News

हिमालले धनी प्रदेश १

December 31, 2018

छेटु शेर्पा, अन्नपुर्ण पोष्ट, १५ पुष २०७५ 

काठमाडौं : प्राकृतिक संसाधनमध्येको एउटा स्रोत हिमालले प्रदेश १ सम्पन्न छ। यो प्रदेशको आम्दानीको मुख्य स्रोत पनि हो। देशभरि ४ सय १४ हिमाल पहिचान भएका छन्। सबैभन्दा धेरै १ सय ६० वटा प्रदेश १ मा छन्। ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल नेपालमा छन्। पर्यटन विभागका अनुसार तीमध्ये ११ वटा प्रदेश १ मा छन्।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रवक्ता गोपीकृष्ण खनालले प्राकृतिक स्रोतसाधनलगायत हिमालबाट उठ्ने राजस्व स्थानीय तहलाई २५, प्रदेश सरकारलाई २५ र संघीय सरकारलाई ५० प्रतिशत बाँडफाँड गर्ने निर्णय भएको जानकारी दिए। यो निर्णयका आधारमा प्रदेश १ ले पर्वतारोहणबाट संकलन हुने राजस्वको सबैभन्दा धेरै हिस्सा पाउनेछ।

पर्यटन विभागका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा प्रदेश १ अन्तर्गत सो लुखुम्बुमा ४० करोड ११ लाख २७ हजार ८ सय ८, संखुवासभामा ७९ लाख १९ हजार ५ सय ३३, ताप्लेजुङमा ८३ लाख १४ हजार ३ सय ७७ र दोलखा तथा सोलुखुम्बुको बीचमा रहेका हिमालबाट २ लाख ८२ हजार २ सय ४७ गरी ४१ करोड ७६ लाख ४३ हजार ९ सय ६५ रुपैयाँ राजस्व संकलन भएको छ। यसमध्ये प्रदेश १ ले स्थानीय तह र प्रदेशमा गरी ५० प्रतिशतले हुन आउने २० करोड ८८ लाख २१ हजार ९ सय ८२ रुपैयाँ पाउनेछ।

प्रदेश २ र प्रदेश ५ मा हिमाल छैनन्। गण्डकी प्रदेशमा १ सय २०, प्रदेश ३ मा ६०, कर्णाली प्रदेशमा ६७ र प्रदेश ७ मा २४ हिमाल छन्। तिनमा प्रदेश ४ र ६ सँग जोडिएका १० र प्रदेश १ र प्रदेश ३ को बीचमा ७ (१७ हिमाल संयुक्त) छन्।


हिमालबाट कति आम्दानी ?

२०७३÷७४ मा ६८ हिमाल आरोहणबाट ३९ करोड ३४ लाख ९८ हजार रुपैयाँ संकलन भयो। ३ सय ३५ हिमाल आरोहण भएन। पर्यटन विभागले २०७४÷७५ मा ५९ हिमाल आरोहणबाट ४६ करोड ६१ लाख ६२ हजार ७६ रुपैयाँ राजस्व उठेको छ। विभागले यस वर्षको शरद् ऋतुमा ५५ हिमाल आरोहण अनुमति दिएका छन्। सगरमाथा आरोहणका लागि विदेशी पर्वतारोहीलाई ११ हजार अमेरिकी डलर र नेपालीले ७५ हजार रुपैयाँ शुल्क तिर्नु पर्छ।

खुम्बुपासाङ ल्हामु गाउँपालिकामा नै ७६ हिमाल छन्। तर हिमाल भएका स्थानीय तह, प्रभावित क्षेत्रका स्थानीय तहसहित सबै ७ सय ५३ वटै स्थानीय तहलाई कति र कसरी उक्त राजस्व वितरण गर्ने अध्ययन भइरहेको खनालले बताए। अध्ययनपछि मात्र जम्मा भएको राजस्व बाँडफाँट हुने खनालले बताए। २ भन्दा बढी स्थानीय तहसँग जोडिएका एउटै हिमालको राजस्व ती सबै तहमा बाँडफाँट हुने आयोगको भनाइ छ।

८ हजार मिटरभन्दा अग्ला हिमाल कहाँ ?              

प्रदेश १ मा

सोलुखुम्बु– ल्होत्सेसार (८,४०४ मिटर), ताप्लेजुङ– यालुङ काङ (८,५०५ मिटर), कञ्चनजंघा साउथ (८,४७६ मिटर), कञ्चनजंघा सेन्ट्रल (८,४७३ मिटर), ल्होत्से मिडिल (८,४१० मिटर) र यालुङ काङ वेस्ट (८,०७७ मिटर), सगरमाथा (८,८४८ मिटर), कञ्चनजंघा (८,५८६ मिटर), ल्होत्से (८,५१६ मिटर), मकालु (८,४६३ मिटर), छ्यो यु (८,२०१ मिटर) छन्। यसबाहेक गण्डकी प्रदेशमा धौलागिरि प्रथम (८,१६७ मिटर), मनास्लु (८,१५६ मिटर), अन्नपूर्ण प्रथम (८,०९१ मिटर) छन्।

विश्वभरि ८ हजार मिटरभन्दा अग्ला २० हिमालमध्ये नेपालबाहिरका हिमालमा पाकिस्तानको केटू (८,६११ मिटर), नांगा पर्वत (८,१२६ मिटर), गसेरब्रम प्रथम (८,०६८ मिटर), ब्रोड पिक (८,०४७ मिटर), गसेरब्रम दोस्रो (८,०३५ मिटर) र चीनको सिसापाङमा (८,०२७ मिटर) छन्। २०७१ वैशाख २५ को मन्त्रिपरिषद् बैठकले ५८ सय मिटरभन्दा होचा हिमाल आरोहण गर्न अनुमति लिनु नपर्ने निर्णय गरेको छ।

त्यसभन्दा अग्ला ४ सय ३ हिमालको मात्र आरोहण अनुमति लिनु पर्छ। सरकारले ४ सय १४ हिमाल पर्वतारोहणका लागि खोले पनि ८६ को आरोहण हुन सकेको छैन। नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले २०१० जेठ १६ (सन् १९५३ मे २९) मा सगरमाथाको सफल आरोहणपछि हिमालसँग मानव सम्बन्ध कसिलो भएको हो। सोलुखुम्बुका कामीरिता शेर्पाले २२ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान बनाएका छन्। ५ हजार ८ सय ६७ जना ले सगरमाथा आरोहण गरेका छन्। तीमध्ये ४२ नेपालीसहित ४ सय ८ महिला छन्।

सोर्त: http://annapurnapost.com/news/116443