१० महिनामा साढे ७ लाख पर्यटक

November 20, 2017

कान्तिपुर राष्ट्रिय दैनिक, ०३ मंसिर २०७४

पछिल्लो १० महिनामा नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भई ७ लाख ५७ हजार ४ सय ४८ पुगेको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा एक तिहाइले बढी हो । 

अध्यागमन विभागले जारी गरेको सन् २०१७ को पहिले १० महिनामा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या सात लाख नाघेको हो । सन् २०१६ को पूरै १२ महिनाको दाँजोमा चालु वर्षमा ४ हजार ४ सय बढी पर्यटक आएका हुन् । 

पर्यटन बोर्डले यस वर्ष १० लाख पर्यटक पुग्ने प्रक्षेपण गरेको छ । ‘यस वर्षको तथ्यांक अघिल्लो वर्षसँग विश्लेषण गर्दा ३० देखि ३५ प्रतिशतले विदेशी पर्यटक बढेको देखिन्छ,’ बोर्डका निर्देशक सुनील शर्माले भने, ‘यही अनुपातले पर्यटक आगमन रहयो भने अबको दुई महिनामा नेपाल आउने पर्यटकसहितको कुल संख्या सन् २०१७ मा १० लाख पुग्नेछ ।’ 

शर्माका अनुसार यो संख्या हालसम्मकै उच्च हुनेछ । अहिलेसम्म सबैभन्दा धेरै विदेशी पर्यटक सन् २०१२ मा आएका थिए । त्यस वर्ष ८ लाख ३ हजार ९२ विदेशी नेपाल घुम्न आएका थिए । यस वर्ष तारे र पर्यटक स्तरका होटलको अकुपेन्सी ९० प्रतिशत हाराहारी रहेको छ । पर्यटक बोक्ने अधिकांश विदेशी एयरलाइन्समा यो नोभेम्बर महिनाभर टिकट ‘सोल्ड आउट’ भइसकेका छन् । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी अहिले नेपालमा पर्यटकको संख्या बढ्नुमा पहिलो कारण भूकम्पलाई मान्छन् । ‘भूकम्पले नेपाललाई विश्वभर चिनायो,’ उनले भने । यसबाहेक पछिल्लोपटक सोसल मिडियाका कारण पनि नेपाल घुम्न आउने पर्यटकको संख्या बढेको बोर्डले जनाएको छ ।

यस वर्षको पहिलो दस महिनामा हवाई मार्ग भएर सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल घुम्न आएका थिए । तथ्यांकअनुसार भारतबाट १ लाख ३३ हजार, दोस्रोमा चीनबाट ८३ हजार, तेस्रोमा संयुक्त राज्य अमेरिकाबाट ६५ हजार पर्यटक नेपाल आएका थिए । यी मुलुकपछि धेरै पर्यटक आउनेहरूमा क्रमश: श्रीलंका, बेलायत, थाइल्यान्ड, म्यानमानर, कोरिया, अस्ट्रेलिया र जर्मनी छन् । 

सबैभन्दा धेरै पर्यटक अक्टोबरमा १ लाख १२ हजार र मार्चमा एक लाख ६ हजार आएका थिए । सन् २०१७ को पहिलो दस महिनामा नेपालमा हवाई बाटो भएर आउने १३ लाख ८१ हजार नेपालीसहित विदेशीको संख्या २१ लाख ३९ हजार पुगेको छ । नेपालीलाई अध्यागमन विभागले पर्यटकको सूचीमा राख्दैन ।

स्रोत: http://kantipur.ekantipur.com/news/2017-11-20/20171120084010.html

Newsletter

Submit your details below to receive Newsletters

Newsletter