यज्ञ बञ्जाडे, कान्तिपुर, भाद्र २९, २०७९
काठमाडौँ — हरेक वर्ष नेपाल भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को तुलनामा सोही अवधिमा नेपालबाट बाहिरिने लाभांशबापतको रकम धेरै रहेको राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ ।
नेपालमा विभिन्न क्षेत्रका ५५ वटा राष्ट्रबाट एफडीआई आउने गरेको भए पनि हरेक वर्ष विदेशी लगानीको लाभांशबापत बाहिरिने रकम धेरै रहेको राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७/७८’ ले देखाएको छ ।
आर्थिक वर्ष ०७७/७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालितमध्ये कुल १ सय ९७ कम्पनीको नमुना छनोट गरी सर्वेक्षण गरिएको राष्ट्र बैंकले जनाएको छ । उक्त अवधिसम्म करिब २ खर्ब २८ अर्ब रुपैयाँ बराबर एफडीआई मात्र लगानीमा छ । सर्वेक्षणका अनुसार आर्थिक वर्ष ०७७/७८ मा नेपालमा कुल १९ अर्ब ५१ करोड रुपैयाँ एफडीआई भित्रिएको छ । तर, सोही आर्थिक वर्षमा विदेशी लगानीबापतको लाभांशका रूपमा मात्र करिब २६ अर्ब रुपैयाँ बाहिरिएको छ । यसबाहेक हरेक वर्षजसो नेपालबाट विदेशी लगानी पनि फिर्ता हुने गरेको तथ्यांकहरूले देखाएका छन् ।
यसरी फिर्ता हुने विदेशी लगानी र हरेक वर्ष लाभांशबापत बाहिरिने रकम जोड्दा ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिने जानकारहरू बताउँछन् । हरेक वर्ष नेपाल भित्रिने एफडीआई सोही वर्षको मात्र हुने तर उक्त अवधिमा लाभांशका रूपमा बाहिरिने रकम हालसम्मको सबै एफडीआईको भएकाले भित्रिनेभन्दा बाहिरिने रकम धेरै देखिएको हुन सक्ने राष्ट्र बैंकले बताएको छ । ‘अघिल्लो आर्थिक वर्षमा आएको एफडीआई गएको १२ महिनाको मात्र हो,’ राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले भने, ‘तर उक्त अवधिमा बाहिरिएको लाभांश नेपालमा लगानीमा रहेको सबै विदेशी लगानीको हो । यसकारण भित्रिने एफडीआईभन्दा बाहिरिने लाभांश धेरै हुन्छ ।’
प्रतिफल नहुने स्थानमा लगानीकर्ताको आकर्षण नहुने भएकाले लाभांशबापत धेरै रकम बाहिरियो भन्नुभन्दा पनि कसरी धेरैभन्दा धेरै विदेशी लगानी भित्र्याउने र त्यसका लागि गर्नुपर्ने नीतिगत र व्यावहारिक सुधार केके हुन भन्ने पहिचान गरी कार्यान्वयनमा ल्याउनुपर्ने उनको सुझाव छ । यद्यपि पछिल्ला आर्थिक वर्षमा नेपालमा अपेक्षित रूपमा एफडीआई भित्रिन नसकेको उनले स्विकारे । ‘ठूलो परिमाणमा विदेशी लगानी भित्र्याउन सबै पक्षमा धेरै सुधार गर्नुपर्नेछ,’ उनले भने ।
सर्वेक्षणका अनुसार आर्थिक वर्ष ०७७/७८ को अन्त्यसम्ममा लगानीमा रहेको कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात २ खर्ब २७ अर्ब ९५ करोड रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०७७/७८ मा लगानीमा रहेको एफडीआई १४.८ प्रतिशतले बढेको सर्वेक्षणमा उल्लेख छ । ‘कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९, सञ्चितिको ३१.६ र कर्जाको अंश १४.५ प्रतिशत छ,’ सर्वेक्षणमा भनिएको छ, ‘उक्त अवधिमा चुक्ता पुँजीको अंश १३.७ प्रतिशतले बढेकाले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको हो ।’ मुलुक भित्रिएको एफडीआईमध्ये आधाभन्दा बढी (करिब ५६ प्रतिशत) वाग्मती प्रदेशमा मात्र केन्द्रित रहेको सर्वेक्षणले देखाएको छ ।
मुलुक संघीयतामा गएको करिब ५ वर्ष भइसक्दा पनि वित्तीय पहुँच, कर्जा उपयोग, उद्योग सञ्चालनलगायत वित्तीय क्षेत्रका महत्त्वपूर्ण आयाम वाग्मतीमै केन्द्रित देखिन्छ । यसैगरी दोस्रोमा धेरै विदेशी लगानी केन्द्रित रहेको प्रदेश १ हो भने तेस्रोमा गण्डकीमा धेरै विदेशी लगानी रहेको सर्वेक्षणले औंल्याएको छ । त्यसपछि क्रमशः मधेस, लुम्बिनी र सुदूरपश्चिममा धेरै विदेशी लगानी रहेको देखिन्छ । कर्णाली प्रदेशमा विदेशी लगानीको हिस्सा शून्य छ ।
नेपालमा लगानीमा रहेको एफडीआईमध्ये ६० प्रतिशतभन्दा बढी औद्योगिक क्षेत्रमा लगानी भएको सर्वेक्षणले देखाएको छ । करिब ४० प्रतिशत रकम सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत्मा ३०.८ र उत्पादनमूलक क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको राष्ट्र बैंकले जनाएको छ । कुल एफडीआईमध्ये २६.९ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा रहेको पनि सर्वेक्षणले औंल्याएको छ । ‘अघिल्लो आर्थिक वर्षमा वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४.९ प्रतिशत रहेको पाइएको छ,’ राष्ट्र बैंकले भनेको छ, ‘नाफाको दर करिब १४.७ प्रतिशत रहेको पाइएको छ ।’
आर्थिक वर्ष ०७७/७८ मा दक्षिण एसियाबाहेक सबै राष्ट्रमा विदेशी लगानी आप्रवाह बढेको छ । उक्त अवधिमा विश्वभर करिब साढे ६४ प्रतिशतले विदेशी लगानी बढेको देखिन्छ । यसअनुसार विकसित मुलकमा विदेशी लगानीको वृद्धिदर १ सय ३४ प्रतिशत र विकासशील मुलुकमा करिब ३० प्रतिशत छ । एसिया क्षेत्रका चीन, हङकङ र सिंगापुरमा विदेशी लगानी उल्लेख्य रूपमा बढेको छ भने दक्षिण एसियामा करिब २७ प्रतिशतले घटेको सर्वेक्षणमा उल्लेख छ ।
‘कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चिति ३१.६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत छ,’ सर्वेक्षणमा भनिएको छ, ‘चुक्ता पुँजीको अंश १३.७ प्रतिशत बढेकाले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि आएको हो ।’
स्रोत: https://ekantipur.com/business/2022/09/14/166312321857579023.html