कारोबार आर्थिक दैनिक, ०९ भाद्र २०७४
केही दिनअघि बाँकेमा आएको बाढीका कारण २५ करोड रुपैयाँ बराबरको खाद्यान्न नष्ट भएको छ । बाढीले सयौं घर डुब्दा ती घरमा रहेको करिब २५ करोड मूल्यको खाद्यान्न भिजेर तथा बगेर नष्ट भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार राप्ती र डुडुवा नदीको किनारका दर्जनौं गाउँ बस्तीमा पानी पसेर घरमा राखिएको २५ करोड जतिको चामल, गहुँ, पिठो, मकै, दाललगायतका अन्य खाद्यान्न भिजेर तथा बगेर नष्ट भएका छन् ।
बाँकेका करिब ३ हजार घर क्षतिग्रस्त हुँदा र ३ हजार ५ सय घर डुबानमा पर्दा ती घरभित्र राखिएका सबै खाद्यान्न भिजेर कुहिने अवस्थामा पुगेको जानकारी आएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले बताए ।
घरमा राखिएको खाद्यान्न के कति क्षति भयो के कति जोगियो सो सम्बन्धमा लगत संकलनको काम भइरहेकाले नोक्सानी अझै बढ्न सक्ने उनको भनाई छ । बग्नबाट जोगिएका अधिकांश खाद्यान्न भिजेर खानै नसक्ने भएको जनाउँदै कृषि विकास कार्यालयका प्रमुख बस्नेतले खानेकुरा सबै बग्दा स्थानीय बढी मारमा परेको बताए ।
डुडुवा गाउपालिका–१ टेपरीका नरेशबहादुर थापाले बाढीले घरमा भएको सबै अन्न बगाएको र खेतमा लगाएको धानबालीसमेत नष्ट पारेकोले अब के खाने र कसरी बर्षदिन टार्ने भन्ने चिन्ताले पिरोलिरहेको बताए । बाढीको पानी घरमा पसेर अधिकांश खाद्यान्न बगाएको र बचेको समेत खानै नहुने अवस्थामा पुगेको उनले बताए ।
सोही स्थानका रमेश मौर्यले राप्ती र डुडुवाको भेल एक्कासि गाउँमा पस्दा आफ्नो सबै अन्नपात सकिएको गुनासो गरे । वर्ष भरि खान पुग्ने गहुँ र अन्य अनाज बाढीको पानीले बगाएकाले ७ जनाको परिवार कसरी गुजारा चलाउने चिन्ता परेको उनको भनाइ छ ।
“घरमा भएको अनाज सबै भिजेर कुहिएको छ । कसरी खाने हो केही दिनदेखि घरमा खना पाकेको छैन के पकाउने भएको सबै भिजेर कुहियो,” बाढीले भिजाएको गहुँ देखाउँदै मौर्यले भने ।
बाढीका कारण बाँकेका डुडुवा गाउँपालिकाका, होलिया, बेतहनी, कम्दी, चौफेरी, कृषि चौफेरी, टेपरी, राप्तीसोनारी गाउँपालिकाका फत्तेपुर, बिनौना, बैजापुर र नरैनापुर गाउपालिकाको गंगापुर, मटेहिया, भोजभगवानपुरलगायतका क्षेत्रका अधिकांश घर ढलेको र बगेको जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले बताए ।
उनले घर ढलेर वा बगेर खाद्यान्न तथा लत्ता कपडा नष्ट भएकाले स्थानीयका लागि सरकारले तत्काल कुनै ठोस राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
https://www.karobardaily.com/news/81769
स्रोत :