News

१३ हजार ६१७ पर्यटक नेपालमै अड्किए

March 26, 2020

सुनिता कार्की, कान्तिपुर, चैत्र १३, २०७६ 

काठमाडौं : सरकारले सोमबारदेखि एक हप्ताका लागि लकडाउन गरेपछि नेपाल भित्रिएका तेस्रो मुलुकका विदेशी पर्यटक जहाँ छन् त्यही नै अड्किएका छन्। नेपाल पर्यटक बोर्डको तथ्यांकअनुसार १३ हजार ६१७ जना विदेशी पर्यटक विभिन्न बहानामा नेपालमा अड्किएका हुन्। मार्च महिनामा २५ हजार २५३ जना विदेशी पर्यटक नेपाल भित्रिएकोमा ११ हजार ६३६ जना फर्किसकेको बोर्डको तथ्यांक छ। बाँकि १३ हजार ६१७ जनामा केही विदेशी कूटनीतिक, केही नेपालमा बसोबास गर्न लामो भिसा अवधि लिएर आएका र केही नेपाल घुम्न आएका हुन सक्ने बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए। नेपालमा रहेका १० हजार ३० पर्यटकले पछिल्लो ६ दिनयता भिसा थपका लागि निवेदन दिएको बोर्डको तथ्यांक छ।

मार्च महिनामा एक हजार ९० जनालाई अन्नपूर्ण, लाङटाङ र सगरमाथा क्षेत्रमा पदयात्राका लागि अनुमति दिइएको बोर्डको भनाइ छ। अन्नपूर्ण क्षेत्रमा ७२४, लाङटाङमा २१० र सगरमाथा क्षेत्रमा १५६ जना एफआईटी-फिट (फ्रि इन्टरनेसनल टुरिस्ट) जो एक वा २ जना भएर पदयात्राका लागि निस्कन्छन् त्यस्ता पर्यटकलाई पदयात्राको अनुमति दिइएको रेग्मीले बताए।

यता, समूहमा पदयात्राका लागि नेपाल आउने पर्यटक एजेन्सीको माध्यमबाट आउने र उनीहरूलाई टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)ले अनुमति दिने गर्छ। समूहमा आउने पदयात्रीभन्दा पनि फिट पदयात्री अहिले ठाउँ ठाउँमा अड्किएको टान सचिव दामोदर ढकालले बताए। खुम्बु पासाङल्हामु गाउँपालिकाको तथ्यांकअनुसार ९६ जना, लुक्ला र आसपासका क्षेत्रमा दुई सयभन्दा बढी पदयात्री अड्किएको ढकालले जानकारी दिए। कोभिड १९ को त्रासका कारण अन्नपूर्ण गाउँपालिका ११ को छोम्रोङ पर्यटन व्यवस्थापन समितिले अर्को सूचना जारी नभएसम्मका लागि अन्नपूर्ण आधार शिविर क्षेत्रका झिनु, घुर्जुङ, किम्रोङ खोला र छोस्रोङदेखि अन्नपूर्ण बेस क्याम्पका होटल बन्द गर्दै पर्यटक आवागमनमा निषेध जारी गरेको छ। यस्तै, पर्यटन व्यवस्थापन समिति घान्दु्रकले पनि निषेधाज्ञा जारी गरेको छ।

यो सम्बन्धमा अलपत्र परेका पर्यटकको जिम्मा पर्यटन बोर्डले लिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताए। ‘बोर्डले क्राइसिस टिम खडा गरेको छ। त्यसअनुसार पोखरा, चितवन र काठमाडौंमा फोन गर्न सक्ने व्यवस्था रहेको बोर्डको वेबसाइटमा जानकारी गराइएको छ। अलपत्र परेका पर्यटकले त्यस माध्यबाट सम्पर्क गर्न सक्छन्। अलपत्र पर्ने र हराउने अवस्था छैन’, उनी भन्छन्।

रोकिएका पर्यटकले खान र बस्न पाउन भनेर बोर्डले सम्बन्धित क्षेत्रका होटल व्यवसायीलाई खबर गरेको र त्यसको सम्पूर्ण खर्च बोर्डले नै व्यहोर्ने व्यवस्था गरिएको रेग्मीले जानकारी दिए। तर, सम्बन्धित मुलुकका दूतावासलाई आफ्ना नागरिकका बारेमा जानकारी राख्न भनिए पनि दूतावासले खासै चासो नदिएकोे उनी बताउँछन्।

फ्रान्सले आफ्ना नागरिक लैजाने
फ्रान्स सरकारले नेपालमा अड्किएका आफ्ना नागरिक स्वदेश फिर्ता लैजाने भएको छ। बिहीबार काठमाडौंमा विमान ल्याई आफ्ना नागरिक फिर्ता लैजाने तयारी गरिरहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए। हाल कति फ्रान्सेली पर्यटक नेपालमा छन् भने यकिन तथ्यांक नभए पनि बोर्डले लुक्लाबाट विमानमार्फत् केही पर्यटक ल्याउन सहयोग गर्ने तयारी गरेको बताइएको छ। परराष्ट्र मन्त्रालयको समन्वयमा फ्रान्सेली पर्यटक फिर्ता पठाउने तयारी भइरहेको छ। यस्तै अप्रिल १ तारिकमा पनि कोरियाले आफ्ना नागरिक फिर्ता लैजाने बताइएको छ।

स्रोत: http://annapurnapost.com/news/151293