News

स्मार्ट सिटी बन्दै भेरी उपत्यका

November 29, 2017

कलेन्द्र सेजुवाल/नगेन्द्र उपाध्याय, नागरिक दैनिक, १३ मंसिर २०७४

गुर्भाकोट – ८० वर्षीया पूर्णकला पुनलाई दशकअघिको घटना सम्झिँदा अहिले पनि रिँगटा लाग्छ । नलागोस् पनि कसरी ! हेर्दाहेर्दै २४ जनाको ज्यान भेरी नदीमा बग्यो । थुप्रै व्यक्ति घाइते भए । ‘त्यो दिन सम्झिँदा त यतातिर फर्केर हेर्न मनै लाग्दैन,’ उनी भन्छिन्, ‘तर के गर्नु, अहिले यही ठाउँ प्यारो लाग्न थाल्यो।’

२०६४ पुस १० गते दिउँसो मेहलकुना–दहचौर जोड्ने झोलुंगे पुल दुर्घटनाकी यी साक्षीलाई अहिले भेरी नदीको त्यही किनार साँच्चिकै प्यारो लाग्न थालेको छ । यसको कारण हो– दुर्घटना स्थलमै एक सय ८० मिटर लामो पक्की पुल बन्नु । पुल बनेपछि उनले किनारामा तरकारी र फलपूmल पसल रोखेकी छिन् । यसले बुढेसकालको समय बिताउन सजिलोमात्र भएको छैन, दैनिक गर्जो टार्ने आम्दानी पनि जुटाएको छ । ‘हामीले यो ठाउँमा यस्तो राम्रो पक्की पुल बन्ला भन्ने त सपनामा पनि सोचेका थिएनौं,’ उनले भनिन्, ‘पुल बन्यो, खुसी लाग्यो।’

 

‘स्मार्ट सिटी’ को यात्रा तय गर्दै गरेको भेरी किनारमा विकास पूर्वाधारले पूर्णकलाको अनुहारमा मात्र होइन, उनीजस्ता थुप्रैको अनुहारमा चमक ल्याएको छ । २० वर्षभित्र सुन्दर सहर बसाल्ने सरकारी योजनाअनुसार भेरी नदीमा धमाधम पक्की पुल बन्न थालेका छन्।  

‘स्मार्ट सिटी’ को यात्रा तय गर्दै गरेको भेरी किनारमा विकास पूर्वाधारले पूर्णकलाको अनुहारमा मात्र होइन, उनीजस्ता थुप्रैको अनुहारमा चमक ल्याएको छ । २० वर्षभित्र सुन्दर सहर बसाल्ने सरकारी योजनाअनुसार भेरी नदीमा धमाधम पक्की पुल बन्न थालेका छन् ।  स्वास्थ्य, शिक्षा, सडकजस्ता विकासका पूर्वाधार निर्माणको गति तीव्र भएको छ । ‘हामीमा वास्तवमै विकासको भोक लागेको छ,’ गुर्भाकोटका मेयर हस्तबहादुर पुन भन्छन्, ‘यहाँका जनताको साथ र केन्द्रमा प्रतिनिधित्व गर्ने नेताको पहलमा विकासको गति तीव्र बनेको छ।’

हुन पनि भेडाबारीदेखि रामघाटसम्म करिब १५ किलोमिटर दूरीमा पाँचवटा पक्की पुल निर्माण प्रक्रियामा छन् । तीमध्ये मेहलकुना पुल र भेडाबारी पुलबीचको दूरी साढे एक किलोमिटरमात्र छ । अहिले मेहलकुना पुल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ भने भेडाबारी र रामघाट पुल निर्माण प्रक्रियामा छन् । चिप्ले र जहरेमा पुल निर्माणको प्रक्रिया सुरु भइसकेको छ । ‘नेपालका कुनै पनि ठाउँमा यति नजिक दूरीमा पक्की पुल बनेका छैनन्,’ वीरेन्द्रनगरस्थित डिभिजन सडक कार्यालय प्रमुख बेलबहादुर भुजेल भन्छन्, ‘सुर्खेतको भेरी किनार भने विकासका लागि भाग्यमानी भएको छ।’

भेरी किनार छिन्चु–जाजरकोट सडकको कारणमात्र होइन, पछिल्लो समय क्षेत्रीय र राष्ट्रिय स्तरका थुप्रै सडकको कारण समृद्ध बन्दैछ । धुलियाबिट–भेडाबारी–मालारानी हुँदै दाङ जोड्ने सडक भेरी उपत्यकाको दीर्घकालीन जीवनमा विकासको महत्त्वपूर्ण मेरुदण्ड हो । गुमी–पातिहाल्ना हुँदै राकमको चौर जोड्ने सडक भौगोलिक रुपमा विकट सिम्ता क्षेत्रलाई भेरी किनारसँग जोड्ने कडी बनेको छ । ‘उति बेला जहाँ गए पनि खुट्टाका पैताला खियाएर हिँड्थ्यौं, यस्तो पहाडमा गाडी गुड्ला भन्ने त कहिल्यै सोचेका थिएनौं,’ दहचौरका ८५ वर्षीय कलाधर शर्माले भने, ‘प्रजातन्त्र आयो, चुनाव भयो, नेतालाई जिताएर पठायौं, हेर्दाहेर्र्दै विकासको मूल फुट्यो ।’

पछिल्लो समय भेरी किनारमा समृद्धिको अर्को आधार भित्रिएको छ– भेरी करिडोर । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पूरक आयोजनाका रुपमा आएको चार अर्ब लागतको यो आयोजनाबाट किनारका बस्तीमा विद्युत्, सिँचाइ र खानेपानी पुर्‍याइनेछ । गुमीका शिक्षक नेत्रबहादुर नेगी भेरी करिडोरले स्मार्ट सिटी निर्माण प्रक्रियालाई टेवा पु¥याउने बताउँछन् । ‘भेरी–बबई डाइभर्सन त राष्ट्रको गौरव भइहाल्यो,’ उनी भन्छन्, ‘भेरी करिडोरले भने यहाँका जनतालाई समुन्नत बनाउनेछ।’

प्राथमिक स्वास्थ्य केन्द्रबाट स्तरोन्नति भएर बनेको २५ शड्ढयाको मेहलकुना अस्पताल भेरी उपत्यकाको विकासको अर्को पूर्वाधार हो । चारजना चिकित्सकसहितको अस्पतालले सानो स्वास्थ्य समस्या परे पनि वीरेन्द्रनगर वा नेपालगन्ज जानुपर्ने बाध्यताको अन्त्य गरेको छ । अब यो अस्पताल ५० शड्ढयाको बन्ने प्रक्रियामा छ । त्यसो भयो भने यसले पूर्वी सुर्खेतका साथै सल्यान, रुकुम र जाजरकोटका जनताको स्वास्थ्य समस्या पनि सम्बोधन गर्ने स्थानीयको भनाइ छ।
२०४८ (२०६४ र २०६९ बाहेक) देखि लगातार उक्त क्षेत्रबाट संसद्मा प्रतिनिधित्व गरेका पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का भेरी किनारका साथै पूर्वी सुर्खेत विकास पूर्वाधारका दृष्टिले हेर्नलायक ठाउँ बनेको बताउँछन् । ‘जनताको विकासप्रतिको चाहना र हाम्रो साझा प्रयासबाट यहाँ विकासका ठूल्ठूला धरोहर खडा भएका छन्, निर्माण प्रक्रियामा छन्,’ उनी भन्छन्, ‘हामी आप्mनो योजनाअनुसार अघि बढ्यौं भने यो क्षेत्र नेपालकै नमुना बन्नेछ।’

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ग्रामीण विकासका उपप्राध्यापक डिबी गुरुङ भेरी किनारमा भइरहेको विकास प्रक्रियाले निकट भविष्यमा सुन्दर सहर निर्माणको निश्चितता प्रदान गर्ने बताउँछन् । राजनीतिक नेतृत्वको दूरगामी दृष्टिकोणबाट आएको स्मार्ट सिटी अवधारणालाई जनताको सहभागितामा सम्पन्न गर्नुपर्ने उनको भनाइ छ । ‘विकासले कुनै पनि ठाउँलाई बस्नलायक बनाउँछ, जहाँ शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीजस्ता आधारभूत आवश्यकताको ग्यारेन्टी हुन्छ,’ उपप्राध्यापक गुरुङ भन्छन्, ‘भेरी उपत्यका अहिले गाउँबाट तीव्र गतिमा सहरमा रुपान्तरण हुँदैछ।’

स्रोत: http://www.nagariknews.com/news/31342/