News

स्वेटरको हब बुटवल

September 15, 2017

लक्ष्मण पोख्रेल, अन्नपुर्ण पोस्ट, ३० भाद्र २०७४ 

बुटवल : अर्घाखाँचीका जीवनारायण गैरेले २०४६ सालमा भारतमा किनेको स्वेटर बुन्ने मेसिन सुनौली नाका कटाउन नपाउँदै भारतले नाकाबन्दी गर्‍यो। धान, मकै र कोदो बेचेको पैसा जम्मा गरेर उनी होजियरी उद्योग चलाउने सपना बुन्दै हाते मेसिन किनेर फर्किरहेका थिए। दुई महिनापछि बल्लतल्ल दुईवटै मेसिन अर्घाखाँचीको सन्धिखर्क पुर्‍याएको उनले अझै बिर्सिएका छैनन्। भारतमा होजियारी उद्योगमा काम गरेपछि उनमा उद्यमी बन्ने सोच पलाएको थियो।

सुरुवातमा दुई मेसिनले दिनको १० वटा स्वेटर बुन्थे। उद्योगको उत्पादन बढ्दै गयो। मेसिन र कामदार बढेपछि सन्धिखर्कको बजार साँघुरो भइदियो। केही समय उत्पादन बन्द गरेर नयाँ मेसिन थपे। बजार खोज्दै उनी २०५२ सालमा नेपालगन्ज हान्निए। नेपालगन्ज पुग्दा छोरा पनि उद्योग सम्हाल्ने भइसकेका थिए। नयाँ मेसिन थपेर १३ वर्षसम्म नेपालगन्जमा उद्योग चलाएपछि उनले बुटवलमा शाखा विस्तार गरेका छन्।

एक लाख ५० हजार रूपैयाँको मेसिन, फुटकर सामानबाट उद्योग सुरु भएको थियो। एकैपटक एक लाखको ऊन किनेर साढे दुई लाख लगानी पुर्‍याए। २८ वर्षमा जीवनारायणको उद्योगले तीनवटा हाँगा बनाइसकेको छ। लगानी पनि करोडौं पुगिसकेको छ। करिब सय जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।
‘हामी बुटवलमा आउँदा सातवटा उद्योग, हामी आठौं नम्बरमा पर्‍यौं', बुबासँगै बुटवलमा उद्योग स्थापना गरेका छोरा लेखनाथ सुनाउ“छन्। अहिले बुटवलमा मात्रै होजियारी उद्योग १७ पुगेको छ। उद्योग खोल्ने क्रम बढ्दै छ। जीवनारायणका अहिले तीन स्थानमा उद्योग छन्। बुटवलमा लुम्बिनी होजियारी आफै सञ्चालन गर्छन्। बुटवलकै सिद्धबाबा र नेपालगन्जको उद्योग दुई छोराले सम्हालेका छन्।

सिद्धबाबा होजियारीका सञ्चालक लेखनाथ भारतको होजियारी उद्योगमा सीप सिकेर उद्यमी बनेका हुन्। पाँच वर्षसम्म काम गरेको अनुभवले अहिले बुटवलमा उद्योग चलाइरहेका छन्। बुटवलको सुक्खानगरमा रहेको उद्योगमा ५० लाख रूपैयाँको मेसिन जडित छ। वर्षको ३० टन धागो खपत गरी करिब ६० हजार स्वेटर बजार पुर्‍याउँछन्। १६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। पूर्वदेखि पश्चिमका बजारमा उनको स्वेटर पुगेको छ।

स्वेटर हब

बुटलवमा ऊनीका कपडा उत्पादन गर्ने संगठित उद्योग १७ वटा हुन्, ससानो लगानी गरी कपडा बनाउने उद्यमी ५० भन्दा बढी छन्। बुटवलमा तीनवटा धागो बिक्री गर्ने पसल छन्। यी धागो पसलले उद्योगमा धागो आपूर्ति गर्ने काम गर्दै आएका छन्। बुटवल ऊनी कपडा (स्वेटर)का लागि हब बन्दै गएको छ।


बुटलवमा ऊनीका कपडा उत्पादन गर्ने संगठित उद्योग १७ वटा हुन्, ससानो लगानी गरी कपडा बनाउने उद्यमी ५० भन्दा बढी छन्।


भारतको सुरत (गुजरात) सारीको हब बन्यो। लुधियाना (पन्जाब) स्वेटर सहरका रूपमा प्रख्यात छ। ‘बुटवललाई पनि नेपालको लुधियाना बनाउन सकिने सम्भावना छ', रिलायन्स स्पिनिङ मिलका सञ्चालक शशिकान्त अग्रवाल भन्छन्, ‘हामी त कस्सिएका छौं, सरकारले पनि सघाउनुपर्‍यो।' बुटवलका सबै उद्योग १० किलोमिटरको दूरीभित्र छन्। भिन्नभिन्न कपडाको पकेट क्षेत्र बनाउन सके टेक्सटायल उद्योगको विकासमा पनि सघाउ पुग्छ। सारी र कटन कपडाका लागि ललितपुरको थैव र लुभु अगाडि छन्। यस्तै, विराटनगर, वीरगन्ज, पोखरालगायत ठाउँमा पनि ठूला उद्योग लगाएर पकेटक्षेत्र बनाउन सकिने व्यवसायी बताउँछन्।

बुटवलमा सरकारी स्वामित्वको बुटवल धागो कारखाना बन्द भए पनि टेक्सटायल उद्योग चम्किन थालेको छ। अधिकांश स्कुलमा स्वदेशी स्वेटर प्रयोग हुने गरेको छ। कलेजमा पनि नेपाली स्वेटर लगाउन थालिएको छ। हातले बुनेका स्वटेर स्वदेशमात्र होइन, विदेशमा समेत पुग्ने गर्छन्। ऊनीका कपडाको प्रशस्त बजार सम्भावना भए पनि उद्योगबाट अपेक्षाकृत रूपमा उत्पादन गर्न नपाएको व्यवसायी बताउँछन्। ‘विद्युत् नहुँदा पूर्ण रूपमा मेसिन सञ्चालन हुन सक्दैनन्, उद्योग राम्रोसँग चलाउन पाए भारतमा समेत निर्यात गर्न सकिन्छ', गैरे भन्छन्। यसका लागि राज्यबाट सहयोग हुनुपर्ने उनको भनाइ छ। तर सरकारले टेक्सटाइल उद्योगको विकासमा सहयोग नगरेको उनको गुनासो छ।

भारत-चीनसँग प्रतिस्पर्धा

न्यू सनसाइन होजियारीका सञ्चालक मेघलाल भट्टराई अहिलेको बजार प्रतिस्पर्धा भारत र चीनबाट आउने सामानसँग भएको बताउँछन्। २०५३ सालबाट बुटवलमा उद्योग चलाएका उनका अनुसार भारत र चीनको फेन्सी स्वेटर भित्रिँदा स्थानीय उत्पादन पछि परेको छ। ‘यहाँको लागत बढी हुन्छ, उताबाट आउने सामानले नै बजार छोप्छ', भट्टराई भन्छन्। उनको उद्योगले १२ जनालाई रोजगारी दिएको छ। उद्योगी गैरे पनि भारतकै बजारले नेपाली बजारलाई प्रभावित पारेको बताउँछन्। उनका अनुसार नेपाली उत्पादनले जम्मा २५ प्रतिशत मात्रै योगदान पुर्‍याएको छ। नेपालमा विद्युत्को समस्याले आधुनिक खालका मेसिन सञ्चालनमा ल्याउन नसक्दा उत्पादनमा फिनिसिङ नदेखिएको उनले बताए। एउटा उद्योग सञ्चालनमा करिब एकदेखि डेढ करोड रुपैयाँसम्म लगानी भएको छ। बुटवलमा रहेको उद्योगमा ३० करोड रुपैयाँको लगानी छ। दुई सय जनाले रोजगारी पाएका छन्।

८० प्रतिशत नेपाली धागो

होजियारी उद्योगले नेपाली धागो बढी बढी प्रयोग गर्छन्। बुटवलमा रिलायन्स, त्रिवेणी र जगदम्बा स्पिनिङ उद्योगको धागो बढी खपत हुने गरेको छ। धागोको होलसेल श्वेता शुभ ट्रेडर्सका सञ्चालक श्रमणकुमार अग्रहरीका अनुसार ८० प्रतिशत धागो नेपालकै खपत हुने गरेको छ। बुटवल क्षेत्रमा वर्षमा डेढ सय टनसम्म धागो खपत हुने उनको अनुमान छ। ‘कुनैकुनै धागो भारतीय बजारबाट पनि आउँछ, तर अधिकांश उद्योगले नेपाली धागो नै खपत गर्छन्', अग्रहरी भन्छन, ‘एउटा स्वेटर बनाउन दुई सयदेखि पाँच सय ग्रामसम्म धागो खपत हुन्छ।'

तर, उद्योगीहरू नेपाली धागो कम्पनीले मागअनुरूप धागो दिन नसकेकै कारण भारतबाट ल्याउनुपरेको बताउँछन्। ‘कम्पनीहरूले नेपाली उद्योगलाई धागो नदिएर भारत पठाउँछन्। नेपालमा पाइने मूल्यभन्दा भारतमा सस्तो मूल्यमा त्यही धागो बिक्री हुन्छ', सिद्धबाबा होजियारीका गैरे भन्छन्। दुई वर्षयता भारतीय धागोको आपूर्ति बढ्दै गएको छ। आयात बढ्दै जाँदा त्यसको मात्रा करिब ४० प्रतिशत हाराहारीमा पुगेको उनको भनाइ छ।

भन्सारमा छलछाम

भारतबाट कच्चापदार्थका रूपमा धागो मात्रै नभई कपडा पनि आउने गरेको छ। कतिपय व्यापारीले भन्सार छलेर त्यस्ता कपडा भित्र्याउने गरेको यस क्षेत्रका उद्योगी बताउँछन्। ‘माथिबाट नसिलाएको कपडा देखाएर भन्सार कटाउँछन्, भित्रको तयारी पोसाक भन्सारे हेर्दैनन्', एक उद्योगीले भने, ‘भन्सारका कर्मचारीको लापरबाहीले नेपाली उद्योग मारमा परेका छन्।' त्यसरी भित्रिएको सामान सस्तो पर्छ। नेपाली उद्योगले लगानी मात्रै उठाएर बेच्नुपर्ने बाध्यता रहेको उद्योगीको गुनासो छ।

विद्युत् भए निर्यात गर्छौं

ऊनीका कपडा बाफले आइरन गरिन्छ, जसले कपडालाई आकर्षक देखाउँछ। तर बुटवल क्षेत्रका उद्योगीले त्यसो गर्न सकेका छैनन्। कारण हो, विद्युत् समस्या। उद्योगलाई आवश्यक विद्युत् सरकारले दिन सकेको छैन। विद्युत् आए पनि निकै कम भोल्टेज भएकाले मेसिन सञ्चालन हुँदैनन्। मेसिन चलाउनकै लागि वैकल्पिक ऊर्जा व्यवस्थापन गर्दा लागत वृद्धि हुन्छ।

बाफले कपडा आइरन गर्ने मेसिन बुटवलमा नभित्रिएको भने होइन। तर आठ लाख रुपैयाँ लगानी गरेर भित्रिएको मेसिन सञ्चालन हुन सकेन। एक घण्टा मेसिन चलाउँदा करिब सात लिटर इन्धन खर्च हुन्छ। त्यसकारण थन्क्याएर बस्न उद्योगी बाध्य छन्। नियमित विद्युत् र निर्यात प्रक्रिया सहज भए बुटवलको उत्पादन बाहिर पठाउन सकिने उद्योगीहरू बताउँछन्। ‘उद्योगलाई ऋणमा सहुलियत, नियमित विद्युत् भए नेपालको बजार नेपाली उत्पादनले नै ढाक्न सक्छ', गैरे भन्छन्, ‘बाहिर निर्यात गर्न पनि उद्योग सक्षम छन्।'

बढ्दै छन् उद्योग

२०५८ सालदेखि धागो बिक्री गर्दै आएका अग्रहरीले उद्योगको संख्या बढ्दो क्रममा रहेको बताए। थोरै लगानीमा समेत उद्योग सञ्चालन गर्न सकिने भएकाले यसतर्फ युवा आकर्षण बढेको उनको भनाइ छ। बुटवलमा तीनवटा धागो बिक्री गर्ने पसल छन्। ती पसले १७ वटा उद्योगलाई धागो बिक्री गर्छन्। होजियारी उद्योगको संख्या बढ्दै जाँदा व्यापारमा भने निकै प्रतिस्पर्धा छ। नयाँ खोलिएका उद्योगका कारण पुराना उद्योगलाई बजार व्यवस्थापनमा जटिलता थपिँदै छ। उद्योगले रोजगारी र आर्थिक कारोबारमा भने टेवा दिएका छन्। सानो बजार, स्वदेशी र विदेशी उत्पादनसँग प्रतिस्पर्धा, विद्युत्मा बढी लगानी, सरकारको बेवास्ताजस्ता समस्या उद्योगले झेल्दै आएका छन्।

स्रोत: 

http://annapurnapost.com/news-details/80274