हुलाकी सडकको ५ करोड मुआब्जा वितरण

February 09, 2018

शंकर आचार्य, कान्तिपुर दैनिक, २६ माघ २०७४ 

तराईको लाइफ लाइन मानिएको हुलाकी सडक अन्तर्गत पर्साको वीरगन्जदेखि ठोरीतर्फका सडक छेउका जग्गाधनीलाई मुआब्जा वितरणको काम सुरु भएको छ ।

हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगन्जका सूचना अधिकृत इन्जिनियर शम्भुकुमार मोचीका अनुसार वीरगन्जको पावरहाउसदेखि तिलाबे खोलासम्म करीब १० किमि सडकको मुआब्जा वितरणको काम धमाधम भइरहेको छ । ‘यो खण्डमा मुआब्जा वितरणका लागि करिब ७ करोड रुपैयाँ केन्द्रबाट निकासा आएको छ,’ उनले भने, ‘त्यसमध्ये झन्डै ५ करोड रुपैयाँ मुआब्जा बापत वितरण भइसकेको छ ।’

वीरगन्ज ठोरी हुलाकी सडक खण्डअन्तर्गत पर्ने पदम रोडमा पर्ने यो सडक खण्डमा तुलनात्मक रुपमा बढी घर, घडेरी, उद्योगधन्दा आदि भएकाले यस खण्डमा लामो समयदेखि रहेको मुआब्जा विवाद थियो । प्रमुख जिल्ला अधिकारी संयोजकत्वको समितिले मुआब्जा दर निर्धारण गरेपछि कार्यालयले मुआब्जा वितरण सुरु गरेको हो । जग्गाधनीले मुआब्जा लिन थालेपछि ठेकेदारलाई निर्वाध रूपमा काम गर्न सहज भएको छ । जिल्लाको ठोरी गाउँपालिकाअन्तर्गत सुवर्णपुरवासीसँग लामो समयदेखि लालपुर्जा नहुँदा कार्यालयलाई मुआब्जा वितरणमा समस्या हुँदै आएको थियो । पछिल्लो समय धेरै जग्गाधनीले लालपुर्जा पाएको र बाँकी पनि लालपुर्जा पाउने क्रममा रहेको मोचीले बताए ।

वीरगन्ज ठोरी हुलाकी सडक खण्डको शिलान्यास करिब १ महिनाअघि भइसकेको छ । वीरगन्जदेखि ठोरीसम्म ६० किमि लामो हुलाकी सडक निर्माणको ठेक्का २ वटा प्याकेजमा लगाइएको छ । ३०/३० किमिको प्याकेजका ठेकेदार पनि फरकफरक छन् । वीरगन्जदेखि ३० किमि सडक खण्डको ठेक्का पप्पु कन्स्ट्रक्सनसहितका कम्पनीले ज्वाइन्ट भेन्चरमा पाएका छन् । ठोरीसम्म बाँकी ३० किमि सडक निर्माणको ठेक्का कालिकासहितको ज्वाइन्ट भेन्चरका कम्पनीले पाएका छन् । भारतीय सहयोगमा निर्माण हुन लागेको यो सडक खण्डको ‘राष्ट्रिय राजमार्ग एवं अवसंरचना विकास निगम लिमिटेड’ नामक भारतीय कम्पनी कन्सल्टेन्ट हो । वीरगन्ज ठोरी सडक खण्डमा साना ठूला गरी करिब १ दर्जन पुल नेपाल सरकारले तयार गरिसकेको छ । प्राविधिक त्रुटिका कारण उति बेला निर्माण सुरु हुन नसकेका थप ४ पुलको निर्माण कार्य हाल जारी छ । योजनाअनुरूप खर्च हुन नसक्दा हुलाकी राजमार्ग आयोजना योजना कार्यालयमा वर्षेनी आउने ठूलो बजेट फिर्ता हुँदै आएको थियो ।

बारातर्फ काम सुरु

हुलाकी सडकअन्तर्गत नै वीरगन्ज–कलैया–बरियापुर सडक खण्डको निर्माण कार्य भने हाल सुरु भइसकेको इन्जिनियर मोचीले जानकारी दिए । स्वच्छन्द, पप्पु, हिम सगरमाथा ज्वाइन्ट भेन्चरका ठेकेदार रहेको यो सडक खण्ड निर्माणको लागत मूल्य अभिवृद्धि करसहित ९६ करोड ९८ लाख १२ हजार रुपैयाँ रहेको छ । यही पुस १२ गते सम्झौता गरिएको यो सडक खण्ड २०७७ असार १२ भित्र निर्माण सम्पन्न गरी सक्नुपर्छ । करिब २० किमि लामो यो सडक खण्ड दायाँबायाँ १५/१५ मिटर चौडा हुने छ । यो खण्डमा ३१ वटा पुलेसा र २६ वटा पाइप कल्भर्ट छन् ।

पर्सा र बारा जिल्लाको सदरमुकाम जोड्ने मात्र नभई ग्रामीण भेगको सदरमुकामसँग सम्पर्क जोड्ने हुलाकी सडक निर्माणको माग दुबै जिल्लाका बासिन्दाले लामो समयदेखि गर्दै आएका छन् । यो सडक निर्माण भए जिल्लाको ग्रामीण भेगसम्मको पहँुच सहज र छोटो हुने मात्र नभई ग्रामीण भेगमा उत्पादन हुने कृषि उपजले सहजै बजार पाउनेछन् । हुलाकी सडक निर्माणसँगै पर्साको ठोरी गाउँपालिकाले पर्यटन क्षेत्रमा ठूलो फड्को मार्ने सम्भावना पनि छ ।

स्रोत: www.kantipurdaily.com/pradesh-2/2018/02/09/20180209110906.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More