ। महँगोमा सवारी खरिद गर्न ग्राहकलाई समस्या छ। नगदमा सवारी खरिद गर्ने ग्राहक कम हुन्छन्। बैंकको ब्याजदर स्थिर नहुँदा ग्राहक कर्जा लिएर सवारी खरिद गर्न सकस छ।
नेपालमा भित्रिने अधिकतम सवारी भारतमा उत्पादन हुन्छन्। नेपाली बजारको ठूलो हिस्सा ओगटेका मारुती सुजुकी, हुन्डाई, टाटा, महिन्द्रा, फोर्ड, जिप, ड्यासन, निसान, रेनो, कियालगायत धेरै सवारी भारतमै उत्पादन हुन्छ। भारत सरकारले सवारी प्रदूषण न्यूनीकरण गर्न प्रदूषण मापदण्ड बढाउने तयारी गरेको छ। हाल भारत स्ट्यान्डर्ड ४ (बीएस-४) लागू छ। नेपालमा युरो फोर मापदण्ड छ। यसलाई नेपाल सवारी प्रदूण मापदण्ड २०६९ भनिन्छ। विश्वका धेरै मुलुकले यूरो स्ट्यान्डर्डलाई मान्यता दिने गरेका छन्। त्यसैलाई आधार मानेर विभिन्न देशले सवारी मापदण्ड तयार गर्छन्।
बढ्दो सवारी प्रदूषणलाई न्यूनीकरण गर्न भारतले बीएस-६ मापदण्ड ल्याउन लागेको हो। बीएस-४ को तुलनामा बीएस-६ युक्त सवारीको मूल्य धेरै हुन्छ। भारतमा उत्पादन हुने धेरै कम्पनीले बीएस-४ का सवारी उत्पादन बन्द गरिरहेका छन्। यसले गर्दा भारतीय बजारमा सवारीसाधनको मूल्य बढेको छ। त्यसको प्रभाव नेपालमा पनि देखिएको छ।
बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्दा भारतले सवारीसाधनमा स्पिड अलर्ट सिस्टम, एबीएस, रिभर्स पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर, एयरब्यागलगायत सुरक्षा फिचर अनिवार्य गरेको छ। चालकतर्फ मात्रै भने पनि एयरब्याग हुनुपर्ने व्यवस्था गरेको छ। यसका अलावा सेन्टर लकिङ सिस्टम, क्र्यास टेस्ट परीक्षणजस्ता सुरक्षा संवेदनशील विषयलाई कडाईका साथ लागू गरेको छ। सुरक्षा फिचर थप हुँदा सवारीको मूल्य बढ्न गएको छ।
नेपालमा भित्रिने सवारीमध्ये करिब ८० प्रतिशत हिस्सा भारतमै उत्पादन हुने सवारीकै छ। मूल्य बढेकाले तत्काल सवारी खरिद गर्ने योजना रहेका ग्राहक पछि हट्न बाध्य छन्।
रोयटर्सका अनुसार बेलायतको सोसाइटी अफ मोटर्स एन्ड ट्रेडर्स (एसएमएमटी)का अनुसार सन् २०१९ को पहिलो नौ महिनामा करिब एक लाख २२ हजार २५६ सवारीसाधन उत्पादन भएको छ। यो पछिल्लो वर्षको तुलनामा १५.६ प्रतिशत कम उत्पादन हो। भारतमा प्यासेन्जर कारको बिक्री घट्दो क्रममा छ। सन् २०१८ र सन् २०१९ सेप्टेम्बरमा कारको बिक्री २३ प्रतिशतले घटेको छ। मारुती सुजुकी २४.८१, हुन्डाई १४.८१, महिन्द्रा ३३.०६, टाटा ५६.०६, होन्डा कार ३७.२४ र टोयोटा १८.४५ प्रतिशतले घटेको रिपोर्ट इकोनमिक टाइम्समा प्रकाशित छ।
अन्तर्राष्ट्रिय बजार अटोमोबाइल्स क्षेत्रमा छाएको मन्दीको प्रभाव नेपालमा पनि देखिएको छ। यस्तै सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिएको छ। विद्युतीय सवारीमा एकदेखि १० प्रतिशत मात्र भन्सार शुल्क लगाइन्छ। भ्याटसहित कम्पनी मूल्यभन्दा २४ प्रतिशत बढीमा विद्युतीय सवारी खरिद गर्न सकिन्छ। विद्युतीय सवारी खरिद गर्नेलाई बैंकले ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउँछ। त्यसैले अहिले नयाँ सवारी खरिद गर्ने योजनामा रहेका ग्राहक केही समय पर्खेर विद्युतीय सवारी खरिद गर्ने योजनामा छन्। हाल विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रीका कारण यसको बजार मूल्य बढी छ। मूल्यकै कारण विद्युतीय सवारीप्रति ग्राहकको आकर्षण बढ्न सकेको छैन। सरकारी रवैया, ब्याजदर, लगानीयोग्य पुँजी र सवारीको मूल्यले बिक्रीमा प्रभाव परेको देखिएको हो।
लक्ष्मी इन्टरकन्टिनेन्टलका सञ्चार तथा बिक्री प्रमुख आवसिस ओझाका अनुसार चाडपर्वको अपेक्षाकृत रूपमा बजार बढ्न नसकेको बताए। ‘सवारी बिक्री गत वर्षकै हाराहारीमा छ। नयाँ ग्राहक बढ्न सकेका छैनन्’, ओझाले भने, ‘अपग्रेड हुन चाहने ग्राहक हो।’ चाडपर्वको अवसरमा अघिल्ला वर्षजस्तो उत्साह नदेखिएको उनको भनाइ छ।
नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यो अवधिमा चार सय ३६ युनिट सवारी बिक्री गरेको छ। कम्पनीका अनुसार यो गत वर्षको सोही अवधिको तुलनामा तीन प्रतिशत वृद्धि भएको छ। टाटा एच ५ र टाटा नेक्सनमा ग्राहकको आकर्षणले गर्दा बिक्रीमा सुधार देखिएको हो। तर, अन्य सवारीको बिक्री भने सुस्त रहेको सिप्रद्धीका अधिकारी बताउँछन्।
नेपालका लागि फोर्डको आधिकारिक विक्रेता फोर्ड गो अटोमोटिभ प्रालिका अनुसार गत वर्षको तुलनामा बजार सुस्त देखिएको छ। महिन्द्राको चारपांग्रे सवारीको आधिकारिक विक्रेता अग्नि ग्रुपले पनि सवारीको बिक्रीमा कमी आएको जानकारी दिएको छ।
ड्याटसनको आधिकारिक वितरक पायोनियर मोटोकर्पले चाडपर्वकै अवधिमा सवारी बिक्री बढेको जानकारी दिएको छ। भर्खरै बजारमा आएको ड्यासन गोले सवारी बिक्री बढाउन मद्दत गरेको कम्पनीले जानकारी दिएको छ। अन्य सवारीको बिक्री सुस्त नै छ।