होमस्टेले फेरिँदै गाउँ

October 09, 2017

लालप्रसाद शर्मा,कान्तिपुर दैनिक, २३ आश्विन २०७४

चन्द्रसिंह नेपालीले केही पहिलासम्म घरमा खाने मात्र तरकारी लगाउँथे । व्यावसायिक उत्पादन गर्ने सोच भए पनि तरकारी किन्न कोही नआउने, बजारसम्म झार्दा लागत पनि नउठ्ने समस्या थियो । यति बेला भने उनले ४ रोपनी जग्गामा तरकारी फलाउँछन् । लोकल कुखुरा र बाख्रा पनि पालेका छन् । बिक्री हँुदैन कि भन्ने डर छैन । गाउँमै सबै सहजै बिक्री हुन थालेको छ । उनीजस्तै ध्रुव पौडेल पनि तरकारी खेतीसँगै गाई र कुखुरापालनमा सक्रिय छन् । 

गाउँमा होमस्टे सञ्चालनसँगै पोखरा कालाबाङ घरेडी गाउँ समृद्धितर्फ लम्किँदै छ । आन्तरिक र बाह्य पर्यटकको समेत रोजाइमा परेपछि चहलपहल बढेको हो । पर्यटक आउने क्रमसँगै स्थानीय विभिन्न आयआर्जनका काममा व्यस्त हुन थालेपछि गाउँको मुहार फेरिँदै गएको छ । ‘होमस्टेले छोटो समयमै परिचय फेरिएर पर्यटकीय गाउँको रूपमा चिनायो,’ कालाबाङ घरेडी सामुदायिक होमस्टेका संयोजक रवीन्द्र गुरुङले भने, ‘गाउँका बासिन्दा बजार झर्न छाडे । बरु बजारबाट गाउँतिर सामान ल्याउन सुरु भएको छ । स्थानीयवासी कुनै न कुनै आम्दानीको बाटोमा लागेकाले समृद्धिउन्मुख छ ।’ 

करिब डेढ सयभन्दा बढी घर रहेको गाउँका १८ घरमा ५६ बेडसहित होमस्टेको व्यवस्था छ । ०७१ मा होमस्टे सुरु हुँदा गाउँ बिग्रिने डरमा रहेका गाउँले हाल पर्यटक आउन थालेपछि ठीक गरिएछ भन्न थालेका छन् । होमस्टे सञ्चालित घरबाहेक अन्य घरले पनि तरकारी र फलफूल खेती, बाख्रा र कुखुरापालनजस्ता काममा लागेका छन् । गाउँमा उत्पादित एक मुठा साग पनि खेर जाने अवस्था छैन । बसाइ–सराइ रोकिएको छ । बाँझो जग्गामा खेती हुन थालेको छ । व्यक्तिगतदेखि गाउँकै सरसफाइमा ध्यान दिइएको छ । सामूहिक भावनाको विकास भएको छ । ‘नसोचेको परिवर्तन भएको छ,’ होमस्टे समितिका उपाध्यक्ष प्रकाश गुरुङले भने, ‘बजार झरेकालाई गाउँमै फर्काएर होमस्टेको माध्यमबाट समृद्धिमा डोर्‍याउने योजनामा छौं ।’

होमस्टे अध्यक्ष राजबहादुर गुरुङले एक घरले हाल ५० हजारदेखि एक लाख रुपैयाँसम्म वार्षिक आम्दानी गर्न थालेको बताए । होमस्टेका माध्ययमबाट युवा पुस्तालाई गाउँमै रोक्ने योजना उनले सुनाए । ‘पर्यटक बढदै गएर बेड थोरै हुने अवस्था आइसकेकाले पिस्तार गर्दै र्छौं,’ उनले भने, ‘होमस्टेले बजारभन्दा गाउँ ठीक भन्ने भावनाको विकास भएको छ ।’ 

यसअघि बर्सेनि २/४ घर बसाइ सर्ने गरेकोमा हाल त्यो क्रम रोकिएको उनले बताए । बजार झरिसकेका दर्गाबहादुर गुरुङले फेरि फर्किएर नयाँ घर बनाउन थालेका छन् । प्रेम गुरुङ र गमबहादुर गुरुङ पुरानो घर मर्मतमा लागेका छन् । होमस्टे सञ्चालक निर्मला गुरुङले घरमै बसेर आम्दानीको लिन पाएको बताइन् । ‘गाउँको उत्पादनले उचित मूल्यसहित बजार पाएको छ,’ उनले भनिन्, ‘गाउँमा बाँझो जग्गा देखिन छाडेको छ ।’

बजारबाट नजिक, अन्नपूर्ण हिमशृंखला, पोखरा बजार, फेवातालको दृश्यावलोकन, स्थानीयस्तरमा उत्पादित अर्गानिक खानाको स्वाद, बाह्रै महिना सजिलै पुग्न सकिने, स्थानीय संस्कृति, रहनसहनसँग साक्षात्कार हुने, सूर्योदय र सूर्यास्तको अवलोकन गर्न पाइने यहाँको विशेषता हो । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) पोखराका अध्यक्ष रवीन्द्र पौडेलले कालाबाङ ग्रामीण पर्यटनमा नमुना बन्दै गएको बताए । 

‘प्राकृतिक, भौगोलिक, कला र संस्कृति, शान्त र स्वस्थ वातावरणीय हिसाबले गाउँ उत्कृष्ट छ,’ उनले भने, ‘सहरीकरणमा बसेर अत्तालिएका आन्तरिक हुन् या नेपाल घुम्न आएका विदेशी पर्यटक । हिमाल, तालसँग प्रत्यक्ष साक्षात्कार गर्दै गाउँको रहनसहन, अर्गानिक खाना तथा जैविक विविधतालगायतको भरपूर मनोरञ्जन लिन पाउने अवसर मिल्छ ।’ 


स्रोत : http://kantipur.ekantipur.com/news/2017-10-09/20171009082917.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More