हरेक निर्वाचनमा पहिलो दल फेर्छन् नेपाली मतदाता

December 16, 2022

हिमालखबर, मंसिर ११, २०७९

२०४८ सालको निर्वाचनलाई अपवाद मान्ने हो भने नेपाली मतदाताले कहिल्यै एउटै दललाई लगातार दुई पटक ठूलो दल बन्ने मौका दिएको छैनन्।

मंसीर ४ गते सम्पन्न मतदानको नतीजालाई लिएर कतिपयले मतदातालाई ‘भेडा’ को संज्ञा दिइरहेका छन्। हार्ने पक्षले जहिल्यै केही न केही खोट देखाउनु नौलो चलन होइन। विगतमा सम्पन्न आम निर्वाचन हेर्दा भने अधिकांश मतदाताले ‘स्मार्ट’ निर्णय गरेको देखिन्छ।

मतदाताले जानीबुझीकनै निर्णय गरेको देखिन्छ। मतदाताले हरेक आम निर्वाचनमा विकल्प खोजेको देखिन्छ। उनीहरूले एउटै दललाई लगातार दुई पटक ठूलो दल बन्ने मौका दिएका छैनन्।

२०१५ सालमा सम्पन्न निर्वाचनमा कांग्रेसले १०९ मध्ये ७४ स्थानमा जित हासिल गरेको थियो। त्यसपछि दुई तिहाइ मत सहित प्रधानमन्त्री बनेका विश्वेश्वरप्रसाद कोइरालाको सरकारलाई राजा महेन्द्रले २०१७ सालमा ‘कू’ गरेर विस्थापित गरेका थिए।

२०४६ सालको राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेस २०४८ सालमा पहिलो पार्टी बन्यो। २०५ सदस्यीय प्रतिनिधि सभामा कांग्रेसले ११० सीट जित्यो। दोस्रो ठूलो दल एमालेले ६९ स्थानमा जितेको थियो।

२०५१ सालमा एमाले ८८ सीट सहित पहिलो दल बन्यो। त्यति वेला कांग्रेसले ८३ सीट जितेको थियो।

२०५६ सालको आम निर्वाचनमा कांग्रेसले १११ र एमाले ७१ स्थान जित हासिल गरे। त्यसपछि नेकपा (माओवादी)को सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन।

माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ मा संविधानसभा निर्वाचन भयो। प्रत्यक्षतर्फका कुल २४० निर्वाचन क्षेत्रमध्ये १२० स्थानमा जितेर माओवादी सबैभन्दा ठूलो दल बन्यो। दोस्रो र तेस्रो स्थानमा रहेका कांग्रेस र एमालेको सीट जोड्दा पनि माओवादीको जति पुग्न सकेन।

२०७० सालमा दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस पहिलो दलका रूपमा उदायो। कांग्रेसले २४० मध्ये १०५ सीटमा जित निकाल्यो। एमाले ९१ सीट सहित दोस्रो दल भयो भने माओवादी २६ सीट जितेर तेस्रो दलमा खुम्चियो। २०७२ सालमा कांग्रेसले सरकारको नेतृत्व गरेकै वेलामा संविधान जारी भयो।

२०७४ सालको निर्वाचनबाट एमाले पहिलो दल बन्यो। प्रत्यक्षतर्फका १६५ सीटमध्ये ८० स्थानमा एमालेले जित हासिल गर्‍यो। तेस्रो ठूलो दल माओवादीसँग एकीकरण गरेर नेकपा बन्यो।

अहिले २०७९ सालको निर्वाचनमा आएर कांग्रेस पहिलो पार्टी बन्ने देखिएको छ। प्रत्यक्षतर्फ कांग्रेसले धेरै सीट जित्ने निश्चितप्रायः छ। यद्यपि, एमालेका नेताहरूले आफ्नो पार्टी पनि पहिलो पार्टी बन्न सक्ने दाबी गरिरहेका छन्।
स्रोत: https://www.himalkhabar.com/news/133269

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More