News

हुलाकी राजमार्ग : ७० करोड थप बजेट माग

February 23, 2018

विरेन्द्रप्रसाद भट्ट, आर्थिक अभियान, फागुन ११, २०७४

धनगढी । राष्ट्रिय गौरव बनेको निर्माणाधीन हुलाकी राजमार्ग आयोजनाले अर्थ मन्त्रालयसँग ७० करोड थप बजेट माग गरेको छ । आयोजनाका लागि चालू आर्थिक वर्षमा पौने १८ करोड रुपैयाँको अख्तियारी पाएकोमा उक्त बजेट ३ महीनाअघि नै सकिएकोले थप बजेट माग गरिएको आयोजना कार्यालय, धनगढीले बताएको छ । कार्यालयका अनुसार आवश्यक बजेटको माग गरे पनि अख्तियारी नआएपछि निर्माणमा समस्या भएको छ । बजेट अभावकै कारण ३ महीनादेखि कामलाई गति दिन नसकिएको उसको भनाइ छ ।

निर्माणाधीन हुलाकी राजमार्ग आयोजनाका लागि कैलाली र कञ्चनपुरलाई चालू आर्थिक वर्षमा १७ करोड ७१ लाखको अख्तियारी आएकोमा पूरै रकम खर्च भइसकेको आयोजना प्रमुख मनीषकुमार शाहले बताए । ‘बजेट अभावकै कारण निर्माणले गति लिन नसकेको हो,’ उनले भने ।

राजमार्गअन्तर्गत कैलालीको वसन्ता क्षेत्रको १८ किलोमिटर र कञ्चनपुरको दैजी–बेलौरी–डोकेबजार सडक निर्माणाधीन अवस्थामा छन् । धनगढीदेखि शक्तिसम्म ६ ओटा पुल निर्माण भइरहेको प्रमुख शाहले बताए ।

सडक विभागले अर्थ मन्त्रालयलाई बजेट माग गरिरहेको बताइएको छ । मुलुक सङ्घीयता कार्यान्वयनको चरणमा रहेकाले राष्ट्रिय ढुकुटी नै रित्तिने अवस्थामा रहेको भन्दै अर्थ मन्त्रालयले थप बजेट स्वीकृत गर्ने सङ्केत नदिएको प्रमुख शाहले बताए । भारतको अनुदानमा बनेको हुलाकी सडक खण्डको रतनपुर गाविसको कटनीदेखि भजनी त्रिशक्ति नगरपालिकासम्मको १८ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ ।

स्रोत: www.abhiyan.com.np/2018/02/23/182693