विश्वराज पछल्डङ्ग्या, नयाँ पत्रिका, फागुन २, २०७४
दुई वर्षअघि नै सम्पन्न हुनुपर्ने राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम १२ वर्ष बित्दा आधा मात्रै भएको छ । ०७७ असार मसान्तभित्र आयोजनाको निर्माण सम्पन्न गर्ने नयाँ लक्ष्य निर्धारण गरिएको छ ।
स्वदेशी लगानीमा निर्माण भइरहेको सिक्टाले ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने अनुमान छ । अहिले पश्चिमी मूल नहर निर्माण भएको छ भने पूर्वी मूल नहर, सिधनिया र डडुवा शाखा नहर निर्माणको काम भइरहेको छ ।
५२ प्रतिशत काम सकिएको बताउँदै सिक्टा सिँचाइ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर प्रकाशबहादुर कार्कीले भने, ‘पश्चिम नहरले भ्याउने ठाउँका किसानलाई सिँचाइ सुविधासमेत दिइसकेका छौँ ।’
सिक्टाको पहिलो सर्वेक्षण ०३२ मा जर्मनको लाभेरा संस्थाले गरेको थियो । त्यतिवेला दातृ निकाय नभेटिएपछि रोकिएको थियो । त्यही संस्थाले दोस्रोपटक सर्वेक्षण गर्दा पनि उस्तै भयो, सुरुवात नै हुन सकेन । तेस्रोपटक निर्माणको काम सुरु भए पनि भारतले पत्र पठाएर विरोध ग-यो र काम रोकियो । त्यतिवेला बाँकेको कचनापुर क्षेत्रमा नहर खन्न थालिएको थियो ।
०७२ असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आर्थिक वर्ष ०६२÷६३ मा १२ अर्ब ८० करोड रुपैयाँ लगानी अनुमान गरिएको थियो । त्यसपछि नौ हजार हेक्टर जमिनमा सिँचाइ पु-याउने गरी पूर्वी नहर थपिएपछि यसको लागत २५ अर्ब दुई करोड रुपैयाँ पुग्यो ।
अब यसको सम्पूर्ण निर्माण कार्य ०७७ असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । तर, अहिलेसम्म बाँध र ४५ किलोमिटर लामो मूल नहरसहित ५२ प्रतिशत काम मात्रै पूरा भएको छ ।
बाँध र पश्चिमी मूल नहर पूरा
सिक्टा निर्माण सुरु भएको १२ वर्षपछि बाँध र पश्चिमी मूल नहर सम्पन्न भएको छ । सिक्टा सिँचाइ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर कार्कीका अनुसार ४५ किलोमिटर लामो पश्चिमी मूल नहरको काम सम्पन्न भएको हो ।
पूर्वी नहर निर्माण सुरू
राप्तीपारिको नौ हजार हेक्टर जमिनमा सिँचाइ पु-याउने सिक्टाका पूर्वी नहर निर्माणको काम सुरू भएको छ । नहर क्षेत्रमा पर्ने रुख कटान र रेखांकनको काम भइरहेको छ । ५५ किलोमिटर लामो यस नहरको ४५ किलोमिटर क्षेत्र जंगलमा पर्छ । कार्कीले भने, ‘वन कार्यालयसँग अनुमति लिनुपर्ने भएकोले केही विलम्ब भएको हो ।’
सात शाखा नहरमा अलमल
सिक्टाअन्तर्गत अकल घरुवा, गोहवा, पर्सेनीपुर, पेडारी, गुरुवागाउँ, टिटिहिरिया र थपुवाका शाखा नहरको काम भने अलमलमै छ । टिटिहिरिया र थपुवा शाखा नहरको आउटलेट निर्माणसमेत भएको छैन । डिजाइन हुन बाँकी रहेकाले आउटलेट निर्माण हुन नसकेको आयोजनाले जनाएको छ ।
डुडुवा शाखा नहर निर्माण सुस्त
सिक्टाको बाँधबाट ३४.४ किलोमिटरबाट डुडुवा शाखा नहर सुरु हुन्छ । यसले १६ हजार हेक्टर जमिनमा सिँचाइ हुनेछ । २३ किलोमिटर लामो यो नहरमा १८.५ क्युसेक पानी बहने जनाएको छ ।
सिक्टाको सबैभन्दा धेरै क्षेत्रफल ओगट्ने शाखा नहर हो । यसबाट सीतापुर, राधापुर, इन्द्रपुर, पिप्रहवा, उदयपुर, हिरमिनिया, भवनियापुर, परस्पुर, जयसपुरलगायतका क्षेत्रमा सिँचाइ हुनेछ ।
यो शाखा नहर निर्माणको काम सुस्त गतिमा छ । कोस्टल–पप्पु जेभी कन्स्ट्रक्सनले निर्माण सम्झौताको ७० प्रतिशत अवधि सकिँदा दुई प्रतिशत काम मात्रै गरेको छ । बन्द, हडताल, निर्माण सामग्री उपलब्ध नभएको र विद्युत्का पोल नहटाएकाले ढिलो भएको निर्माण कम्पनीले जनाएको छ ।
स्रोत: www.enayapatrika.com/2018/02/12/23054/