सुरेन्द्र काफ्ले, अन्नपुर्ण पोस्ट, १० पुष २०७४
काठमाडौंः स्थानीय तहमा चालु आर्थिक बर्षको पहिलो चार महिनामा विनियोजित बजेटको १५ प्रतिशत मात्रै बजेट खर्च हुन सकेको छ ।
संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयलले पहिलो चौमासिकको प्रतिवेदन सार्वजनिक गर्दै विनियोजित बजेटको १५ प्रतिशत मात्रै खर्च भएको जनाएको छ । आर्थिक वर्ष २०७४/०७५ को प्रथम चौमासिकका लागि विनियोजित ८२ अर्ब ५४ करोड, ३९ लाख ९३ हजार बजेट मध्ये १२ अर्ब ५३ करोड, ५५ लाख ६४ हजार बजेट मात्रै खर्च भएको मन्त्रालयका अनुगमन शाखाका प्रमुख बेदबहादुर कार्कीले जानकारी दिए ।
साउन यताको चार महिनामा विनियोजित ६९ अरब ९१ करोड ८४ लाख २९ हजार बजेट खर्च हुन सकेन । मुलुक निर्वाचनमा केन्द्रीत रहेको कारणले कार्यान्वयन तहमा भन्दा व्यवस्थापनमा लाग्नु परेकाले खर्च कम भएको मन्त्रालयले जनाएको छ ।
संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले निर्वाचनको कारणले कार्यान्वयन सन्तोषजनक नभएको भएर पनि निराशाजनक भने नभएको दाबी गरेका छन् । उनले केन्द्रीकृत मानसिकता, विषयगत ऐनहरुको अभाव, जनशक्ति व्यवस्थापन लगायतका कारणले स्थानिय सरकार सञ्चालन ऐन प्रभावकारी रुपमा कार्यान्वयन नभएको बताए ।
यसैबीच प्रथम चौमासिकमा सन्तोषजनक प्रगति हुन नसकेको विषयमा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीको उपस्थिति मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक बसेको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. सुनिलबाबु श्रेष्ठ, मन्त्रालयका सचिव थपलिया लगायतको उपस्थितिमा बसेको बैठकमा प्रथम चौमासिकमा बजेट खर्च हुन नसक्नुको कारणका बिषयमा गम्भीर छलफल भएको मन्त्रालयका प्रवक्ता जानुका सुवेदीले जानकारी दिइन् ।
त्यस अवसरमा मन्त्री चौधरीले प्रथम चौमासिकमा सन्तोषजनक प्रगति हुन नसकेको चिन्ता व्यक्त गर्दै आगामी दिनमा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।