११ करोड ८९ लाखको प्याज आयात

January 30, 2020

हिमनाथ देवकोटा, नागरिक, माघ १६, २०७६ 

रसुवा - रसुवागढी नाकाबाट चालु आर्थिक वर्ष २०७६-७७ को पहिलो ६ महिनामा करिब १२ करोड मूल्य बराबरको प्याज आयात भएको छ। गत साउनदेखि पुस मसान्तसम्ममा ११ करोड ८९ लाख ७८ हजार तीन सय ८४ रुपयाँ मूल्य बराबरको प्याज आयात भएको हो।

यो अवधिमा २० लाख दुई सय ३७ केजी प्याज आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ। भारतबाट प्याज आयात रोकिएपछि गएको असोजदेखि चीनबाट प्याज आयात सुरु भएको थियोे। यसअघि यो नाकाबाट थोरै परिमाणमा आउने गरेको भए पनि पछिल्लो समय प्याज आयात बढ्दै गएको कार्यालयले जनाएको छ।

रसुवागढी नाकाबाट असोजअघि लसुन मात्रै आयात हुने गरेको थियो। भारतबाट प्याज आयातमा कमी आएसँगै चीनबाट आयात बढेको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए। मागको तुलनामा नेपालमा प्याज उत्पादन नभएकाले भारतबाट प्याज आयात हुने गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार भारतबाट ९५ प्रतिशत र चीनबाट पाँच प्रतिशत प्याज आयात हुन्छ।

नेपालीको भान्छामा पाक्ने कुल प्याजको परिमाणमध्ये झण्डै ९८ प्रतिशत आयात हुने गरेको विभागले जनाएको छ। २०७१ देखि रसुवागढी नाकामा कारोबार सुरु भएको हो। त्यसयता चीनबाट तेल, फलफूल, रेडिमेड सामग्री, इलेक्ट्रिक सामग्री, निर्माणका सामग्री आयात हुँदै आएको छ।

रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरिसकेको छ। चीनबाट तयारी कपडा, स्याउ, लेडिज सेण्डल, रबर, प्लाष्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपीएस, प्लाष्टिकका सामग्रीहरू आयात हुने गरेको छ। नेपालबाट चीनतर्फ धातुको मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुडा, मेहन्दी, दन्तमन्जन, शृंगारका सामान, चाउचाउ, पास्ता, जुस, जाम, चकलेट, उनीका गलैंचा, कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिम लगायतका मुख्य वस्तु निकासी हुने गरेको छ।

२०७१ देखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक दुई सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्। चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ।

स्रोत: https://nagariknews.nagariknetwork.com/news/114665/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More