१० ठाउँ शिविर राखेर 'फास्ट ट्रयाक' बनाउँदै सेना

September 05, 2017

गोपीकृष्ण ढुंगाना, अन्नपुर्ण पोस्ट, २० भाद्र २०७४ 

राजधानीलाई पूर्वी तराईसँग जोड्ने बहुप्रतिक्षित ७६.२ किलोमिटर लम्बाईको द्रुतमार्ग निर्माणका लागि सेनाले १० स्थानमा शिविर स्थापना गरी एक हजार सेनालाई खटाएको छ ।

यो मार्ग निर्माणपछि ५९ मिनेटमै बारा पुग्न सकिनेछ । काठमाडौंबाट मुग्लिङ हुँदै हेटौंडा पुग्न सवारी साधानलाई आठ घण्टा खर्चनु पर्ने वाध्यता छ । सेनाले एक महिनाअघि पाँच ठाउँमा सैन्य शिविर राखी काम अघि बढाएको थियो ।

आगामी पाँच वर्षभित्र पूरा गर्ने प्रतिबद्धता जनाएको सेनाका प्रवक्ता एवं सहायक रथी झंकरबहादुर कडायतले सैन्य शिविरको संख्या दोब्बर बनाएको र सबै शिविरमा बराबरी रहने गरी एक हजार सेनालाई द्रूत मार्ग निर्माणमा खटाएको जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग मातहतमा काम हुनेगरी यसअघि २०६९ पनि नेपाली सेनाले नै द्रूत मार्गको ट्रयाक खनेर सरकारलाई हस्तान्तरण गरेको थियो ।
उनले आइतबार अन्नपूर्णसँग भने, ‘ट्रयाक खनेपछि थुप्रै समय सडक यसै रहँदा बर्खाले भत्काएको, कतै पुरिएको त कतै विभिन्न बाधाअड्चन आएकाले त्यसलाई बनाउने काममा सेनालाई खटाएका छौं ।’

उनले निर्धारित समयमै द्रूत मार्ग सक्नेगरी काम थालिएको जानकारी पनि दिए । गत असारमा सरकारले द्रूत मार्ग चाँडो सकाउन सोसम्बन्धी कार्यविधिसमेत पारित गरिसकेको छ ।
सरकारले द्रूत मार्ग निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि लक्षित गरेकाले पनि यो सडक राष्ट्रिय गौरवको आयोजनामा राखी प्राथमिकता दिएको हो । यसले छिमेकी राष्ट्रद्वय भारत र चीनलाई समेत जोड्ने लक्ष्य राखेको छ ।

राजधानी काठमाडौं (ललितपुरको चाल्नाखेल) बाट सुरु हुने द्रूत मार्गले ललितपुर र मकवानपुर बारालाई जोड्नेछ । यो मार्ग क्रमशः काठमाडौंमा ४ दशमलव ९, ललितपुरमा ७ दशमलव ९, मकवानपुरमा ५६ दशमलव ७ र बारामा ७ दशमलव ६ किलोमिटर गरी कुल ७६ दशमलव २ किलोमिटरको हुनेछ । चार लेनको उक्त द्रूत मार्गको बीचमा डिभाइडर हुनेछ । यसमा बढीमा एक सय १० किलोमिटरको गतिमा सवारीसाधन सञ्चालन गर्न सकिनेछ । यसको उच्च पहाडी क्षेत्रमा २३ मिटर र समथर क्षेत्रमा २५ मिटर चौडा हुनेछ । मार्ग घुमाउरो हुनेछैन ।

सिलान्यास समारोहमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सेनाले निर्धारित समयभित्रै गुणस्तरीय काम गरी द्रूतमार्ग सरकारलाई हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएका थिए ।मार्गको दुई ठाउँमा सुरुङ हुनेछ भने यसको निर्माणका लागि सुरुआतमा १ खर्ब १२ अर्ब रुपैयाँ लाग्ने भनिए पनि डीपीआरपछि सरकारले टुंगो लगाउनेछ ।

द्रूत मार्गका लागि यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतीय कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गर्ने जिम्मा दिएको थियो । ‘त्यो डिपिआर अध्ययनकै क्रममा छ’, सेनाका प्रवक्ता कडायतले भने, ‘बढीमा एक महिनाभित्र यसबारे टुंगोमा पुग्छौं । यदि सबै ढंगले सही ठहरिएमा सोही डिपिआर खरिद गर्ने र काम अघि बढाउनेछ ।’

स्रोत: 

http://annapurnapost.com/news/79445

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More