स्थानीय तहमा पुगेन बैंकिङ सेवा

October 17, 2017

कान्तिपुर राष्ट्रिय दैनिक, ३१ आश्विन २०७४

नेपाल राष्ट्र बैंकले वित्तीय संस्थालाई स्थानीय तहमा केन्द्रित भएर सेवा प्रदान गर्न निर्देशन दिए पनि अझ गाउँगाउँसम्म बैंक पुग्न सकेका छैनन् । सुर्खेतका नौमध्ये पाँच स्थानीय तहमा अझै बैंक छैन । 

स्थानीय तह निर्वाचनपश्चात् अधिकार र कर्मचारी गाउँमा पुगे पनि सामान्य बैंकिङ सेवा लिन सदरमुकाम आउनुपर्ने बाध्यता अझै हटेको छैन । सेवाग्राही मात्र नभई कर्मचारी, जनप्रतिनिधिसमेत बैंक खोज्दै वीरेन्द्रनगर धाउनुपरेको छ । लेकबेंसी नगरपालिकाका प्रमुख गगनसिं सुनारले खाता खोल्न, भुक्तानी लिन, नगद भौचर लिनसमेत सदरमुकाम आउनुपरेको बताए । लेकबेंसी सदरमुकामसँग जोडिएको नगरपालिका हो । ‘सदरमुकाम धाएर सानोतिनो कामका लागि बैंकमा लाइन लाग्दै अनावश्यक समय खर्च हुने गरेको छ,’ उनले भने, ‘बैंकहरूले सरकारको निर्देशन त पालना गर्नुपर्ने हो ।’ उनले योजनाको भुक्तानी, सामाजिक सुरक्षा रकम लिन सदरमुकाम आउनुपरेको बताए । सुर्खेतका चौकुने, बराहताल, चिंगाड, सिम्ता र लेकबेंसीमा बैंकिङ सेवा छैनन् ।

चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले सामान्य कामका लागि सदरमुकाम आउनुपरेको बताए । ‘गाउँमा बैंक नहुँदा अफिसको खाता खोल्न वीरेन्द्रनगर आउनुपरेको छ,’ अध्यक्ष शाहीले भने, ‘बैंककै कामले कर्मचारीदेखि हामी जनप्रतिनिधिले अनावश्यक समय खर्चनुपरेको छ ।’ लक्ष्मी बैंक आउने भनिए पनि शाखा खोल्न चासो नदिएको उनले सुनाए । सिम्ता गाउँपालिकामा पनि एनआईसी र लक्ष्मी बैंकमध्ये एकले सेवा दिने भनिएको पनि सेवा विस्तार गर्ने सुरसार देखिएका छैनन् । सदरमुकाम रहेको नगरपालिका वीरेन्द्रनगरमा भने नेपाल बैंक, वाणिज्य बैंकका साथै डेढ दर्जन बैंक छन् । पूर्वी सुर्खेतका भेरीगंगा, गुर्भाकोट नगरपालिका र पश्चिमका पञ्चपुरी नगरपालिकामा मात्र बैंकिङ सेवा पुगेको छ । 

बैंक सेवा नहुँदा कर्मचारी र जनप्रतिनिधिलाई मात्र होइन, व्यवसायी, सर्वसाधारणलाई समेत मर्का परेको छ । जिल्लास्तरका कार्यालयहरू स्थानीय तहमा गाभिइसक्दासमेत बैंकले आफ्नो शाखा विस्तार गर्न ढिलाइ गरेको सरोकारवालाको गुनासा छ । ‘बैंकहरू नाफामुखी मात्रै हुँदा समस्या आएको छ । सरकारकै निर्देशन मान्न अटेरी गरिरहेका छन्,’ सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले भने, ‘बैंकको सामान्य कामका लागि तीन दिन खर्च हुने गरेको छ ।’ बैंक टाढा हुँदा एकैछिनमा सम्पन्न हुने काम धेरै दिन लाग्ने गरेको उनले सुनाए । जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले तोकिएका बैंकलाई सम्बन्धित तहमा शाखा विस्तार गर्न दबाब दिइरहेको बताए । 


स्रोत: http://kantipur.ekantipur.com/news/2017-10-17/20171017084011.html

तस्बिर स्रोत: http://www.newsofnepal.com/2017/02/06/10498/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More