हिमाल उक्लिए लामखुट्टे

July 31, 2018

अच्युतराज भण्डारी, हिमालखबर, १५ श्रावन २०७५ 

उच्च हिमाली जिल्ला मुगुमा औलोका संक्रमित अन्य जिल्लामा भन्दा बढी देखिएपछि मुलुकलाई औलोमुक्त घोषणा गर्ने सरकारी योजनामा चुनौती थपिएको छ ।

केही दशक अघिसम्म तराईमा औलो लाग्ने डरले पहाड र हिमालका बासिन्दा गर्मी महीनामा तराई झर्न डराउँथे । काम भएर बस्नै पर्ने पनि गर्मी लागेपछि पहाडतिर उक्लन्थे । हिमाल र पहाडमा लामुखुट्टे भेटिन्नथ्यो, औलोको डर पनि थिएन । 

पछिल्लो समय हिमाली क्षेत्रमा लामखुट्टे उक्लिएसँगै औलो पनि पुगेको छ । मुगुको खत्याड गाउँपालिका ८ र १० वडाका गाउँहरूमा मात्रै एक वर्षमा १४४ जना औलोका बिरामी देखिएका छन् । यही असार महीनामा मात्रै यहाँ ५४ जनामा औलोको संक्रमण पाइयो । योसँगै हिमाली जिल्ला मुगु अन्य जिल्लाको तुलनामा औलोको उच्च जोखिममा रहेको सेभ द चिल्ड्रेनका एन्टोमोलोजिस्ट रोहित शाह बताउँछन् ।

“बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, वाक्वाकी हुने जस्ता लक्षण देखिएपछि रगत जाँच गर्दा औलोको संक्रमण भएको पाइयो”, प्रभावित क्षेत्रमा खटिएकी सुकाढिक स्वास्थ्य चौकीकी अनमी लीला बुढा बताउँछिन् । “एक हप्तादेखि कामज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने समस्याले थला परेकी थिएँ, घरमै आएका डाक्टरले जाँच्दा मलेरिया (औलो) हो भनेका छन्” खत्याड ८ रिगाकी १४ वर्षीया सोबिना उपाध्या भन्छिन्, “औषधि खाइरहेकी छु ।”

झूल वितरण
गर्मीयाममा मात्र होइन, असोज र कात्तिक महीनामा पनि औलोको संक्रमण पाइएको छ । गत वर्ष असोजमा रिगामा मात्रै २९ जना र कात्तिकमा ५१ जनामा औलोको संक्रमण पाइएको थियो । औलोका कारण कसैको ज्यान गएको भने अहिलेसम्म थाहा भएको छैन ।

औलोको संक्रमण बढ्दै जान थालेपछि गएको कात्तिक महीनामा स्वास्थ्य सेवा विभाग, रोग तथा महामारी नियन्त्रण महाशाखा काठमाडौंबाट आएको तीन जनाको टोलीले रिगा गाउँमा औषधि वितरण र प्रत्येक घरमा कीटनाशक औषधि छरेपछि औलोको संक्रमण निकै कम भएको थियो ।

तर केही महीनामै समस्या बल्झियाे । केन्द्रबाट आएको टोलीले जाँच गर्दा औलो सार्ने खालको लामखुट्टे गाउँमै फेला परेकोले कुनै पनि बेला यसको महामारी फैलन सक्ने जिल्ला स्वास्थ्य कार्यालय, मुगुका औलो रोग ‘फोकल पर्सन’ बलि बुढा बताउँछन् । 

उच्च हिमाली जिल्ला मुगुको विकट गाउँमा औलोको प्रकोप बढेपछि स्वास्थ्य विभाग, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, सेभ द चिल्ड्रेन, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय स्वास्थ्यकर्मी सहित १५ जनाको विशेषज्ञ टोली गएको असार अन्तिम साता रिगा, आम, सुकाढिक र ठाम्लेक गाउँ पुगेको थियो । १० दिनसम्म गाउँमै रहेको टोलीले बिरामीको जाँच, रगत परीक्षण गर्नुका साथै रोगबाट बच्ने उपाय समेत सिकाएको थियो ।

टोलीले ८ र १० वडाका औलो प्रभावित गाउँ रिगा, आम, सुकाढिक, ठाम्लेक र ह्याङ्लुमा दुई हजार कीटनाशक झुल निःशुल्क वितरण गरेको छ ।

बालबालिका प्रभावित
मुगु सदरमुकाम गमगढीदेखि पैदल दुई दिनको दूरीमा रहेको रिगामा औलोबाट १५ वर्ष मुनिका बालबालिका बढी प्रभावित भएका छन् । यस क्षेत्रमा खटिएको विशेषज्ञ टोलीका अनुसार एक वर्षमा भेटिएका १४४ जना संक्रमितमध्ये ८५ जना १५ वर्ष मुनिका छन् ।

स्वास्थ्य चौकी सुकाढिककी अनमी लीला बुढाका अनुसार धेरैजसो बालबालिकामा संक्रमण दोहोरिएको पाइएको छ । उनका अनुसार दुर्गम र विपन्न यो गाउँका बालबालिका पूरै जीउ ढाक्ने कपडा नलगाउने, हिमाली जिल्ला भएकाले झ्ुल प्रयोग नगर्ने, तीतो औषधि खान बालबालिकाले नमानेर बीचमै छोड्ने गर्दा पनि औलोको संक्रमण दोहोरिएको हुन सक्छ ।

देशमा औलो उन्मूलनको तयारी भइरहेका बेला खत्याडको ८ नम्बर वडामा मात्र गएको वर्ष ८४ र यस वर्षको असारसम्म ५४ जनामा औलो रोग देखापरेको छ । “यो ठूलो चुनौती थपिएको छ, हाम्रा लागि औलो नयाँ रोग हो” वडाध्यक्ष रामबहादुर रावत भन्छन् ।

स्थिति कस्तो छ भने अधिकांश स्थानीयलाई औलोबारे थाहा छैन । खत्याडमा औलोलाई पाला, बेले वा चाउथे ज्वरो भनिन्छ । गएको वर्ष भदौमा पालाज्वरोले सात दिनसम्म थला परपेछि जचाउँदा औलो लागेको थाहा भएको खत्याड–१० रिगाका नवराज जैसी बताउँछन् ।

नेपालमा ७० जातका पोथी लामखुट्टेले औलो सार्छन् । तीमध्ये मुगुको रिगामा तीन जातका लामखुट्टे– एनोफिलिज एनुलारिज, एनोफिलिज म्याकुलेटस र एनोफिलिज क्यूमालेटस पाइएकोे स्वास्थ्य सेवा विभाग, महामारी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल अधिकृत उत्तमराज प्याकुरेल बताउँछन् । उनी भन्छन्, “३२ असारसम्मको तथ्यांक हेर्दा मुगु नेपालको सबैभन्दा बढी औली रोगी भएको जिल्ला हुन पुगेको छ ।” 

सरकारले सन् २०२२ सम्म नेपालमा औलो रोगका बिरामीको संख्या शून्यमा झर्ने र सन् २०२६ मा नेपालमा औलो उन्मूलन भएको घोषणा गर्ने तयारी गरे पनि मुगुमा देखिएको औलोले चुनौती थपिदिएको प्याकुरेलको भनाइ छ ।

झुलको प्रयोग नगर्ने, घर वरपर सफाइ नगर्ने, १४ दिन खानुपर्ने औषधिको पूरै मात्रा नखाने जस्ता कारणले पनि औलोको संक्रमण बढेको एन्टोमोलोजिस्ट शाहको भनाइ छ ।

कसरी भित्रियो औलो
तराई वा भारतमा लामो समय बसेर आएकाहरूबाट शुरूमा औलो भित्रिएको हुनसक्ने विशेषज्ञ टोलीको अनुमान छ । यद्यपि औलो रोगको संक्रमण गराउने लामखुट्टे नै मुगुमा पाइन थालेपछि त्यो मात्रै अब औलोको कारण रहेन ।

६ वर्ष पहिले खत्याडकै दुई जनामा औलोको संक्रमण पहिलो पटक पाइएको थियो । उनीहरूको सही उपचार नहुँदा र रोग नियन्त्रणका लागि सावधानी नअपनाउँदा २०७४ साउनमा पुनः खत्याडमा औलो देखिएको एन्टोमोलोजिस्ट शाह बताउँछन् ।

उनका अनुसार, एक पटक औलोबाट संक्रमित बिरामीको राम्रोसँग उपचार नहुँदा केही वर्षपछि पुनः दोहोरिन सक्छ र अर्को व्यक्तिमा सर्ने सम्भावना पनि हुन्छ । औलोका परजीवी मानिसको शरीरमा सुषुप्तावस्थामा लामो समय रहन सक्ने र केही वर्षपछि फेरि सक्रिय हुने उनी बताउँछन् ।

स्रोत: http://himalkhabar.com/news/8377

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More