News

१९४५ यताकै ठूलो मानवीय संकट : राष्ट्रसंघ

March 14, 2017

BBC, New York (Published in Kantipur 12th March 2017)

राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी संस्थाले विश्वले सन् १९४५ यताकै सबैभन्दा ठूलो मानवीय संकटको सामना गरिरहेको जनाएको छ । यो संकटबाट मुक्तिका लागि सहयोगका लागि पनि राष्ट्रसंघले आह्वान गरेको छ । 

राष्ट्रसंघको मानवीय सहायता प्रमुख स्टिफन ओ ब्राइनले यमन, सोमालिया, दक्षिण सुडान र नाइजेरियाका २ करोडभन्दा बढी मानिसले भोकमरी र अकालको खतरा सामना गरिरहेको जनाएका छन् । यो संकटको समाधानका लागि आगामी जुलाईसम्म ४.४ अर्ब डलर आवश्यक रहेको ब्राइनको भनाइ छ । 

युनिसेफले यस वर्ष १४ लाख मानिसको मृत्यु भोकमरीका कारण हुन सक्ने यसअघि नै चेतावनी दिइसकेको छ । ‘हामी इतिहासकै नाजुक मोडमा छौं,’ सुरक्षा परिषद्मा ब्राइनले शुक्रबार भने, ‘वर्षको सुरुदेखि नै हामीले राष्ट्रसंघ स्थापना भएयताकै ठूलो मानवीय संकटको सामना गरिरहेका छौं ।’

विश्व खाद्य संगठन (डब्लूएफपी) को एक तथ्यांकअनुसार गम्भीर खाद्य असुरक्षाबाट नाइजेरियामा १८ लाखभन्दा बढी मानिस, यमनमा १ करोड ४१ लाख, दक्षिण सुडानमा ४९ लाख र सोमालियामा २९ लाख मानिस प्रभावित छन् । राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले पनि गत महिना मानवीय संकट अन्त्यका लागि आह्वान गरेका थिए । त्यसबेला उनले २०१७ मा राष्ट्रसंघले ९ करोड डलरमात्र सहयोग प्राप्त गरेको खुलासा गरेका थिए । भोकमरीबाट प्रभावित चार देशका लागि थप आर्थिक सहायता आवश्यक रहेको उनले बताएका थिए ।

राष्ट्रसंघको अनुमानअनुसार यमनको कुल जनसंख्याको दुई तिहाइ अर्थात् १ करोड ९० लाख मानिसलाई कुनै न कुनै खालको मानवीय सहायता आवश्यक छ । यमनमा रोकथाम गर्न सकिने रोगका कारण हरेक मिनेटमा १० बालबालिकाको मृत्यु हुने गरेको बताइएको छ । 

यस्तै, ५ वर्षमुनिका ५ लाख बालबालिका गम्भीर कुपोषणबाट प्रभावित छन् ।  दक्षिण सुडानमा १ लाख मानिसले भोकमरीको सामना गरिहेको र करिब १० लाख मानिस भोकमरीको अवस्थामा पुगेको राष्ट्रसंघले जनाएको छ । त्यहाँको कुल जनसंख्याको ४९ प्रतिशत अर्थात् ४९ लाख मानिसलाई तत्काल खाना, कृषि र पोषण सहयोगको आवश्यकता रहेको जनाइएको छ ।  

Source: http://kantipur.ekantipur.com/news/2017-03-12/20170312082534.html