सेयर बजारमा १२ कम्पनी थपिए

April 24, 2017

Kantipur, Kantipur Report, 24th April 2017, Kathmandu

यो वर्ष सेयर बजारमा झन्डै एक दर्जन कम्पनी थपिएका छन् । ती कम्पनीहरूले प्राथमिक सेयर जारी (आईपीओ) गरी दोस्रो बजारमा सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका हुन् । ०७३ चैत मसान्तसम्म चारवटा जलविद्युत् कम्पनी, ३ वटा लघुवित्त संस्था, ३ वटा म्युचुअल फन्ड र एउटा विकास बैंक गरी ११ कम्पनी थपिएको नेप्सेले जनाएको छ । आर्थिक वर्ष ७२/७३ मा विभिन्न क्षेत्रका १५ कम्पनी थपिएका थिए । 

करिब एक दर्जन कम्पनी थपिए पनि अघिल्लो वर्षको तुलनामा नेप्सेमा सूचीकृत कम्पनी संख्या घटेर २ सय १२ मा झरेको छ । गत चैतमा नेप्सेमा सूचीकृत कम्पनी संख्या २ सय ३२ थियो । सूचीकृत कम्पनी बाहिरिएर संख्या घटेको नभए बैंक तथा वित्तीय संस्थाको मर्जर र एक्विजिसनले कमी आएको नेप्सेका प्रवक्ता मुरारी पराजुलीले बताए । राष्ट्र बैंकले मर्जर तथा एक्विजिसन नीति ल्याएपछि बैंक तथा वित्तीय संस्था घट्न सुरु भएको र पुँजी वृद्धिको निर्देशन आए पनि यो क्रम झनै बढेको उनले जनाए । 

राष्ट्र बैंकका अनुसार गत फागुनसम्ममा १ सय ३४ वटा बैंक तथा वित्तीय संस्था (घ वर्गका सहित) मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये ९१ वटा संस्थाको इजाजत खारेज भएर ४३ मा झरेको राष्ट्र बैंकले जनाएको छ । वित्तीय संस्थाको संख्या घटाएर तीनको पुँजीगत आधार र गुणस्तरमा सुधार गर्ने उद्देश्यले करिब पाँच वर्षअघि राष्ट्र बैंकले मर्जरसम्बन्धी नीति ल्याएको थियो । ‘वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको मर्जर/प्राप्ति नीति कार्यान्वयनपछि मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल हुने बैंक तथा वित्तीय संस्थाको संख्या बढदै गएको छ,’ फागुन महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनमा भनिएको छ । 

चालु आर्थिक वर्षमा नेप्सेमा सूचीकृत हुने जलविद्युत् कम्पनीहरूमा न्याग्दी ग्रुप पावर, दिव्यश्वरी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र अरुण कावेली पावर छन् । जसमध्ये ४८ लाख ८० हजार ६ सय ८० कित्ता, दिव्यश्वरीको २६ लाख ४० हजार कित्ता, खानीखोला हाइड्रोपावर ४६ लाख ५७ हजार १ सय ४३ कित्ता र अरुण काबेली पावरको १ करोड ५० लाख कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

यसैगरी, यो वर्ष नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था, आरएसडीसी लघुवित्तीय वित्तीय संस्था र सुर्योदय लघुवित्ती वित्तीय संस्था सेयर बजारमा प्रवेश गरेका छन् । नयाँ प्रवेशी सामुहिक लगानी कोषहरूमा एनएमबी म्युचुअल फन्ड, नबिल इक्विटी फन्ड र एनआईबीएल प्रगति फन्ड रहेको नेप्सेले जनाएको छ । 

यो वर्ष उल्लिखित ११ कम्पनीका गरी २५ करोड ५५ लाख ६५ हजार ८ सय २३ कित्ता प्राथमिक सेयर सूचीकृत भएका छन् । 

हाल नेप्सेले बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, वित्त कम्पनी, बिमा, उत्पादन तथा प्रशोधन, व्यापार (ट्रेडिङ) र ‘अन्य’ गरी ९ वटा समूहमा विभाजन गरी कम्पनी सूचीकृत गर्दै आएको छ । कुल कम्पनीमध्ये वित्तीय संस्था र बिमाको हिस्सा ८५ प्रतिशत छ । यसै कारण राष्ट्र बैंक र बिमा समितिको सानो नीतिगत परिवर्तनले पनि सेयर बजार धेरै प्रभावित हुँदै आएको छ । अर्थ मन्त्रालय, धितोपत्र बोर्डलगायतले वास्तविक क्षेत्रका कम्पनी भित्र्याउन धेरै पहल भइरहेको बताए पनि त्यो क्षेत्रका कुनै कम्पनी भित्रिएका छैनन् । भित्रिएका कम्पनीहरू पनि बाध्यात्मक कारणले आएका हुन् । हाल बैंक तथा वित्तीय संस्था, बिमा र जलविद्युत् कम्पनीहरूलाई स्थापनाको निश्चित समयपछि सर्वसाधारणका लागि अनिवार्य रूपमा सेयर निष्कासन गर्नुपर्ने कानुनी व्यवस्था छ ।



 Source; http://kantipur.ekantipur.com/news/2017-04-24/20170424084550.html



 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More