स्याउको बजार खोज्दै जुम्ली

September 08, 2022

डीबी बुढा, सीमा तामाङ, कान्तिपुर, भाद्र २३, ३०७९

पछि बजारमा लगिए पनि भनेजति मूल्य नपाउने भन्दै रङ र गुलियो पस्नुअघि नै किसानले स्याउ टिप्न थाले, मूल्य अझै ५ वर्षअघिकै

जुम्ला, काठमाडौं — जुम्लाका किसानले बगैंचामा प्रतिकिलो ५० रुपैयाँमा स्याउ बेचिरहेका छन् । त्यही स्याउ सुर्खेत, नेपालगन्ज र बुटवलतिर भने प्रतिकिलो ८५ रुपैयाँसम्म बिक्री भइरहेको छ । काठमाडौं आइपुग्दा जुम्लाको स्याउ प्रतिकिलो १६० देखि २५० रुपैयाँसम्म पर्छ । प्रतिकिलो ५० रुपैयाँमा स्याउ बेचिरहेका जुम्लास्थित श्रीढुस्काका रतन रावत अब भने आफैं व्यापार गर्ने तरखरमा छन् ।

‘यस वर्ष ३० क्विन्टल स्याउ उत्पादन हुँदा १ लाख ५० हजार रुपैयाँ आम्दानी हुन्छ होला,’ रावतले भने, ‘बगैंचामै प्रतिकिलो ५० रुपैयाँमा बेचिरहेका छौं ।’ उनी आफ्नोसहित अन्य किसानकोस्याउ पनि खरिद गरी विभिन्न सहरमा बिक्री गर्न लैजाने तयारीमा छन् ।

‘यो जुम्ली स्याउको मौसम हो, जहाँतहीँ जुम्ली स्याउकै चर्चा हुन्छ । बजारको माग र मूल्य पनि राम्रो पाइने भएकाले किसानलाई फाइदा हुन्छ,’ उनले भने, ‘सुर्खेत, नेपलगन्ज र बुटवलतिर प्रतिकिलो ८५ रुपैयाँसम्ममा स्याउ बिक्री भइरहेको छ ।’ बिहानै स्याउ टिप्न बगैंचामा पुग्ने रावत राति मात्रै घर फर्कन्छन् । झन्डै एक हजार बिरुवामध्ये ४ सयले मात्र फल दिएको उनले बताए । बगैंचामा प्रतिकिलो ५० रुपैयाँ मूल्य झन्डै ५ वर्षअघिको हो । कृषि विकास कार्यालय जुम्लाले स्याउको मूल्य निर्धारण गर्न नसक्दा त्यही मूल्यलाई निरन्तरता दिइरहेका छन् ।

मूल्य कम पाइने, बेलैमा बजार पुर्‍याउन नसकिनेलगायत विभिन्न समस्या देखाउँदै जुम्ली किसानले साउनको सुरुवातदेखि नै स्याउ बजारमा पुर्‍याइसकेका छन् । तर सिँजा–५ का रामसिंह रावल बल्ल स्याउ टिप्ने तरखर गर्दै छन् । बर्सेनि भदौ अन्तिमदेखि असोज पहिलो सातासम्म मात्र स्याउ टिप्ने गरेको उनले सुनाए । ‘भदौ अन्तिमसम्म स्याउ पूर्ण रूपमा पाकिसक्छ, छिटो टिप्दा गुलियो नपसेको स्याउ नै बजार पुग्छ,’ रावलले भने, ‘अहिले स्याउमा रस पसिसकेको र रङ पनि दिइसकेकाले दक्ष कामदार लगाएर स्याउ टिप्ने तयारी गर्दै छु ।’ दुई हजार बिरुवा रोपे पनि अहिले ५ सय बिरुवाले मात्रै फल दिइरहेको रावलले जनाए । परिपक्व भइसकेपछि टिप्दा किसानले खोजेको मूल्यमा स्याउ बेच्न सकिने उनी सुनाउँछन् । रावत र रावल जस्तै जुम्लाका थुप्रै किसान स्याउ टिप्न व्यस्त छन् ।

जुम्लामा स्याउ खेतीबाटै वर्षमा एक जनाले न्यूनतम १ लाखदेखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । पूर्ण रूपमा पाकिसकेको स्याउ स्थानीय तहको सिफारिसका आधारमा मात्र जिल्ला बाहिर पठाइन्छ । सिफारिसबापत स्थानीय तहले प्रतिकिलो ५० पैसा लिन्छन् । रोयल, रेड, गोल्डेन, जनाथन र चक्लेटी स्याउ उत्पादन भइरहेको जुम्लामा पछिल्लो समयमा फुजी स्याउ पनि उत्पादन हुन थालेको छ । किसानको मिहिनेत, कृषि प्राविधिकहरूको निरन्तर निगरानी र हावापानीका कारण स्याउको उत्पादनमा वृद्धि भएको कार्यालयका प्रमुख गणेश अधिकारीले बताए ।

‘स्याउ व्यापारीको हतारोका कारण केही किसानले यसपालि पनि स्याउ गुलियो, पोटिलो र परिपक्व नहुँदै टिपेर बिक्री गरे,’ अधिकारीले भने, ‘यद्यपि गएका वर्षभन्दा यो वर्ष स्याउ उत्पादनमा राम्रो वृद्धि भएको छ ।’ जुम्लाको चार हजार १ सय २० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिन्छ । यो वर्ष २९ हेक्टर क्षेत्रफलमा १८ हजार टन स्याउ फल्ने कार्यालयको अनुमान छ, जसमध्ये ५० प्रतिशत स्याउ जिल्ला बाहिर जाँदा न्यूनतम ५० करोड रुपैयाँ जिल्ला भित्रिने अनुमान रहेको उनले सुनाए ।

समग्रमा जिल्लामा ए ग्रेडको प्रतिकिलो ६० रुपैयाँभन्दा बढी, बी ग्रेडको ५० रुपैयाँ र ग्रेड सीको ४० रुपैयाँमा बिक्री भइरहेको कार्यालयले जनाएको छ । सोलुखुम्बु र जुम्लाका स्याउ बजारमा आइसकेका छन् । मुस्ताङ र मुगुको स्याउ भदौ अन्तिम सातादेखि मात्रै टिप्न सुरु हुन्छ । तर, किसान तथा व्यापारीले मूल्य नपाउने भन्दै गुलियो नपसेका स्याउ नै टिप्न थालिसकेका छन् । जुम्लामा गत वर्ष १२ हजार टन उत्पादन भएकामा ६ हजार ५ सय टन जिल्ला बाहिर गएको थियो । त्यसबापत ३४ करोड १८ लाख ८० हजार रुपैयाँ जिल्ला भित्रिएको थियो ।

सोलुखुम्बुमा केही दिनअघि मात्र स्याउ टिप्न सुरु गरिएको कृषि ज्ञान केन्द्र सोलखुम्बुका प्रमुख दुर्गाबहादुर तिरुवाले बताए । स्थानीयको उत्पादनभन्दा पनि बागबानी (सरकारी) फार्मबाटै स्याउ बाहिरिने गरेको उनले बताए । ‘स्थानीयले व्यावसायिकभन्दा पनि आफ्नै घरका लागि मात्रै स्याउ खेती गरेका छन्,’ उनले भने, ‘गत वर्षदेखि भने स्थानीय हाई डेन्सिटी स्याउ खेतीमा आकर्षित भएका छन् ।’ किसानले व्यावसायिक स्याउ खेती गर्न थाले पनि उत्पादन दिन सुरु नभएको तिरुवाको भनाइ छ । त्यसकारण आगामी दुई वर्षपछि मात्रै स्याउ उत्पादन बढ्ने उनले सुनाए ।

‘किसानले नयाँ बोट लगाएका छन्, केहीले अहिले फल दिन सुरु गरेकाले २ वर्षपछि भने उत्पादन बढ्न सक्छ,’ उनले भने, ‘मौसम अनुकूल भइदिए पनि उत्पादन बढ्न सक्छ । तर धेरै पानी पर्ने र हुस्सु लाग्ने हुँदा स्याउमा रङ विकास हुँदैन र उत्पादन बढ्न सक्दैन ।’ स्याउ अहिले प्रतिकिलो एक सय रुपैयाँमा बिक्री भइरहेको उनले जनाए । ‘ठूल्ठूला राम्रा दाना सय रुपैयाँ र स–साना दाना प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुन्छ,’ उनले भने । केन्द्रका अनुसार स्याउ खेतीका लागि २ सय ३३ हेक्टर जमिन छ । त्यसमध्ये २०५ हेक्टर जमिन मात्रै उत्पादनशील रहेको केन्द्रले जनाएको छ । सोलखुम्बुमा गत वर्ष ११ सय ९३ टन स्याउ उत्पादन भएको थियो ।

मुस्ताङको स्याउ भदौ अन्तिम सातादेखि मात्रै टिप्न सुरु गरिने कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । गत वर्षको तुलनामा १५ प्रतिशत बढी स्याउ उत्पादन हुने अनुमान गरिएको केन्द्रका निमित्त प्रमुख प्रकाश बस्ताकोटीको भनाइ छ । ‘गत वर्षको तुलनामा १५ प्रतिशत उत्पादन बढ्ने आकलन छ,’ उनले भने, ‘एकखाले स्याउ टिपेर सकिसक्यो, बाँकी भदौ २५ देखि मात्रै टिप्न सुरु हुन्छ ।’ गुलियोपन पसेपछि मात्रै स्याउ टिप्न स्थानीयलाई आग्रह गरिएको उनको भनाइ छ । ‘यस वर्षको स्याउ कात्तिक पहिलो सातासम्म टिपेर सक्छन्,’ उनले भने, ‘नयाँ बोटहरूले फल दिन थालेको र मौसम राम्रो भएकाले यस वर्ष उत्पादन बढ्ने अनुमान छ ।’ मुस्ताङमा गत वर्ष ५ हजार ५ सय ६४ टन स्याउ उत्पादन भएको थियो । गत आर्थिक वर्ष ४८ हजार ६११ टन स्याउ उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांक छ । स्याउको ५ हजार ७०१ हेक्टर जमिन मात्रै उत्पादनशील छ ।

आयातितभन्दा स्वदेशी सस्तो

बाह्रै महिना बजारमा आयातित मात्र होइन, स्वदेशी स्याउ पनि पाइन्छ । अहिले मुगु, जुम्ला, मुस्ताङलगायत विभिन्न जिल्लाका स्याउ काठमाडौंका पसलमा पाइन्छन् । आयातित स्याउ (फुजी) कालीमाटी फलफूल तथा तरकारी बजारमा होलसेलमा प्रतिकिलो २५० देखि २८० सम्म किनबेच भइरहेका छन् । यता जुम्ला र मुस्ताङको स्याउ प्रतिकिलो १६० रुपैयाँदेखि २५० रुपैयाँसम्म काठमाडौंमै पाइन्छन् । तर कालीमाटी बजारमा स्थानीय स्याउ भित्रिएका छैनन् ।

भारतीय र चिनियाँ स्याउ बिक्री गरिरहेको कालीमाटी बजारका फलफूल व्यापारी कमल बस्नेतले बताए । ‘भारत र चीनका स्याउ प्रतिकिलो १५० देखि ३ सय रुपैयाँसम्म पर्छ, त्यही बेचिरहेका छौं, स्थानीय स्याउ अहिलेसम्म आइपुगेको छैन,’ उनले भने । काठमाडौं मुस्ताङ, जुम्लालगायत विभिन्न जिल्ला स्याउ बेच्ने अनलाइनदेखि खुद्रा पसलसम्म पाइन्छ । काठमाडौं अर्गानिक्सले अनलाइनमार्फत जुम्लाको ५ किलो स्याउ ९५० रुपैयाँ बेचिरहेको छ । यसरी हेर्दा प्रतिकिलो १९० रुपैयाँ पर्न आउँछ । त्यसमा समेत छुट दिई प्रतिकिलो १७१ रुपैयाँका दरले ५ किलो ८५५ रुपैयाँमा बेचिरहेको छ । रैथाने एग्री प्रडक्ट्स नेपालले समेत प्रतिकिलो १६० रुपैयाँमा जुम्लाका स्याउ बेचिरहेको छ ।

प्रतिकिलो १६० रुपैयाँमा बेच्दा पनि २५ रुपैयाँ फाइदा हुने रैथानेका सञ्चालक तिलक ढकालले सुनाए । ‘किसानसँग प्रतिकिलो १२० रुपैयाँमा किन्छौं, जुम्लाबाट काठमाडौं आइपुग्दा प्रतिकिलो १३५ रुपैयाँ पर्छ,’ उनले भने, ‘व्यापार गर्नेभन्दा पनि जुम्लाको स्याउ चखाउन ल्याएका हौं, आफू पनि खान्छौं, अलिअलि बेच्छौं, खुवाउँछौं ।’ स्थानीय उत्पादनलाई संरक्षण गर्ने हेतुले रैथाने सुरु गरिएको समेत उनले सुनाए ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै ६९ करोड ८७ लाख ३८ हजार रुपैयाँ बराबरको स्याउ भित्रिएको छ । साउनमा ९२ लाख १० हजार ८९९ किलो स्याउ भित्रिएको भन्सार विभागले जनाएको छ । चीन, भारतलगायत विभिन्न मुलुकबाट नेपालमा बर्सेनि ७ अर्ब बराबरको स्याउ भित्रिने गरेको छ ।

गत आर्थिक वर्षमा ७ अर्ब १५ करोड ८८ लाख ५४ हजार रुपैयाँको स्याउ आयात गरिएको विभागले बताएको छ । विभिन्न मुलुकबाट ८ करोड ६७ लाख ९६ हजार १९ किलो स्याउ आयात भएको विभागको तथ्यांक छ । हिजोआज काठमाडौंलगायत विभिन्न बजारमा जुम्लाको स्याउ बजारमा पाइन्छ । जुम्ला, मुस्ताङ, मुगु, रोल्पा, सोलखुम्बुलगायत जिल्लामा स्याउ उत्पादन हुन्छ । अघिल्लो आर्थिक वर्ष ७ अर्ब ५ करोड ३७ लाख ३८ हजार रुपैयाँ बराबरको ८ करोड ९० लाख ५८ हजार ६७ किलो ताजा स्याउ भित्रिएको थियो ।

स्रोत: https://ekantipur.com/business/2022/09/08/16625997040253812.html

Newsletter

Submit your details below to receive Newsletters

Newsletter