कारोबार राष्ट्रिय दैनिक, ०८ आश्विन, २०७४
काठमाडौंः सरकारले हिमाली जिल्लामा १ लाखको संख्यामा भेडाच्याङ्ग्रा पाल्ने तयारी सुरु गरेको छ । ऊन उत्पादन गर्नका लागि हिमाली जिल्ला भेडाच्याङ्ग्रा पालन गर्न लागिएको हो । वाणिज्य मन्त्रालयले ऊनको उत्पादन बढाउन भेडा–च्याङ्ग्रापालन गर्ने तयारी गरिएको जनाएको छ ।
वाणिज्यमन्त्री मीनकुमार विश्वकर्माले अन्तर्राष्ट्रिय बजारमा ऊनको माग धेरै भएकाले स्थानीय स्तरमा उत्पादन गर्न भेडाच्याङ्ग्रा पालन गर्न लागिएको जानकारी दिए । “कृषि विकास मन्त्रालयसँग समन्वय गरेर हिमाली जिल्लामा १ लाखको संख्यामा भेडाच्याङ्ग्रा पालन गर्न लागिएको छ,” मन्त्री विश्वकर्माले भने, “व्यावसायिक रूपमा पालन गर्ने किसानको हातमा सीधै पुग्ने पर्ने गरी वितरण गरिनेछ ।” अन्तर्राष्ट्रिय बजारमा ऊनको माग भए पनि नेपालमा उत्पादन नहुँदा निर्यात गर्न नसकिएको मन्त्री विश्वकर्माको भनाइ छ ।
“बढ्दो व्यापारघाटा कम गर्न निर्यातयोग्य वस्तुको पहिचान गरी उत्पादन बढाउने कार्यक्रम सञ्चालन गर्न लागिएको छ,” मन्त्री विश्वकर्माले भने, “यसै वर्षदेखि २० जिल्लामा अलैंची, अदुवा, चिया, बेमौसमी तरकारीको उत्पादन बढाउन लागिएको छ ।” अन्तर्राष्ट्रिय बजारमा नेपाली पस्मिनाको माग धेरै भएकाले पनि उत्पादन बढाएर निर्यातमा विशेष जोड दिइने उनले बताए ।
निर्र्यात बढाउन नसक्दा मुलुकले कहालीलाग्दो व्यापारघाटा बेहोरिरहेको भन्दै मन्त्री विश्वकर्माले कृषिजन्य वस्तुको उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न सके व्यापारघाटा कम हुँदै जाने बताए । मुलुकमा ५० लाख हेक्टर खेतीयोग्य जमिन भए पनि सबैमा खेती नहुँदा वार्षिक ३० अर्बभन्दा धेरैको खाद्यान्न आयात भइरहेको छ ।
“उपभोक्ताको उपभोग्य क्षमता बढ्दै गए पनि सोहीअनुसार मुलुकमा उत्पादन हुन सकेको छैन,” मन्त्री विश्वकर्माले भने, “रेमिट्यान्स र खुला सिमानाका कारण उपभोक्ताको जीवनयापन सहज बन्दै गएको छ ।” छिमेकी मुलुक भारतसँग सबैभन्दा धेरै व्यापार हुने भएकाले व्यापारघाटा ७ सय अर्ब पुगेको छ । मुलुकको वैदेशिक व्यापारघाटा ९ खर्ब ९० अर्ब पुगेको छ ।
तर, निर्यात भने न्यून छ, जसले गर्दा पनि मुलुकले धेरै व्यापारघाटा बेहोर्नुपरेको छ । लागत महँगो हुँदा स्वदेशी उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा निर्यात बढ्न सकेको छैन । सरकारले निर्यात प्रवद्र्धन गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी बनेको छैन ।
स्रोत:
https://www.karobardaily.com/news/82527