स्याङ्जाको वालिङमा पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो

September 24, 2020

प्रतिक्षा काफ्ले, कान्तिपुर, आश्विन ०८, २०७७ 

सामुदायिक विद्यालयले टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन सुरू गरेका छन् ।

तिलोत्तमा, प्यूठान, कपिलवस्तु — प्रदेश ५ अन्तर्गत विभिन्न जिल्लाका केही सामुदायिक विद्यालयले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पठनपाठन सुरु गरेका छन् भने केहीले तयारी थालेका छन् । भर्चुअल कक्षा प्रभावकारी नभएपछि सामुदायिक विद्यालयले टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन सुरु गरेका हुन् ।

कपिलवस्तुको जीतपुरस्थित एक विद्यालयमा पढ्न गएका बालबालिकालाई हात निःसंक्रमण गर्न सेनिटाइजर दिँदै सुरक्षा गार्ड । यहाँका निजी विद्यालयले बुधबारदेखि सुरक्षा सतर्कता अपनाएर स–साना समूहमा पढाउन सुरु गरेका छन् । तस्बिर : मनोज/कान्तिपुर

गुल्मीको रेसुंगा–१ तम्घासमा रहेको महेन्द्र माविमा कक्षा ९ र १० का विद्यार्थीलाई दुई सिफ्टमा पढाउन थालिएको छ । टोल शिक्षा कार्यक्रममार्फत बाँकी कक्षा सञ्चालन भइरहेको प्रधानाध्यापक युवराज ज्ञवालीले बताए । ‘टाढा रहेका विद्यार्थी कुनै पनि माध्यमबाट पठनपाठनमा सहभागी हुन नपाएकाले विद्यालय सञ्चालन र टोल शिक्षा कार्यक्रम अघि बढाएका हौं,’ उनले भने, ‘कक्षाकोठा सेनिटाइजेसन, विद्यार्थीलाई साबुन पानीले हात धुनेदेखि सबै मापदण्ड पूरा गरेका छौं ।’ स्थानीय तहसँग समन्वय गरी अभिभावककै सहमतिमा विद्यालय सञ्चालन गरिएको उनले बताए । टोलमै पुगेर कक्षा सञ्चालन गर्दा सिकाइमा महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

प्यूठानका ९ वटै स्थानीय तहमा असोज १ गतेबाट कक्षा सञ्चालन भएका छन् । शिक्षक र विद्यार्थीले मास्क लगाएर र भौतिक दूरी कायम गरी पठनपाठन सुरु गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख शिव पण्डितका अनुसार स्थानीय तहले विद्यालयगत, क्षेत्रगत, वडागत, समुदायगत र कक्षागत रूपमा पठनपाठन सुरु गरेका छन् । विद्यालयले आफ्नो सेवा क्षेत्रका बालबालिकाको सिकाइ सहजीकरणको कार्ययोजना तयार पारेर स्थानीय तहमा बुझाएपछि कार्ययोजनाअनुरूप सम्भव भएको विधिबाट कक्षा सञ्चालन भएको पण्डितले बताए ।

प्यूठान नगरपालिका–४ स्थित जुम्रीटोलस्थित कालिका आवासीय माविका विद्यार्थी ।तस्बिर:गिरुप्रसाद भण्डारी/कान्तिपुर

पायक पर्ने स्थानमा शिक्षकलाई खटाएर पढाइ सुरु गरेको प्यूठान नगरपालिका–४ टारीस्थित कालिका आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गा गुरुङले बताए । ९ स्थानमा कालिकाले पठनपाठन सञ्चालन गरेको छ । ‘जुन टोलको विद्यार्थी हो, त्यहीं नै पढ्ने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘महिनौं ठप्प पढाइ सुरु हुँदा अभिभावक पनि हर्षित छन् ।’ प्यूठान नगरपालिकाका ५२ सामुदायिक र १२ सस्थागत विद्यालयमा पठनपाठन सुरु गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णु पोख्रेलले जानकारी दिए ।

रूपन्देहीको तिलोत्तमामा अवस्थित शान्ति नमुना माविमा ३ हजार २ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयले बन्दाबन्दीमा रेडियो कक्षा, अनलाइन कक्षालाई निरन्तरता दिइरहेको छ । तीमध्ये अनलाइन र रेडियो माध्यमबाट भइरहेका कक्षामा सहभागी हुन नपाएका विद्यार्थीलाई अभिभावकसहित विद्यालयमा बोलाएर गृहकार्य दिने गरेको प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताए । स्थानीय तहले विद्यालय सञ्चालन गर्न पाउने सूचना जारी गर्ने मिति पर्खेर बसेको भन्दै उनले सुरक्षाका साथ विद्यार्थी बोलाएर पढाउने तयारी थालिएको बताए । ‘अभिभावक र सरोकारवालासँग छलफल गरी आउँदो आइतबारबाट कक्षा सञ्चालन गर्ने योजना छ,’ उनले भने, विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकारलाई अब वञ्चित गर्नु हुँदैन ।’ संरचनाका आधारमा आफूहरूले दूरी कायम गरेर सिफ्टअनुसार अध्यापन गर्न सक्ने लामिछानेले बताए ।

पश्चिम नवलपरासीको सुनवल–४ मा रहेको महाकवि देवकोटा माविमा २ हजार २ सय विद्यार्थी अध्ययन गर्छन् । तर, गत चैतदेखि भएको बन्दाबन्दीका कारण विद्यालयले सञ्चालन गरेको रेडियो शिक्षा कार्यक्रम र अनलाइन कक्षामा ५० प्रतिशत विद्यार्थी पनि उपलब्ध नभएको विद्यालयका प्रधानाध्यापक खेमलाल शर्माले बताए । ‘सुनवलमा विद्यालय भए पनि रामग्राम, सरावल र पाल्हीनन्दनका ७ सय बढी विद्यार्थी पढ्न आउँथे,’ उनले भने, ‘विद्यालय सञ्चालन गर्न नपाउने र विद्यार्थी इन्टरनेट र रेडियोकै पहुँचमा समेत नहुँदा शिक्षा प्रदानको पाटो कमजोर बनेको छ ।’

अंग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन हुने सो विद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई अभिभावकसँग सल्लाह गरी स्वास्थ्य सुरक्षा अपनाएर कक्षा सञ्चालन गर्ने योजना बनाएको उनले बताए । छिमेकी विद्यालयले सुरु गरिसकेको जानकारी पाएको भन्दै उनले माथिल्ला तहमा त्यो अहिले सम्भव नभए पनि तल्लो तहका विद्यार्थीलाई एउटा कक्षामा १५ जना राखेर पढाउनेबारे छलफल भएको उनले बताए । विद्यालयका ७२ शिक्षकलाई पालैपालो खटाई गेटमा गन थर्मोमिटरले जाँच्ने, मास्क अनिवार्य लगाउन भन्ने जस्ता उपाय अपनाएर अघि बढ्ने सोच बनाएको उनको भनाइ छ ।

बुटवलस्थित कालिका मानवज्ञान माविले पनि अनलाइन, टीभी र रेडियो कार्यक्रम सञ्चालन गरी शिक्षा दिइरहेको छ । सात हजार विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा धेरै विद्यार्थी बाहिरी जिल्लाका भएकाले उनीहरू यी तीनवटै माध्यममा अटाउन नसक्दा विद्यालय र विद्यार्थी दुवैलाई समस्या परेको प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले बताए । विद्यार्थी बोलाएर पढाउन सक्ने अवस्था तत्काल नरहेको भन्दै उनले अभिभावकसँग समन्वय गरी पाठ्यपुस्तक घरमै पढ्न लगाउने र गृहकार्य दिने गरेको बताए ।

अर्घाखाँचीको सन्धिखर्क–१ स्थित युवा वर्ष जनता रवि चित्र माविले १० दिने टोल शिक्षा कक्षाबाहेक केही गर्न नसकेको प्रधानाध्यापक टेकराज आचार्यले बताए । उनका अनुसार गत वर्ष ९ सय ६५ विद्यार्थी रहेको विद्यालयमा यस वर्ष पनि पाठ्यपुस्तक लैजाने संख्या ७ सय नाघेको छ । प्रशासनले भेला गर्न बन्द गरिदिएपछि रोकिएको टोल शिक्षा नै उत्तम विकल्प रहेकाले पुनः गर्ने योजना आफूहरूको रहेको उनले बताए ।

लामो समयसम्म घरमै बसिराखेका छोराछोरीले पढ्नै बिर्सिने डर भएकाले विद्यालय खोली दूरी कायम गरेर पढाए हुने बुटवल–११ की सुष्मा भुसालले बताइन् । ‘भाडामा बस्ने हो, नेट छैन,’ उनले भनिन्, विद्यालय गएर पढे पढ्छन्, घरमा त किताब हेर्नै मान्दैनन् ।’ कक्षा २ र ६ मा अध्ययनरत छोराछोरीका लागि विद्यालय खुल्नु नै विकल्प देखेको उनले सुनाइन् । स्थानीय तहले आफ्ना पालिकाभित्रका विद्यालयलाई सञ्चालनको अनुमति दिएर भीडभाड नगरी कक्षा सञ्चालन गर्न सक्ने प्रदेश ५ शिक्षा विकास निर्देशनालयका प्रमुख मनोज गैरेले बताए । ‘सबै विद्यालयको जिम्मा स्थानीय तहलाई नै हुने भएकाले सुरक्षात्मक उपाय अवलम्बन गरी चलाउन सकिन्छ,’ उनले भने, ‘शिक्षा क्षेत्र प्रभावित नहुने उपाय अपनाई सञ्चालन गर्न सकिन्छ ।’

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार्न बुद्धभूमि नगरपालिकाले प्रधानाध्यापकसित कार्यसम्पादन सम्झौता गरेको छ । विद्यालयको व्यवस्थापकीय कामदेखि शैक्षिक सुधारका लागि जिल्लाका स्थानीय तहमध्ये बुद्धभूमि नगरपालिकाले मात्रै सम्झौता गरेको हो । जिल्लाका १० स्थानीय तहमध्ये बुद्धभूमिले पहिलो पटक प्रयास थालेको हो । ‘सबैको काम, कर्तव्य तोकिएको छ,’ नगर प्रमुख केशव श्रेष्ठले भने, ‘तर, प्रअ र शिक्षकलाई व्यक्तिगत रूपमा अझ बढी उत्तरदायी र जवाफदेही बनाई शैक्षिकस्तर श्रीवृद्धिका लागि यो काम गरेका हौं ।’ यसले उनीहरूलाई विद्यार्थी र अभिभावकप्रति जिम्मेवार बनाउने उनले बताए ।

स्रोत: https://ekantipur.com/news/2020/09/24/160092532993742341.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More