News

२० हजार स्याउ बोटको बिमा हुँदै

February 26, 2018

एलपी देवकोटा, यज्ञ बञ्झाडे, कान्तिपुर दैनिक, १४ फागुन २०७४

आउँदो चैतसम्म जुम्ला जिल्लामा मात्र करिब २० हजार स्याउ बोटको बिमा हुने भएको छ । करिब तीन वर्षदेखि सुरु भएको मौसममा आधारित स्याउको बिमा यो वर्ष उच्च दरले बढेको हो । हाल नेपालमा शिखर इन्स्योरेन्सले मात्र मौसममा आधारित स्याउको बिमा गर्दै आएको छ । 

‘यो वर्ष (चैतसम्म) मात्र थप १९ देखि २० हजार स्याउ बोटको बिमा गर्ने लक्ष्य छ,’ शिखर इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक ऋषिराज पाण्डेले भने, ‘त्यसका लागि सबै तयारी पूरा भएको छ । ती किसानको आकर्षण हेर्दा बिमा भएको स्याउको बोट कम्तीमा पनि २५ हजारभन्दा बढी पुग्ने पाण्डेको दाबी छ । मौसममा अधारित स्याउको बिमामा निश्चित सिमा(६० एमएम) भन्दा कम पानी परेको अवस्थामा बिमा कम्पनीबाट दाबी भुक्तानी गरिन्छ । यसका आधारमा जति कम पानी पर्छ त्यति बढी दाबी भुक्तानी पाइन्छ ।

सक्षम एक्सेस टु फाइनान्सको सहयोगमा शिखर इन्स्योरेन्सले विगत ३ वर्षदेखि जुम्मामा मौसममा आधारित स्याउको बिमा गर्दै आएको छ । पहिलो वर्ष ४७ जना किसानको ७ सय ५५ वोट स्याउको बिमा भएको थियो । गत वर्ष बिमा गर्ने किसान संख्या बढेर १ सय ४७ जनाले ५ हजार ४ सय वोटको बिमा गरेको थियो । हाल कम्पनीले जुम्लामा मात्रै १ सय ६६ जना किसानको ६ हजार ६ सय वटा स्याउको बोटको बिमा गरिएको क्षेत्रीय प्रबन्धक पाण्डेले बताए । ‘मौसममा आधारित बिमाका असिनाबाट भएको नोक्सानी पनि समावेश गरिएको हुन्छ,’ उनले भने, ‘यसकारण यो बिमामा किसानको आकर्षण निकै बढ्दो छ ।’

कृषि विमाका प्रिमियम (बिमा शुल्क) को ७५ प्रतिशत सरकारी अनुदान छ । यसकारण स्याउको बिमा गर्दा किसानले प्रतिबोट ४२ रुपैयाँ बिमा शुल्क तिर्नुपर्छ । जुम्लामा यो बिमा सुरु गर्दाको वर्ष तोकिएको भन्दा बढी पानी परेकाले कम्पनीले दाबी भुक्तानी दिएन । तर, गत वर्ष कम पानी परेकाले १ सय ४७ जना किसानलाई न्यूनतम २ हजार ९ सय ५० रुपैयाँदेखि १ लाख ११ रुपैयाँसम्म दाबी भुक्तानी दिइएको कम्पनीले बताएको छ ।

 

जुम्लामा स्याउको बिमा गर्नेहरूको संख्या बढ्दै गएको जानकारहरू बताउँछन । पानी कम पर्नुका साथै असिना, हावाहुरीले स्याउ नष्ट भएमा बिमा कम्पनीबाट पैसा पाइने भएपछि यसतर्फ किसानहरूको आकर्षण बढेको उनीहरूको भनाइ छ । थोरै लगानीमा धेरै रकम प्राप्त हुने भएपछि बिमाप्रतिको आकर्षण बढ्दो क्रममा देखिएको हो ।

 

सरकारी कार्यक्रमअनुसारले इन्स्योरेन्स कम्पनीहरू अहिले कर्णालीका ग्रामीण क्षेत्रमा जाने गरेका छन् । यसकारण कर्णालीबासीले निर्जीवन, पशु कृषि, स्वास्थ्य सवारी साधन बिमा सुविधा उपभोग गर्न पाएका छन् ।

 

जुम्लाबाट सुरु भएको निर्जीवन बिमा मुगु, कालिकोट, डोल्पा र हुम्लामा संचालन भइरहेको छ । जुम्लामा निर्जीवन बिमाले धेरैलाई राहात पुराएको छ । अहिलेसम्म जुम्लामा ४७, डोल्पामा ६९ र मुगुमा पहिलोपटक ३० जनाले बिमा बापत दाबी भुक्तानी प्राप्त गरिसकेका छन् । हुम्ला र कालिकोटमा पनि दाबी भुक्तानी वितरणको तयारी भइरहेको बिमा कम्पनीहरूले जनाएका छन् ।

 

हालसम्म जुम्लामा सबैभन्दा बढी १ हजार स्याउको बिमा गरिएको छ । यो कर्णालीका अन्य जिल्लाहरूमा भन्दा सबैभन्दा बढी हो । मुगुमा सबैभन्दा कम १० वटा स्याउका वोटको बिमा भएको छ । निर्जीवन बिमा कार्यक्रममा सरकारले कुल बिमा शुल्कको ७५ प्रतिशत अनुदान दिएको छ । यसको अर्थ किसानले २५ प्रतिशत मात्र बिमा शुल्क तिरे पुग्छ ।

 

बिमाका फाइदाका बारेमा पछिल्लो समय बढ्दै गएको चेतनाका कारण बिमा गराउने कृषकहरूको संख्या बढ्दै गएको जुम्लाका बिमा सहजकर्ता लक्षिराम महतले बताए । उनका अनुसार थोरै लगानीले धेरै पाउने चेतनाले छोएपछि बिमा गर्नेहरूको संख्या बढ्दै छ । कर्णाली ४ जिल्लाभन्दा जुम्लामा सबैभन्दा बढी बिमित रहेका छन् । जसमध्ये ४७ जनाले एक वर्ष यताको भुक्तानी पाएका छन् भने जुम्लामा झन्डै ५ सयभन्दा बढी बिमित संख्या छ । स्थानीयको सहजताका लागि इस्सोरेन्स कम्पन्नीहरूले भुक्तानी रकम सीधै बैंक खातामा हाल्ने र चेक हस्तान्तरण गर्ने गरेका छन् । चेतना वृद्धिसँगै बिमा गर्नेको संख्या बढेपछि विभिन्न किसिमका जोखिमबाट किसानहरू सुरक्षित रहेको जानकारहरू बताउँछन् ।

 

करिब २१ हजार घरधुरी भएको जुम्लामा २० हजार स्याउ खेतीमा आबद्ध भएको कृषि विकास कार्यालय जुम्लाले बताएको छ । कार्यालयका अनुसार जुम्लाको २ हजार ८ सय हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन हुन्छ । तीमध्ये हाल ९ सय हेक्टरमा व्यावसायिक रूपमा स्याउ खेती हुँदै आएको छ । यो वर्ष (०७३ मा) जुम्लामा करिब १८ करोड रुपैयाँ बराबरको स्याउ उत्पादन भएको छ । सिजनमा प्रतिकिलो ४० देखि ४५ रुपैयाँका दरले बारीबाटै स्याउ बिक्री हँुदै आएको छ । गत वर्ष जुम्लामा साढे १६ करोड रुपैयाँ बराबरको स्याउ उत्पादन भएको थियो । ०७१ मा ५५ सय मेट्रिक टन स्याउ उत्पादन भएको जनाइएको छ ।

 

जुम्लाको स्याउ गुणस्तरीय हुने भए पनि विगतमा मोटरबाटोको सुविधा नहुँदा बजार पाएको थिएन । ०६३ सालमै सुर्खेत जुम्मा जोड्ने सडकको ट्रयाक खुले पनि करिब ६ वर्षअघि फराकिलो बनाइएको हो । त्यसपछि यहाँको स्याउले राम्रो बजार पाएको छ । करिब ३ वर्षअघि उक्त बाटो कालोपत्रै गरिएको छ । त्यसपछि स्याउ फारम (स्याउ बारी) बाटैसीधै बिक्री हुँदै आएको किसानहरू बताउँछन् ।

स्रोत: https://www.kantipurdaily.com/business/2018/02/26/20180226074337.html