News

स्मार्टफोन प्रयोगकर्ता १० प्रतिशतले बढे

March 12, 2018

सन्तोस न्यौपाने, नागरिक दैनिक, फाल्गुन २८, २०७४

काठमाडौं – मुलुकमा स्मार्ट मोबाइल फोन प्रयोगकर्ता तीव्र गतिमा बढिरहेको देखिएको छ । एक प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनीको पछिल्लो तथ्यांक अनुसार एक वर्षमा स्मार्ट मोबाइल फोन प्रयोगकर्ता १० प्रतिशतले बढेका छन्। 

निजी क्षेत्रको पहिलो मोबाइल सेवा प्रदायक एनसेलका प्रमुख लगानीकर्ता आजियाटाले निकालेको २०१७ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार उसका ग्राहकमध्ये ५२ प्रतिशतले स्मार्ट मोबाइल प्रयोग गरिरहेका छन् । गत वर्ष सन् २०१६ को अन्तसम्ममा यो संख्या ४२ प्रतिशत मात्र रहेको उसले २०१७, डिसेम्बर अन्तिम साता निकालेको तथ्यांकमा उल्लेख छ।

आजियाटाको वित्तीय विवरण अनुसार एनसेलका ग्राहक संख्या एक करोड ६४ लाख ३३ हजार पुगेका छन् । यो संख्यालाई ५२ प्रतिशतले हिसाब गर्दा एनसेलका ८५ लाख ४५ हजार एक सय ६० ग्राहकले स्मार्ट मोबाइल फोन प्रयोग गरिरहेको देखिन्छ।

आजियाटाको तथ्यांक अनुसार सन् २०१६ जुनसम्ममा उसका ग्राहकमध्ये ३६ प्रतिशतले स्मार्ट मोबाइल प्रयोग गर्थे । त्यसयता हरेक तीन महिनामा झन्डै तीन प्रतिशतका दरले स्मार्ट मोबाइल फोन प्रयोगकर्ता वृद्धि भइरहेका छन् । 

सन् २०१६ को दोस्रो त्रैमासिक विवरण अनुसार यो संख्या ३९ प्रतिशत रहेकोमा उक्त वर्षको अत्यसम्म आइपुग्दा तीन प्रतिशतले वृद्धि हुँदै ४२ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ । त्यसैगरी, सन् २०१७ को पहिलो त्रैमासिकमा ४४ प्रतिशत, दोस्रो त्रैमासिकमा ४७ प्रतिशत, तेस्रो त्रैमासिकमा ४९ हुँदै चौथो त्रैमासिकमा ५२ प्रतिशत पुगेको छ ।

आजियाटाको तथ्यांक अनुसार उसको सेवा सञ्चालन भएका देशमध्ये मलेसियामा ७४ प्रतिशत उसका ग्राहकले स्मार्टफोन प्रयोग गर्छन्  । त्यसैगरी, इन्डोनेसियामा ७२ प्रतिशत, श्रीलंकाका ५२ प्रतिशत र बंगलादेश २९ प्रतिशत उसका ग्राहकले स्मार्ट मोबाइल सेट बोक्ने पछिल्लोपटक निकालेको उसको तथ्यांकमा उल्लेख छ।  दूरसञ्चार सेवामा आएको नयाँ प्रविधि, इन्टरनेट सेवाको मागले गर्दा स्मार्टफोन प्रयोगकर्ताको संख्या उल्लेख्य वृद्धि हुँदै गएको छ ।  

मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँचका लागि स्मार्टफोन सबैभन्दा सरल र सुलभ माध्यम हो । मोबाइल सेवा प्रदायक कम्पनीहरूले डाटा सेवाको मूल्य घटाउँदै लानु, मागमा वृृद्घि र सस्तो मूल्यमा पनि स्मार्टफोन पाइन थालेपछि स्मार्टफोन बोक्ने ग्राहकहरू उल्लेख्य रुपमा बढेका हुन् । नेपाली बजारमा प्रत्येक दिन जस्तो विभिन्न ब्रान्डका नयाँ मोडलका मोबाइलहरू वा नयाँ ब्रान्ड आउने गरेका छन् ।
फोरजीको विस्तारसँगै स्मार्टफोन प्रगोगकर्ता थप बढ्दै गएका छन् । मोबाइल फोन आयातकर्ता संघ (एफपिआइए)ले पनि मुलुकभरमा झन्डै ५० प्रतिशत जनताले स्मार्टफोन प्रयोग गरेको र त्यत्ति नै संख्यामा स्मार्टफोनको थप बजार रहेको बताउँदै आएको छ। 

दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको डाटा खपतमा भएको उल्लेख्य वृद्धिले पनि स्मार्टफोन प्रयोगकर्ता तीव्र रुपमा बढ्दै गएको देखिन्छ । मुलुकको दूरसञ्चार क्षेत्रमा अग्रणी स्थानमा रहेको नेपाल टेलिकम र एनसेल दुवैले डाटा सेवाको प्रयोग तीव्र गतिमा बढ्दै गएको बताएका छन् । मुलुकमा ६ वटा मोबाइल सेवा प्रदायक कम्पनी सञ्चालनमा रहे पनि यी दुईको बजार हिस्सा ९८ प्रतिशतभन्दा धेरै छ।

आजियाटाको २०१७ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार वर्षभरमा एनसेलका ग्राहकले दुई करोड ७७ लाख जिबी डाटा प्रयोग गरेका छन् । यो २०१६ को जम्मा प्रयोगभन्दा एक सय ३० प्रतिशतले बढी हो । उसको वित्तीय विवरण अनुसार २०१६ मा कुल डाटा खपत एक करोड २० लाख जिबी थियो भने सन् २०१५ मा ५३ लाख जिबी थियो। 

बढ्दै गएको स्मार्टफोन प्रयोगले इन्टरनेटको प्रयोग बढेसँगै अन्तर्राष्ट्रिय कल गर्ने सुविधा भएका विभिन्न एप्सको प्रयोग बढेको छ । ह्वाट्सएप, भाइबर, इमो, स्काइप, म्यासेन्जर जस्ता एप्सको प्रयोगबाट अन्तर्राष्ट्रिय लामो दूरीको कल सेवा बढ्दै जाँदा मुलुकमा सञ्चालन भएका दूरसञ्चार कम्पनीहरूको यस्तो भ्वाइस कल घट्दै गएको बताएका छन्। 

टेलिकम कम्पनीहरूको कुल आम्दानीमध्ये अन्तर्राष्ट्रिय लामो दुरीको कलबाट ३० देखि ४० प्रतिशत हुने गरेकोमा अहिले यो आम्दानी ३० प्रतिशतभन्दा कम भइसकेको कम्पनीहरूले बताएका छन् ।

स्रोत: www.nagariknews.com/news/40436/