सेयर बजारमा निर्वाचनको असर न्यून

May 25, 2017

Karobar Daily, Bhuwan Poudel, 25th May 2017, Kathmandu

२०५४ को स्थानीय निकाय निर्वाचन २ सयको हाराहारीमा रहेको सेयर बजार २०५६ को संसदीय निर्वाचनपछि २०५८ मा ५५० को नजिक पुग्यो ।  

२०६४ चैतमा संविधानसभाको पहिलो निर्वाचनपछि सेयर बजार परिसूचकले २०६५ भदौ १५ मा ११७५ को नयाँ उचाइ बनायो ।२०७० मंसिर ४ को दोस्रो संविधानसभा हँुदा ६ सयको हाराहारीमा रहेको परिसूचक २०७३ साउन १२मा १८८१ सम्म पुग्यो । 

धितोपत्र बजार परिसूचकले नयाँ उचाइ बनाउने आधारको रूपमा देखिएको निर्वाचनले यसपटक भने लगानीकर्तामा उत्साह ल्याउन सकेको छैन । निर्वाचनपछि घटेको सेयर बजार प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामाको चर्चासँगै सामान्य मात्रैले बढेको छ । 

मंगलबार दोहोरो अंकले बढेको परिसूचक बुधबार कारोबार सुरु भएदेखि घट्न थालेको थियो । प्रधानमन्त्री दाहालले राजीनामा दिने निश्चित भएपछि कारोबारको अन्तिम समयमा सेयर बजार बढेर बन्द भएको छ । प्रधानमन्त्रीको राजीनामालाई सेयर बजारले केही रेस्पोन्स गरे पनि स्थानीय तह निर्वाचनलाई खासै वास्ता गरेको पाइँदैन । 

निर्वाचनलाई मात्र आधार मानेर सेयर बजारलाइ हेर्दा हालसम्म निर्वाचनपछि नयाँ उचाइ निर्माण भएको इतिहास छ । तर, सेयर बजारमा कारोबार हुने कम्पनी तथा अर्थतन्त्रको मेरुदण्डको दृष्टिकोणवाट सेयर बजारलाई प्रभाव पर्ने तत्वहरू अन्य धेरै हुन्छ ।

समान्यतया चुनावको समयमा कालो धन आर्जन गरेका नेताहरूले कार्यकर्ता परिचालन प्रयोजनका लागि बाहिर निकाल्ने समयको रूपमा बुझ्ने प्रचलन छ । र त्यो पैसा सेयर बजारमा लगानीको रूपमा आउने विश्लेषण पनि गरिन्छ ।

तर, पछिल्लो समयमा सेयर बजार राजनीतिक घटनाक्रमलाई आधार बनाएर भन्दा पनि स्वतन्त्र रूपमा चल्न थालेको देखिन्छ । राजनीतिक घटनाक्रम भन्दा पनि अर्थतन्त्रका अन्य सूचकहरूले सेयर बजारलाई सपोर्ट नगरेको खण्डमा वढ्ने आधार कमजोर हुने विश्लेषहरू बताउँछन् ।

हालको सेयर बजारमा निर्वाचनको परिणामभन्दा पनि समग्र आर्थिक अवस्थाले असर गर्ने उनीहरूको तर्क छ । 
विगतको क्रमलाई हेर्दा निर्वाचनपछि सेयर बजार बढ्ने भए पनि यसपटक त्यस्तो नदेखिएको अनलाइन सेक्युरिटिजका अनन्तकुमार पौड्याल बताउँछन् ।

चुनावले मात्र उत्साह हुनुभन्दा पनि अर्थतन्त्रका सूचकहरूको वास्तविक अवस्थालाइ पनि हेर्नुपर्ने उनको विश्लेषण छ । वित्तीय प्रणालीमा कर्जा लगानी गर्ने पुँजी अभाव भए पनि ब्याजदरमा आएको वृद्धिले सेयर बजारमा असर गरेको पौड्यालको तर्क छ ।

“सेयर बजार र वित्तीय प्रणालीको ब्याजदरबीच उल्टो सम्बन्ध हुने भएकाले ब्याजदर बढेकाले सेयर बजार घटेको हो,” उनले भने, “ब्याजदर बढ्नुसँगै सेयर बजारमा धितोपत्रको आपूर्ति पनि बढेको हुनाले बजार उत्साहित नदेखिएको हो ।” पछिल्लो समयमा महँगो ब्याजदरमा पनि सेयर कर्जा पाउने अवस्था नभएकाले पनि सेयर बजार घट्नमा थप मद्दत पुगेको उनको भनाइ छ ।  

सेयर बजार परिसूचक स्वतन्त्र रूपमा माग आपूर्तिको माध्यमवाट निर्धारण हुन थालेको लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले बताए । “अब राजनीतिक समस्यामा भन्दा पनि आफ्नै नियमित प्रक्रियामा चल्न थालेको हो,” पौडेलले भने, “बजारलाइ असर गर्ने घट्न क्रम पहिल्यै प्रतिक्रिया आउने भएकाले चुनाव भन्दा अघि नै बजार प्रभावीत भएको थियो ।” साथै सेयर बजारमा कालोधन आउने सन्दर्भमा नेताको पैसा र कालोधनसंगै सेयर बजारको  हुने सम्बन्ध नभएको उनले बताए ।

हाल वित्तीय प्रणालीमा पनि ४९ अर्ब तरलता रहेको समयमा बैंक वित्तीय संस्थाले सेयर धितो कर्जा कडाइ गरेको हुनाले पनि बजार प्रभावित भएको हो । सरकारले खर्च वढाउन पर्नेमा सरकारी धुकुटीमा जम्मा भएको पैसा वढेर २३९ अर्ब पुगेको छ । वित्तीय क्षेत्रको निक्षेपको व्याजदर वढेर १३ भन्दा माथि रहेको छ भने बचतमा समेत ब्याजदर वढेर ८ प्रतिशतसम्म पुगेको छ । 

Source: http://www.karobardaily.com/news/78890

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More