स्वदेशमै पढेका ३५ प्रतिशत फेल

August 08, 2017

अतुल मिश्र, कान्तिपुर दैनिक, २४ श्रावण २०७४ 

प्रा. डा. गोविन्द केसी पटक–पटक किन आमरण अनशन बस्छन् ? उत्तर थाहा पाउन मुलुककै मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरेकाहरूको लाइसेन्स परीक्षाको परिणाम हेरे छर्लंग हुन्छ । गत वर्ष स्वदेशी मेडिकल कलेजबाट एमबीबीएस गरेका ३५ प्रतिशतभन्दा बढी विद्यार्थी मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा पास हुन सकेनन् । २ सय ७६ जनाले परीक्षा दिएकामा १ सय ७८ मात्र उत्तीर्ण भए ।

काउन्सिलका अनुसार यो अनुत्तीर्ण प्रतिशत हालसम्मकै उच्च हो । ११ मुलुकका विश्वविद्यालयबाट एमबीबीएस पढेर आएका ८ सय ८९ जनाले उक्त परीक्षा दिएकामा ३ सय ९१ (४४ प्रतिशत) मात्रै सफल भए । काउन्सिलको परीक्षा समितिका अध्यक्ष डा. गणेश गुरुङले यो परिणाम हेर्दा मेडिकल कलेजहरूको परीक्षा प्रणालीबारे समीक्षा गर्नुपर्ने अवस्था आएको बताए । ‘नेपालका जुनसुकै मेडिकल कलेजमा पढाइको गुणस्तर राम्रो छ भनेर हामी छाती फुलाउँछौं,’ उनले भने, ‘३५ प्रतिशतभन्दा माथि फेल भएपछि यसमा शंका उत्पन्न भयो ।’

शिक्षाविद् केदारभक्त माथेमाले लाइसेन्सिङ परीक्षाको परिणामलाई मुलुकमा चिकित्सा विज्ञानको पढाइ र गुणस्तर कमजोर रहेको संकेतका रूपमा व्याख्या गरे । ‘यो परिणामले हाम्रा विश्वविद्यालयको परीक्षा प्रणाली र पढाइको गुणस्तरमा प्रश्न उठाइरहेको छ,’ उनले भने, ‘एक/दुई जना पास हुन नसक्नु भिन्दै कुरा हो, यतिका संख्यामा फेल हुनुले पढाइ राम्रो छैन भन्ने देखाउँछ ।’ 

लाइसेन्स परीक्षालाई सामान्यस्तरको मानिन्छ । बर्सेनि यस्तो परीक्षा पास गर्न नसक्ने डाक्टरको ठूलो संख्या भइसकेको छ । तीमध्ये केहीले मात्र पटक–पटक परीक्षा दिएर मुस्किलले पास गर्छन् । 

‘गोविन्द केसी त्यसै ११ औं पटक मृत्यु शय्यामा सुतेका होइनन्,’ काउन्सिलकै एक पदाधिकारीले भने, ‘थुप्रै विज्ञहरूले वर्षौंदेखि चिकित्सा शिक्षाको गुणस्तर, नियम कानुन आदिबारे त्यसै कराएका होइनन् ।’ चिकित्सा शिक्षा र सेवामा सुधार प्रयासप्रति हालसम्म मुलुकका सबै प्रमुख दल सकारात्मक हुन नसक्दा डा. केसी आधा दशकदेखि बारम्बार अनशन बस्नुपर्ने अवस्था आएको हो । 

लाइसेन्स परीक्षामा एक सय ८० वटा वस्तुगत प्रश्न सोधिन्छ । ठीक/बेठिकमा चिनो लगाउँदा पुग्छ । ५० प्रतिशत अंक ल्याउने उत्तीर्ण हुन्छ । कतिपय उत्तर त अनुमानका भरमा पनि मिल्छन् । ‘परीक्षाको प्रश्न एकदम सामान्य र पाठ्यक्रमभित्रकै हो,’ काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले भने, ‘त्यसमा पनि फेल हुनु सोचनीय हो ।’

काउन्सिलले लाइसेन्सका लागि लिने गरेको सैद्घान्तिक परीक्षा मात्र पर्याप्त नरहेको जनाउँदै माथेमाले क्लिनिकल दक्षता (प्राक्टिकल) परीक्षासमेत लिनुपर्ने सुझाए । उनले प्राक्टिकल परीक्षा लिइए परिणाम झन् भयावह आउने उल्लेख गरे । ‘हामीले लाइसेन्स परीक्षाअन्तर्गत सैद्धान्तिकमा उत्तीर्ण विद्यार्थीलाई प्राक्टिकल परीक्षा लिनुपर्ने हो र दुवै पास गरे मात्र लाइसेन्स दिनु गुणस्तरीय हुन्छ’, डा. अधिकारी भन्छन्, ‘प्राक्टिकल परीक्षासमेत लिनुपर्नेबारे एक वर्षअघिदेखि बहस जारी भए पनि हामी निर्णयमा पुग्न सकेका छैनौं ।’

मेडिकल कलेजले राम्रा विद्यार्थी मात्र भर्ना लिएका भए लाइसेन्स परीक्षामा पक्कै फेल नहुने गुरुङको ठहर छ । मेरिटका आधारमा विद्यार्थी भर्ना गर्ने नियम लागू भएपछि यस्तो समस्या कम हुने उनको भनाइ छ । 

यता, मेडिकल काउन्सिलमाथि भने मुलुकका कुन मेडिकल कलेजबाट कति विद्यार्थी फेल भए भन्ने तथ्य सार्वजनिक नगर्न राजनीतिक दल र लगानीकर्ताको दबाब बढिरहेको काउन्सिल 
स्रोतले जनायो ।

स्रोत: http://kantipur.ekantipur.com/news/2017-08-08/20170808062203.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More