१० अर्ब ६० करोड राजस्व

July 19, 2019

हिमनाथ देवकोटा, नागरिक, साउन ०३, २०७६ 

रसुवा – रसुवागढी भन्सार कार्यालयले १० अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्ष (आव) २०७५/७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार रुपैयाँ राजस्व संकलन गरिएको हो। यो वार्षिक लक्ष्यभन्दा १११.५३ प्रतिशत हो।

रसुवागढी भन्सार कार्यालयलाई चालू आवमा ९ अर्ब ५० करोड ६२ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य दिइएको थियो। नाकामा आयात तथा निर्यात बढ्दै जाँदा राजस्व संकलन बढेको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए। अन्य भन्सारमा राजस्व संकलन घटेपछि सन्तुलन मिलाउन रसुवागढी भन्सारलाई पहिले निर्धारित वार्षिक लक्ष्यमा थप गरिएको थियो। रसुवागढी नाकाबाट रेडिमेड सामग्री, इलेक्ट्रोनिक सामग्री र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चाहिने सामग्री आयात भइरहेको छ। सामग्री आयात बढ्दै जाँदा राजस्व संकलन पनि बढ्दै गएको हो।

रसुवागढी नाकाबाट सामग्रीको आयात बढेको र भन्सार मूल्यांकनमा वृद्धि भएसँगै राजस्व संकलन बढेको प्रमुख भन्सार अधिकृत खड्काले बताए। राजस्व बढ्नुका कारण सरकारले नीति परिवर्तन गर्नु, सामग्रीको मूल्यांकनको पार्ट, विदेशी मुद्राको भाउ र निर्माणका सामग्रीको आयात बढ्नु रहेको बताइएको छ।

‘चिनियाँ सहयोगमा विकास निर्माणका लागि आवश्यक सामग्रीसमेत यही नाका हुँदै भित्रिएको छ,’ उनले भने, ‘यसले पनि राजस्व संकलनमा टेवा दिएको छ।’ आव २०७२/७३ मा २ अर्ब ४ करोड ४६ लाख ८७ हजार ७ सय ४४, आव २०७३/७४ मा २ अर्ब ९२ करोड १८ लाख २ हजार, आव २०७४/७५ मा ४ अर्ब ५९ करोड २३ लाख १९ हजार राजस्व उठेको कार्यालयको तथ्यांक छ।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता, चप्पल, चस्माको फ्रेमलगायत सामग्री आयात भइरहेको छ भने बाँसका मुढा, काठका सामग्री, हस्तकलाका सामग्री, मैदा, चिउरालगायत सामग्री निर्यात भइरहेको छ। चालू आवमा रसुवागढी भन्सार कार्यालय र नेचुङ भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व उठेको छ।

स्रोत: https://nagariknews.nagariknetwork.com/news/83000/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More