हिमपातका कारण रसुवा नाकाबाट रोकिएको आयात सुरु

February 09, 2022

बलराम घिमिरे, कान्तिपुर, माघ २६, २०७८

रसुवा — हिमपातको कारण रोकिएको आयात बुधबार बिहानबाट सुचारु भएको छ । केरुङमा बाक्लो हिमपात हुँदा शनिबारदेखि रसुवागढी नाकाबाट आयात रोकिएको थियो ।

तिब्बतको केरुङ बजार । तस्बिर : बलराम घिमिरे/कान्तिपुर

बुधबार बिहान केरुङबाट समान लोड भएका ७ कन्टेनर चिनियाँ सामान रसुवागढी नाकामा आएको सशस्त्र प्रहरीबल नेपाल नं. २० गुल्म हेडक्वटर रसुवाले बताएको छ । ५ वटा कन्टेनरमा रेडिमेड र २ वटामा जलविधुतको सामान आयात भएको छ ।

बिहीबार र शुक्रबार दुई दिन लगातार तिब्बतमा बाक्लो हिमपात हुँदा केरुङबाट रसुवागढीतर्फ आउने कन्टेनर उतै रोकिएका थिए । यस्तै चिनियाँ नयाँ वर्षको कारण गत सोमबार र मंगलबार दुई दिन आयात भएको थिएन । बुधबारबाट सुरु भएको आयात हिमपातको कारण शनिबारदेखि पुनः रोकिएको हो ।

हिमपातले केरुङमा रोकिएका कन्टेनर बुधबार बिहानबाट आउन सुरु गरेको व्यावसायी धर्म पौडेलले पुष्टि गरे । नाकाबाट बिहान सात र साँझ दुई गरी दैनिक नौ कन्टेनर सामान आयात हुने गरेको छ । ती कन्टेनरहरु चिनियाँ पक्षले नेपाली भू–भागमै ल्याइदिने गरेको छ ।

रसुवागढी नाका चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । दुई वर्षयता रसुवागढी नाकाबाट आयात–निर्यात पटक–पटक प्रभावित हुँदै आएको छ । कहिले हिमपात, कहिले पहिरोका कारण रसुवागढी नाकामा आयात निर्यात प्रभावित हुने गरेको छ ।

चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ । रसुवागढी नाकाबाट केरुङसम्मको दुरी २४ किमि छ । चीनबाट नेपाल तर्फ तयारी कपडा, स्याउ, लेडिज सेण्डल, रबर, प्लाष्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपीएस, प्लाष्टिकका सामान लगायतका मुख्य वस्तुहरु पैठारी हुने गर्दछ भने नेपालबाट चीनतर्फ धातुको मूर्ति, श्रृंगारका सामान, उनी गलैंचा, कार्पेट, भाडालगायतका मुख्य वस्तुहरु निकासी हुने गरेको छ ।

स्रोत: https://ekantipur.com/business/2022/02/09/16443935644137834.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More