१० हजार लगानीमा लाखौं आम्दानी

July 26, 2017

संगम घर्तिमगर , नागरिक दैनिक , ११ श्रावण २०७४ 

यहाँको एक परिवारले सानो लगानीबाट सुरु गरेको नर्सरी व्यवसायबाट अहिले लाखौं आम्दानी गरिहेको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेका रनबहादुर थापाले २०५७ सालमा पहिलोपटक १० हजार रुपैयाँ लगानी गरी सुरु गरेकोनर्सरी पेसाबाट वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गरिरहेको बताए । 

सानो लगानीलाई हरेक वर्ष बढाउँदै लगेपछि अहिले आम्दानी पनि बढ्दै गएको उनी बताउँछन् ।पहिलोपटक १० हजार लगानी गरेर सुन्तलाको नर्सरी स्थापना गरें,’ थापाले भने, ‘पहिलोपटक बेर्ना बेच्दा ४५ हजार आम्दानी भयो । त्यसपछि गरे हुँदो रहेछ भन्ने लागेर व्यावसायिक बनाउनतर्फ लागें ।’ हरेक वर्ष लगानी थप गरेर बिरुवा उत्पादन गर्ने गरेको थापाले बताए । ‘सुन्तला राम्रो फल्ने भएपछि पहिलोपटक ६ सय रुपैयाँको बिरुवा लिएर लगाएको थिएँ, पछि आफैं नर्सरी बनाएर बिरुवा उत्पादन गर्न थालें,’ उनले थपे । 

थापा परिवार नै अहिले नर्सरी र कृषि पेसामा आवद्ध छन् । २०७० सालमा धौलागिरि थापा नर्सरी फार्म दर्ता गरेर उनीहरुले यसलाई व्यावसायिक बनाएका हुन् । उनीहरुले अहिले बारीमा खेतीबाली लगाउन छोडेर फलफूल खेती गर्न थालेका छन् । आफ्नो बाबुले २०१८ सालमा गरेको सुन्तला खेतीबाट प्रभावित भई ६ सय रुपैयाँको बिरुवा गरेर व्यावसायिक काम थालेको उनको भनाइ छ । 

‘फलफूल खेतीका लागि यो ठाउँ निकै अनुकूल छ,’उनले भने, ‘हामी साना हुँदा बुबाले सुन्तला लगाउनुभएको थियो । पछि मैले केही बिरुवा थपें । अहिले यसैलाई व्यवसाय बनाएको छु ।’ 

थापाको नर्सरीमा सुन्तला, लिची, कागती,मेवा, अनार, टिमुर, अंगुर लगायतका बेर्ना (बिरुवा)उत्पादन हुन्छ । उनले नर्सरीबाट हरेक वर्ष फरकफरक प्रजातिका ४० देखि ५० हजार बिरुवा उत्पादन  गरेर बेच्नछन् । बिरुवाको बजारमूल्य प्रजाति अनुसार प्रतिबिरुवा २५ देखि ५० रुपैयाँसम्म पर्छ ।  बेर्ना तयार हुन करिब १८ महिना लाग्छ । 

नर्सरीबाट मात्रै वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी हुने गरेको थापाले सुनाए । ‘नर्सरी लगाउँदा २५–३० हजार खर्च हुन्छ,’ थापाले भने, ‘बिक्री गर्दा चार पाँच लाखसम्म आम्दानी हुने गरेको छ ।’ बागलुङ, मुस्ताङ, म्याग्दी, पर्वत, कास्की, रुकुम, रोल्पा र काठमाडौंबाट समेत बेर्नाको माग आउने गरेका उनले बताए । जिल्ला कृषि विकास कार्यालयमार्फत नर्सरी तालिम लिएपछि व्यावसायिक रुपमा नर्सरी फार्म सञ्चालन गरेको उनी बताउँछन् । उनको फार्मबाट जिल्ला कृषि विकास कार्यालयले समेत बिरुवा किनेर अन्य किसानलाई वितरण गर्छ । 

थापालाईश्रीमती र छोराबुहारीले समेत काममा सघाउने गरेका छन् । ‘घरकै काम गरेर घरमै राम्रै आम्दानी गरेका छौं,’ थापाकी पत्नी ५१ वर्षीय सुकुमारी थापाले भनिन्, ‘यसैमा आत्मसन्तोष मिलेको छ ।’ नर्सरीका अलावा उनीहरुले विभिन्न फलफूलको खेती समेत गरेका छन् । सुन्तला, लिची, किवी लगायत खेतीबाट पनि राम्रो आम्दानी हुने गरेको उनी बताउँछिन् । ‘सुन्तलाबाट वार्षिक ५०–६० हजार कमाइ हुन्छ,’ थापा भन्छिन्, ‘लिची र किवी पनि अब विस्तारै आम्दानी दिने हुन थालेका छन् ।’ नर्सरी व्यवसाय सफल हुँदै गएपछि थापा दम्पत्तिले काठमाडौं बस्ने छोरालाई समेत घरमै बोलाएका छन् । ‘छोरा पढ्न काठमाडौं गएको थियो, विवाहपछि छोरालाई पनि यही बसेर हामीलाई सहयोग गर्न भनेका छौं,’ उनले भनिन् । यो पेसाबाट छोरा–बुहारी पनि खुसी रहेको उनको भनाइ छ । 

बाबुआमाले गरेको पेसाबाट राम्रो आम्दानी भएपछि आफू पनि यहीँ बसेर सोही व्यवसायलाई विस्तार गर्ने योजनामा रहेको २४ वर्षीय विष्णु थापाले बताए । ‘बाबाले सुरु गरेको यो पेसाले राम्रो आम्दानी भएको छ,’ विष्णुले भने, ‘अब सबैलाई थप विस्तार गर्ने योजना छ ।’ 

स्रोत: http://www.nagariknews.com/news/24239/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More