हनुमानढोका दरबार परिसर पुनःनिर्माणको काम तीव्र

December 13, 2017

नागरिक दैनिक, २६ मंसिर २०७४

विश्वसम्पदा सूचीमा रहेको हनुमानढोका दरबार परिसर पुनःनिर्माणले तीव्रता पाएको छ। 

विसं २०७२ वैशाख १२ को भूकम्पले क्षति पुगेको धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेको हनुमानढोका दरबार परिसरको पुनःनिर्माणको कामले तीव्रता पाएको हो। 

दरबार परिसरभित्र रहेको नौतले दरबार, गद्धी बैठक, स्वेत भैरव, तलेजु भगवती, आगंमछे (नयाँ देवता राख्ने स्थान), माजुदेग, कृष्णमन्दिर, जगन्नाथ, गोपीकृष्ण मन्दिरलगायतका सम्पदा निर्माणको काम भइरहेको छ। 

हनुमानढोका दरबार हेरचाह अड्डाका संग्रहालय अधिकृत जयनारायण कार्की स्वदेशी तथा विदेशी सहयोगमा परिसरभित्रको सम्पदा निर्माणको काम भइरहेको बताउँछन्। “संग्रहालय अवलोकन कार्य बन्द गरेर परिसरभित्रका सम्पदा निर्माणको कामलाई तीव्रता दिएका छौँ,”– उनले भने। 

यी मध्ये नौतले दरबार चीन, गद्धी बैठक अमेरिका, आगंमछे जापान तथा जगन्नाथ र गोपीकृष्ण मन्दिर युनेस्कोको सहयोगमा निर्माण भइरहेको छ। 

यसैगरी, काठमाडौँ उपत्यका संरक्षण कोषको सहयोगमा शिवालय र लक्ष्मीनारायण मन्दिर निर्माण कार्य सम्पन्न भइसकेको छ। 

यस्तै, पुरातत्व विभागको सहयोगमा यहाँ रहेका स्वेत भैरव, तलेजु भवानीको छाना, त्रैलोक्यमोहन, माजुदेग मन्दिर निर्माण भइसकेको र कृष्ण मन्दिर, कागेश्वरी र सरस्वती मन्दिर निर्माण कार्य भइरहेको छ। 

अड्डाका अधिकृत कार्की संग्रहालयलगायत अन्य सम्पदाको निर्माणका लागि पनि विदेशबाट सहयोग आउनेक्रम जारी रहेको बताउँछन्। दरबार परिसरमा छिर्न चाहने विदेशी र सार्क मुलुकका पर्यटकलाई काठमाडौँ महानगरपालिकाले क्रमशः रु एक हजार र २५० लिँदै आएको छ भने नेपालीका लागि अड्डाले रु ३० लिँदै आएको छ। 

अड्डाले भूकम्पपछि दरबारको बाहिरी भाग हेर्न जान चाहने नेपालीलाई रु ३० को टिकट दिएर परिसरको अवलोकन गर्न दिएको छ। 

 

स्रोत: http://www.nagariknews.com/news/32336/

फोटो स्रोत: https://www.nepfie.com

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More