२३ कृषिजन्य वस्तुमा कर

August 30, 2017

लक्ष्मी प्रसाद देवकोटा, कारोबार राष्ट्रिय दैनिक, १४ भाद्र २०७४ 

पर्वतको फलेवास नगरपालिकाले २३ वटा कृषिजन्य वस्तुमा कर लगाउने भएको छ । नगर सभाले नगरपालिकाभित्र पर्ने ११ वटै वडामा उत्पादन हुने कृषिसम्बन्धी उत्पादन तथा सेवामा कर लगाउने निर्णय गरेको हो ।

नगरभित्रका साविकका ११ वटा गाविसमा हुने विभिन्न प्रकृतिका उत्पादनलाई बाहिर निर्यात गर्दा वा नगरपालिकाभित्र आयात गर्दा कर लिने व्यवस्था गरिएको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले जानकारी दिए ।

ग्रामीण क्षेत्रलाई समेटेर बनाइएको नगरपालिकाको आर्थिक समृद्धिका लागि २३ प्रकारका कृषिजन्य वस्तु तथा गैरकाष्ठ वन पैदावार, खोलानालामा माछा मार्ने, बस्तुभाऊ निकासी पैठारी गर्नेहरूबाट कर उठाउने निर्णय गरिएको हो । नगरपालिकाभित्र उत्पादन हुने कृषिजन्य वस्तुको परिमाणलाई आँकलन गरी प्रत्येक कृषिजन्य उत्पादनको फरक–फरक दररेटसमेत कायम गरिएको छ ।

न्यूनतम एक रुपैयाँदेखि १ सय रुपैयाँसम्म कर संकलन गर्ने निर्णय गरेर ठेक्कापट्टाका लागि टेन्डर आह्वान गरिएको समेत शर्माले जानकारी दिए । 
नगरपालिकाको कार्यालयको आन्तरिक खर्च व्यवस्थापन, कर्मचारीहरूको तलब भत्ता तथा नगरको भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बढाउन पहिलोपटक मितव्ययी रूपमा कर संकलन गर्न लागिएको नगर प्रमुख शर्माको भनाइ छ ।

सुन्तला तथा अमिलो जातका फलफूल, तरकारी बिउ तथा ताजा तरकारी, कफी, लप्सी, आलु, अलैंची, अदुवा, बेसार, मह तथा माहुरीका गोला, दूध निकासीबापत कर लगाइने भएको हो । त्यसैगरी खसीबोका, भेडा, खुकुरा, गाई–भैंसी, राँगा, बंगुरमा समेत कर लगाइने भएको छ ।

नगरभित्र उत्पादित वस्तु निकासीका लागि मुख्य तीनवटा नाकाबाट कर संकलन गर्न टेन्डरसमेत आह्वान गरिएको छ । सदरमुकाम कुश्माबजारसँग जोडिने फलेवास नगरपालिका–४ मुडिकुवामा रहेको मुलुककै अग्लो झोलुङ्गे पुल, दोविल्ला फलेवास सडकअन्तर्गत मल्याङ्दी खोला पुल र स्याङ्जा र कुश्मा नगरपालिकासँग जोडिने अर्को नाका फलेवास नगरपालिका–१ स्थित कार्किनेटालाई नाका तोकेर कर उठाउने तयारी भएको नगरपालिकाका कार्यकारी अधिकृत मोती सापकोटाले जानकारी दिए ।

भर्खरै नगरपालिका बनेकाले आफूहरूलाई मार पर्ने गरी कर उठाउने निर्णय भएपछि कतिपय कृषक असन्तुष्ट बनेका छन् । निर्वाहमुखी रूपमा गर्दै आएको व्यवसायमा समेत कर उठाउने कार्य जायज नहुने स्थानीय नारायण श्रेष्ठले बताए 

स्रोत: 

https://www.karobardaily.com/news/81921

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More