२० लाख पर्यटक भित्र्याउने लक्ष्य

May 29, 2017

Abhiyan, 29th May 2017, Kathmandu

चालू आर्थिक वर्षको ८ महीनामा पर्यटन क्षेत्रबाट रू. ३६ अर्ब १९ करोड ९० लाखबराबरको विदेशी मुद्रा आर्जन भएको छ । यो रकम प्राप्त विदेशी मुद्राको अनुपातमा ६६ दशमलव ८ प्रतिशत र कुल वस्तु निर्यात एवम् सेवाबाट प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा २३ दशमलव ३ प्रतिशत रहेको छ । गत आवमा यो क्षेत्रबाट रू. ४१ अर्ब ७६ करोड ५० लाखबराबरको विदेशी मुद्रा आर्जन भएको थियो ।

अर्थ मन्त्रालयले आइतवार सार्वजनिक गरेको आव २०७३/७४ को आर्थिक सर्वेक्षण अनुसार यो आर्थिक वर्षमा पर्यटन क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादनमा १ दशमलव ९८ प्रतिशत मात्र योगदान रहने अनुमान गरिएको छ । अघिल्लो आवमा गार्हस्थ्य उत्पादनमा २ प्रतिशतको योगदान रहेको थियो । सन् २०१५ को तुलनामा २०१६ मा नेपालमा २ लाख बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१५ मा ५ लाख ३८ हजार ९ सय ७० जना पर्यटकले नेपाल भ्रमण गरेकोमा २०१६ मा ७ लाख ५३ हजार २ जना पर्यटकले नेपाल भ्रमण गरेको सर्वेक्षणमा उल्लेख छ ।  यो सङ्ख्या २०१३ र २०१४ को तुलनामा कम हो । यस्तै सन् २०१६ मा नेपाल भ्रमण गर्ने सबैभन्दा बढी भारतीय पर्यटक रहेका  छन् भने दोस्रोमा चिनियाँ, तेस्रोमा श्रीलङ्काली, चौथोमा अमेरिकी र पाँचौंमा बेलायती पर्यटक रहेका छन् । यी मुलुकबाट आउने पर्यटक सङ्ख्या र बाँकी मुलुकबाट आउनेको सङ्ख्या बराबरीजस्तै छ ।

सरकारले विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त पर्यटकीय गन्तव्य तथा पुरातात्त्विक सम्पदाको पुनर्निर्माण गरी पर्यटनलाई पूर्व अवस्थामा ल्याउनु र यसको सेवा तथा गुणस्तर विस्तार र पर्यटनसम्बन्धी प्रमुख सूचकको गणना गर्न पर्यटन स्याटेलाइट लेखाप्रणालीको विकास गरी पर्यटन क्षेत्रले मुलुकको अर्थतन्त्रमा पुर्‍याएको योगदानको यकिन गर्ने काम चुनौतीपूर्ण रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरेको छ । सरकारले सन् २०२५ सम्ममा २५ लाखभन्दा बढी पर्यटक नेपाल भित्र्याउने तथा ९ लाख हाराहारीमा रोजगारी सृजना गर्ने लक्ष्य लिएको छ ।

Source: http://www.abhiyan.com.np/new/Articles/view/98536

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More