News

१५ लाख हेक्टरमा रोपाइँ हुने

June 26, 2017

राजेश बर्मा, अन्नपुर्ण पोस्ट दैनिक, असार १२, २०७४

असार महिनाको सुरुआतसँगै देशभर धान रोप्ने क्रम सुरु भएको छ । यो वर्ष निर्धारित समयभन्दा दुई दिन ढिलो गरी भित्रिएको मनसुनको सक्रियतासँगै धान रोपाइँ सुरु भएको हो । मनसुन सक्रिय भए पनि यो वर्ष रोपाइँकै समयमा स्थानीय तहको निर्वाचन हुन लागेकाले रोपाइँ केही प्रभावित हुनसक्ने देखिएको छ । असार १४ गते प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय निर्वाचन हुँदैछ ।

सामान्यतया जुन १० मा भित्रिने मनसुन यो वर्ष १२ जुनमा नेपाल प्रवेश गरेको हो । मनसुनी वादलको सक्रियताका कारण देशभर फाट्टफुट्ट रूपमा भए पनि अकाशे पानीपर्ने क्रम सुरु भएको छ । अकाशे पानीपर्न थालेपछि उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंसहित मुलुकभर ब्याडमा राखिएको बिउ प्रयोग गरी किसानले खेतमा रोपाइँ गर्न थालेका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसम विज्ञ सुवास रिमालले भन्नुभयो, ‘धान रोपाइँको मौसम सुरु हुनै लाग्दा भित्रिएको मनसुन पनि सक्रिय भएको छ । धान रोपाइँको समयमा यो वर्ष राम्रै परिमाणमा अकाशे पानीपर्ने लक्ष्य देखिएको छ ।'

कृषि विकास मन्त्रालयले यो वर्ष असारको सुरुआतसँगै मौसममा देखिएको साकारात्मक लक्ष्णका कारण धानवालीको रोपाइँ गत वर्षभन्दा बढी हुने जानकारी गराएको छ । मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले यो वर्ष १५ पनि अघिल्लो आर्थिक वर्षजस्तै १५ लाख ५२ हजार चार सय ६९ हेक्टरमा धानबालीको रोपाइँ गर्ने तयारी भएको जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक वर्षमा पनि १५ लाख ५२ हजार हेक्टरमा धान रोपाइँ सम्पन्न भएको थियो । ‘गत वर्षको हेक्टरजस्तै यो वर्ष पनि रोपाइँ हुने हाम्रो प्रक्षेपण छ', प्रवक्ता कार्कीले भन्नुभयो,‘आगामी आर्थिक वर्षमा चालू आर्थिक वर्षभन्दा एक लाख ७० हजार मेट्रिक टन बढी धान फलाउने मन्त्रालयको योजना छ ।' मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष ५४ लाख मेट्रिक टन धान फलाउने लक्ष्य राखिएको छ ।

चालू आर्थिक वर्ष २०७३/७४ मा भने हालसम्मका सबै ‘रेकर्ड' तोड्दै ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । कृषि मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०६८/६९ मा ५० लाख ७२ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै गत आर्थिक वर्ष २०७०/७१ मा ५० लाख ४७ हजार र २०७१/७२ मा ४७ लाख ८८ हजार मेट्रिक टन धान फलेको थियो ।

बजार मूल्यअनुसार करिब डेढ खर्ब मूल्य बराबरका धान उत्पादन भएको थियो । यही परिमाणमा धानको उत्पादन भइरहने हो भने नेपाल छिटै नै धानमा आत्मनिर्भर हुने मन्त्रालयले दाबी गरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आर्थिक वर्ष २०७३/७४ को १० महिनामा २० अर्ब २६ करोड ३६ लाख १५ हजार मूल्य बरारबको धान भारत, इटली, बहराइन, चीन, थाइल्यान्ड, कोरिया, जापान, मलेसिया, बंगलादेश अमेरिका, सिंगापुर र भियतनामबाट तीन लाख ५९ हजार नौं सय ९१ मेट्रिक टन विभिन्न प्रकारका चामल आयात भएको थियो ।

यही वर्षमा सबैभन्दा बढी धान पनि फलेको थियो । अघिल्लो आर्थिक वर्ष २०७२/७३ मा भने २२ अर्ब ८० करोड ३० लाख ६५ हजार मूल्य बराबरको पाँच लाख ३९ हजार ६ सय मेट्रिक टन चामल आयात भएको थियो । आयात हुने अधिकांश चामलको परिमाणमध्ये मसिनादार र वास्नादार चामल छन् । सरकारले धानको आयातदर प्रतिस्थापन गर्न आगामी आर्थिक वर्षमा धानमा मुलुकलाई आत्मनिर्भर बनाउने योजना अघि बढाएको छ । यसका लागि प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा ल्याएको छ ।

धानबालीलाई आवश्यक पर्ने अकाशे पानी चालू आर्थिक वर्षमा नियमित रूपमा सबै क्षेत्रमा परेकाले र मलको आपूर्ति पनि सहज रूपमा भएकाले धानको उत्पादनमा वृद्धि भएको हो । धानबालीकै लागि भनेर कृषि सामग्री कम्पनीले ६० हजार र साल्ट ट्रेडिङ कर्पोरेसनले १० हजार मेट्रिक टन गरी ७० हजार मेट्रिक टन युरिया मल मौज्दात गरी राखेको छ भने कृषि सामग्रीले थप १० हजार मेट्रिक टन युरिया भित्र्याउने क्रममा छ । वर्षे धान र मकै बालीलाई ७० हजार मेट्रिक टन युरियाको माग छ ।

यस वर्षको आर्थिक सर्वेक्षणअनुसार यो वर्ष कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान २८.९ प्रतिशतमा सीमित रहने उल्लेख छ । अघिल्लो आर्थिक वर्ष जीडीपीमा कृषिको योगदान ३१ प्रतिशत थियो । अघिल्लो आर्थिक वर्षको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण जीडीपीमा कृषि क्षेत्रको हिस्सा घट्दै गएको हो । कृषिमा धानको योगदान करिब २१ प्रतिशत छ । कुल खाद्यान्नमध्ये धानले ५० प्रतिशत हिस्सा ओगटेको छ ।

धान दिवस बनाउने तयारी

सरकारले योवर्ष दुई बाली धान खेतीको विस्तार, आर्थिक समृद्धिको आधार भन्ने नाराका साथ चौधांै राष्ट्रिय धान दिवस मनाउने तयारी गरेको छ ।कृषि विकास मन्त्रालय र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले संयुक्त रूपमा असार १५ गते खुमलटारस्थित बाली विज्ञान महाशाखामा यो दिवस मनाउन लागेको हो । यसैगरी राष्ट्रिय कृषक समूह महासंघसँगै नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीको किसानसम्बन्धी भातृ संगठनले असार १५ मा रोपाइँ कार्यक्रमको आयोजना गरेको छ ।

 

स्रोत: http://annapurnapost.com/news/74042