News

१ सय ५० ले चढे सगरमाथा

May 17, 2019

अन्नपूर्ण पोष्ट, जेठ ०३, २०७६ 

काठमाडौं : आरोहण सुरु भएको तेस्रो दिनमै १ सय ५० जनाभन्दा बढीले सगरमाथा आरोहण गरेका छन्। बुधबारमात्रै एक सय जनाले सगरमाथाको सफल आरोहण गरेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। यो वर्ष सन् २०१९ को वसन्त ऋतुमा हिमाल आरोहण केहीदिन अघि मात्र सुरु भएको हो।  

मंगलबार बिहान डोरी टाङ्दै शिखर चुमेका आठ जना शेर्पा गाइडपछि बुधबार ५० जनाले सगरमाथा आरोहण गरेर फर्किरहेका छन्। बिहीबार बिहानमात्रै करिब एक सय जनाले सगरमाथाको सफल आरोहण गरेको श्रेष्ठले अन्नपूर्णलाई जानकारी दिए। उनका अनुसार मौसम खुलेको र अधिकांश आरोही शिखरतर्फ उकालो लागेकाले समय अनुकूल हुनसाथ आरोहण गर्न थालेका छन्।  

सगरमाथा आरोहणका निम्ति यो सिजनमा ४८ देशका ३ सय ७८ आरोही आधार शिविरबाट अगाडि बढेका छन्। यो वर्ष आफ्नै कीर्तिमान तोड्नै कामीरिता शेर्पाले २३औं पटक सगरमाथा चुचुरोमा पुगेका छन्। उनी फेरि आरोहण गर्ने तयारीमा छन्। सेभेन समीट टे«क्सबाट भारतीय टोलीलाई गाइड गर्दै गाएका शेर्पाले आफ्नै समूहभन्दा अगाडि सगरमाथा आरोहण गरेका हुन्। शेर्पाले बुधबार बिहान २३औं पटक सगरमाथा आरोहण गरेको भएपनि उनी फेरि भारतीय टोलीसँग सगरमाथा चढ्ने तयारीमा रहेको सेभेन समीटका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिए। उनका अनुसार शेर्पा गाइडका रूपमा गएर शिखर चुमेका हुन्।

सगरमाथा आरोहणका निम्ति यो सिजनमा ४८ देशका ३ सय ७८ आरोही आधार शिविरबाट अगाडि बढेका छन्। 

गुरागाईंका अनुसार यो सिजनमा सेभेन समिटबाट मात्रै ६६ जना आरोहणका लागि सगरमाथा गएका छन्। यसमध्ये बिहीबारसम्मा ६ जनाले आरोहण गर्न नसकेर फर्किएका छन्। यो सिजनमा यस कम्पनीबाट आरोहीकै रूपमा भने जम्मा दुई जना नेपाली गएका छन्। कामीरिता भने गाइडकै रूपमा गएका भए पनि उनको आरोहणले भने कीतिमान कायम गरेको छ।  

कामीरिताले एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गर्न लागेको यो चौथोपटक हो। उनले सन् २००९, २०१० र २०१३ मा एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेको सेभेन समीटले जानकारी दिएको छ।  

दुईको निधन

कञ्चनजंघा आरोहणका क्रममा दुई जना भारतीय नागरिकको ज्यान गएको छ। भारतीय नागरिक ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुन्तल करारको निधन भएको पिक प्रमोसनले जानकारी दिएको पर्यटन विभागको भनाइ छ। औपचारिक रूपमा पुष्टि नभएसम्म विभागले जानकारी नदिएको हो। यस्तै सोही हिमाल अरोहणका क्रममा चिलीका नागरिक रोडरिगो भिभ्यान हराइरहेका छन्।  

स्रोत: http://annapurnapost.com/news/127508